श्रीआचार्य
क्षमा गर्नुस्, वेल जस्तो औषधीय गुणयुक्त र पवित्र फलको तुलना नेपालको राजनीतिसँग गर्न नहुने हो । कहाँ वेल, कहाँ नेपालको राजनीति ! एउटा अत्यन्त गुनी, अर्को ज्यद्रै वैगुनी !! जस्तो कि आयुर्वेद शास्त्रमा वेलको महत्व यस्तरी दर्शाइएको छ कि यसलाई अमृत–फल भन्दा हुन्छ । यसको फाइदा मात्रै छ, वेफाइदा केही छैन । फलहरुको राजा हो वेल । तर वन वनका वृक्ष–फल जुठो हाल्दै चाख्दै उड्ने कुनै पनि वनचरीले यो फलको स्वाद लिन सक्दैनन् । यसको वोक्रो साह्रै कडा हुन्छ । नेपालीमा चलन चल्तीको एउटा उखानै छ, कौवालाई वेल पाक्यो हर्ष न विष्मात् । यहाँ मतलव उखानसँग हो । उखानको तात्पर्य हो– कुनै वस्तु वा पदार्थ वा विषय कसैको निम्ति हुनु र नहुनुको कुनै अर्थ रहँदैन । अव यहाँ काग नै किन भनियो थाहा छैन । कुनै पनि चराको चुच्चोले वेल फोर्न सक्दैन । पशुले पनि पाकेको वेल फोरेर खाएको देखेको छैन । पाक्दा पनि गल्दैन । वोक्रो हाड जस्तै कडै रहिरहन्छ । मात्र यसको रंग पविर्तन हुन्छ । यस्तो गुणकारी अमृत–फलको उपभोग पशुपंक्षीको भाग्यमा छैन । हात्तीले के गर्छ, थाहा भएन । मान्छेले यो फलको उपभोग धेरै प्रकारले गर्छन् । औषधीका रुपमा यो फल प्रयोग हुन्छ । पहिला पहिला वेलवृक्ष गाउँघरका पाखा वारी र वनजंगल जताततै पाइन्थ्यो । त्यसको फल खाइन्थ्यो । औषधीय रुपमा मात्र हैन धार्मिक रुपमा पनि यसको अत्यन्त महत्व छ । हिन्दुहरुका देवाधिदेव महादेवलाई वेलपत्र असाद्धै मन पर्छ भन्ने विश्वास छ । तर आजकल शिवजीलाई चढाउन पनि यसका पातहरु– वेलपत्र मुस्किलले पाइन्छ । गाउँघरका धेरै वेलघरी मासिए । तर अझै नाम सुन्न पाइन्छ : वेलटारी, वेल चौतारी, वेलथुंकी, वेलवास, वेलभञ्ज्याङ आदि । तर त्यहाँ वेलको वोट हुँदैनन्, छैनन् । यता आएर अव कतै कतै यसको खेति हुन थालेको छ, व्यापारिक दृष्टिले । औषधीय र धार्मिक दुवै हेतुले महत्वको यो वेलको खेती गरेर पनि जीवन निर्वाह गर्न सकिन्छ । यो विषयमा विज्ञहरुले वताउलान् । कस्तो हावापानी र माटोमा वेल सप्रन्छ ? विज्ञहरुको सल्लाह लिएर खेती गर्दा हुन्छ ।
म वेलफल र नेपालको राजनीतिको कुरा गर्न खोज्दै थिएँ । विषय वहकियो । लाग्ला, वेल र राजनीतिको के साइनो ? कुरो सोझो छ । फलहरुको राजा वेल भने जस्तै नीतिहरुको राजा राजनीति हो । मानव समाजको सुव्यवस्था र व्यक्तिको उन्नतीको लागि वनाइने सवै नीतिहरु राजनीतिमै भर पर्छन् । देशको शासन–प्रशासन, न्याय प्रणाली, शिक्षा–सेवा, उद्योग–व्यापार सवको आधार राजनीति नै हो । त्यसैले राजनीतिको सम्वन्ध सिधा जनतासँग हुन्छ । जनताको सरोकार र आवश्यकतासँग हुन्छ । जसरी वेलको उपभोग सम्वन्ध मानवसँग मात्रै छ । राजनीतिको उपभोग पनि जनतासँग मात्रै हुन्छ, हुनै पर्छ । मतलव, जनतासँग सम्वन्ध नराख्ने व्यवस्थामा देशमा शासन त हुन्छ तर राजनीति हुँदैन । त्यहाँ शासक हुन्छ, नेता हुँदैन । जस्तो कि नेपालको कुरा गर्दा, राणा–शासनकाल र पंचायत–शासनकाल सजिलै याद आउँछ । त्यतिवेला राजनीति थिएन । मात्र शासन थियो । राणा र राजाहरु शासक थिए । जनतासँग उनीहरुको कुनै साइनो थिएन । जनतामाथि दमन र शोषण थियो । सवै सुख–सुविधा र समृद्धि राणा र राजपरिवार अनि तिनका आसेपासलाई मात्र उपलव्ध थियो । वाटो–घाटो, स्कूल–अस्पताल, पानी–विजुली, खेल–मैदान, अड्डा–अदालत, उद्योग–व्यापार, खेती–पाती, वैदेशिक सम्वन्ध– यी सव केही हुनुको एक मात्र हेतु तिनै शासकहरुको स्वार्थको खातिर थियो । उनीहरु आफै त्यसनिम्ति झगडा गर्थे, लड्थे, काटमारमा उत्रिन्थे, मर्थे–मार्थे । कोतपर्व, भण्डारखाल पर्व र अन्तत: नारायणहिटी हत्याकाण्डसम्म भए । जो हामीले सुने देखेकै हो । वास्तवमा भन्ने हो भने, जनताको निम्ति त्यस्तो हुनु र नहुनुको अर्थ थिएन । त्यो त शासकहरुको कुरा थियो । राजनीति र नेताहरुको कुरो थिएन । अत: स्वाभाविक थियो । त्यसैले ‘कौवालाई वेल…’ भन्ने उखान राणा र पंचायत शासनकालमा हामी जनतालाई केही भएन भनेर जोड्न मिल्दैन ।
अहिले त मुलुकमा राजनीति छ । अर्थात् शासन व्यवस्थामा जनताको सहभागिता पनि छ । किन छ भने, हामी जनताले चुनेर पठाएका प्रतिनिधिले संविधान वनाएका छन् । सरकार चलाएका छन् । जनताको तर्फबाट भनेर ज्ञाता–विज्ञरु छानेर ठाउँ ठाउँमा जिम्मेवारी पनि दिएका छन् । जनताको नाममा थुप्रै संघ संस्था खोलिएका छन् । पार्टीहरु त कति हो कति । संसद्मा मात्रै दुइ दर्जन भन्दा बढी पार्टीको उपस्थिति छ । सवैले जनताकै हित र भलाईको कुरा गर्छन् । योजना वनाएको र सोही अनुरुप काम गरेको दावी गर्छन् । पुरष्कृत पनि हुन्छन् । तर जनताको अवस्था सधंै पुर्पुरोमा हात हो । राणा ढले, राजा गए, शासकहरुको व्यवस्था गयो, जनतामा राजनीति आयो । तर..तर जनतासँग फेरि पनि राजनीतिको सम्वन्ध गाँसिएन । त्यसैले यो राजनीति हाम्रा लागि कौवालाई वेल भयो । हामी चुच्चो कमजोर भएको कौवा भयौं वा यहाको राजनीति र पार्टीहरु कडा वोक्रो भएका वेल भए– थाहा भएन । एउटा कुरा पक्का हो, नेता नभएको राजनीतिको नियति यही हो– त्यहाँ जनताको नाममा सवै थोक हुन्छ तर जनताको लागि केही पनि हुन्न । ग्यास हुन्न, मट्टीतेल–पेट्रोल–डिजेल हुन्न । हुन्छ त मात्र, लोडसेडिङ हुन्छ । विजुली हुन्न । शिक्षा–स्वास्थ्यको सुविधा हुन्न । खानेपानी कहिल्यै आउन्न धारामा । छयालीस साल यता, छव्वीस वर्षदेखि हामी राजनीतिमा वाँचिरहेका छौं । तर कुनै पनि नीतिमा राजनीतिले राज गर्न सकेन । भ्रष्टाचार र घुसखोरी वढेकै छ । सूर्यनाथ, लोकमान जो जति आए पनि अख्तिायारले नयाँ सोचमा गति लिदै लिएन । उ पुरानै ढर्रामा छ । ज्यानमारा, अन्यायी अपराधी, ठगहरु वेलगाम घुमेकै छन् । अनुपराज शर्माहरु आए, गए– अहँ, अदालतको कार्यशैलीमा परिर्तन हुँदै भएन । युनिभर्सिटी जति थपिए पनि शिक्षाको स्तर झनै खस्कँदो छ । टी.यू.को हालत हेर्दा हुन्छ । योग्यताको कदर हुँदैन, भनसुन गरे वा भेटी चढाए सवथोक मिल्छ ।
हो, यहाँ व्यक्ति रिझाए सवथोक मिल्छ तर देश र जनताको लागि राजनीतिको फल मिल्दैन । अहँ, पटक्कै मिलेन । यो सवको एउटै कारण हो, सवैतिर राजनीति भयो तर राजनीतिले कतै पनि राज गर्न सकेन । स्वयं राजनीतिक पार्टीहरु आफ्नै राजनीतिक सिद्धान्त र आस्थामा चल्दैनन् । व्यक्तिगत स्वार्थको गुट उपगुटमा चल्छन् र वेचिन्छन् । त्यहाँ पनि राजनीतिको राज छैन । भने अव भएन त नेपालको राजनीति : ‘कौलालाइ वेल, हर्ष न विष्मात् ।’
]]>
प्रतिक्रिया