
नेपाली कांग्रेसमा महाधिवेशन आमनिर्वाचन अघि गर्ने कि पछि गर्ने बहस जारी रहँदा संस्थापन पक्षकै दुई दर्जन नेताहरू तत्काल महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका छन् । तीमध्ये एक हुन्,देवेन्द्रराज कँडेल। नेता कँडेलले अहिलेको अवस्थामा पार्टी एक ढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । कँडेललाई देशान्तरकर्मीमुक्तिबाबु रेग्मीले ‘संस्थापनमा विद्रोह गर्नुभयो है ? भनेर प्रश्न गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य कँडेलसँग गरिएको कुराकानीको सम्पादित अंश :
नेपाली कांग्रेस यतिबेला कोमामा भएको जस्तो देखिएको छैन र ?
अब मलाई त लाग्दैन कोमामा छ भन्ने कुराहरू । जेनजी आन्दोलनका क्रममा जुन घटना भदौ २३ र २४ मा भयो त्यसपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्न १ महिना लाग्यो । त्यसबीचमा दसैँतिहारका साथै पार्टीका जिम्मेवार साथीहरूको निधनले गर्दा कांग्रेसको बैठक जम्मा १२ दिन बसेको छ । साथीहरूले बोल्दै गर्दा कोहीले नियमित महाधिवेशन त कोहीले विशेष महाधिवेशन गराउनुपर्छ भन्ने धारणा राख्नुभयो । आन्दोलनका नाममा विभिन्न किसिमका तोडफोड आगजनी भए । हाम्रै साथीहरू कुटिनुभयो, घर जलाइयो । सभापति शेरबहादुर र केन्द्रीय सदस्य डा. आरजु राणामाथि घटना घट्यो । त्यसले गर्दा अब हामी अलिकति सचेत हुनुपर्छ र आफ्ना कमजोरीलाई औँल्याएर सुधारेर हामी अगाडी बढ्नुपर्ने अवस्था छ । हामीले कहीँ कतै गल्ती गरेका छौँ भने गल्ती स्वीकार गर्न कुनै आपत्ति छैन । त्यसकारण हामी कुनै पक्षमा नलागीकन केही साथीहरू बसेर सल्लाह गर्यौँ र पार्टीभित्र हामीले आफ्ना विचार राख्दै गर्दा नियमित महाधिवेशनको आवाज उठाउने र विशेष अधिवेशनको हस्ताक्षरसहित पेस गरेका दुवै पक्षको बीचबाट मैले पनि बोल्ने क्रममा कसैलाई पनि यो फिल नहोस् कि त्यसमा हारजित भन्दा पनि दुवै पक्षलाई समेटेर लैजानुपर्छ भनेको छु । यही भावनाका साथ हामी केहीले आवाज उठाएका छौँ । मंसिरमा महाधिवेशनअन्तर्गत निर्वाचनको कार्यकालिका तयार गरौँ र अघि बढौँ नयाँ फर्म वितरण गरेर अधिवेशन सुरु गरौँ, डिक्लिअर गरौँ भनेका छौँ । प्रारम्भिक चरणको अधिवेशनलाई वडा हुँदै गाउँपालिका नगरपालिकामा गरौँ । फागुन २१ गतेको निर्वाचन, राष्ट्रिय सभाको निर्वाचन, समानुपातिकको सूची तयार पार्न बाधा अड्चन गर्छ भने पहिलो चरणमा स्थानीय तहसम्मको अधिवेशन गराएर निर्वाचनपछि दोस्रो फेजको महाधिवेशन गरौँ भन्ने हो । जसले गर्दा निर्वाचनपछि भन्नेको कुरा र चुनावअघिको कुरालाई पनि सम्बोधन गर्न सक्छौँ ।
तपाईंहरू २४ जनाले १५औँ महाधिवेशनका सन्दर्भमा ज्ञापनपत्र बुझाउनुभएको छ, यसको आशय के हो ?
हामीले त यही मंसिरमा गरौँ भनेका छौँ । हाम्रा महामन्त्रीज्यूले पनि त पहिला मंसिरको कुरा गर्नुभएको थियो, अहिले पुसको कुरा उठाउनुभएको छ । यही मंसिरमा पनि सकिन्छ । क्रियाशील वितरण सहज तरिकाले किनारा लगाउनुपर्छ । किनभने हामी अब युवापुस्तालाई पनि बाहिर राख्न सक्दैनौँ । युवालाई पनि त पार्टीमा स्पेश दिनुपर्यो नि ! उहाँहरूलाई क्रियाशीलको फर्म भर्न त दिन पर्यो । त्यसले गर्दा यही मंसिरमा नै सुरु गरौँ । पुसमा स्थानीय तहको जति सकिन्छ अधिवेशन सम्पन्न गरौँ । यदि कुनै कारणले चुनाव नजिक आयो र त्यसलाई पनि हामीले महत्व दिनुपर्यो । त्यसमा हामीले तयारी गर्नुपर्यो । यदि त्यसमा केही बाधा आउँछ भने फागुनपछि वैशाख जेठ जहिले गरे पनि भइहाल्यो ।
महाधिवेशन गरेर चुनावअगाडि नेतृत्वमा आउने, टिकट बाँड्नेलगायत कुराहरू पनि त जोडिन्छन् । त्यसरी हुन्छ र भन्या ?
त्यस्तो हो भने । अब समय कम छ । प्रयास गरौँ यही मंसिर पुस–माघभित्र । माघमा फेरि हाम्रो अपर हाउस (राष्ट्रिय सभा)को चुनाव छ ।
अपर हाउसका लागि पार्टी नै पूरै खट्नुपर्छ र ?
हैन । उम्मेदवारहरू त छनौट गर्न पर्यो नि ! फागुनको चुनावका लागि समानुपातिकका उम्मेदवारहरू पनि खोज्नुपर्यो । फास्ट ट्रयाकमा गएर सकिन्छ भने केन्द्रीय महाधिवेशन गरौँ । सकिन्न भने बुथसम्मको अधिवेशन त सुरु गरौँ । होइन भने सबैको सहमतिमा सेकेन्ड फेजमा राखौँ । त्यसमा कुनै आपत्ति हुन्न । सकिन्छ भने तत्काल गरौँ । हाम्रो कुनै किसिमको दबाब छैन ।
तपाईंहरू २४ जनाले संस्थापनमा विद्रोह गर्नुभयो है ?
हामीले विद्रोह गरेको छैनौँ । यदि संस्थापनले आफ्नै अडान लिएर ‘मेरो गोरुको बाह्रै टक्का’ भन्छ भने भने त्यसलाई हामी स्विकार्न सक्दैनौँ । र अर्को पक्षले पनि हामी विशेष महाधिवेशन नै गराउँछौँ भनेर त्यसैमा आउनुहुन्छ भने त्यसलाई पनि स्विकार्न सक्दैनौँ । नियमित महाधिवेशनमार्फत अघि बढौँ । जति जहाँसम्म जान सकिन्छ, जुन तहसम्मको अधिवेशन गर्न सकिन्छ, त्यहाँसम्म लैजाऊँ । सकिन्छ भने चुनावअघि महाधिवेशन गरौँ सकिन्न भने त्यसलाई फेरि थाती राखेर दोस्रो फेजमा गएर गरौँ । त्यसले कुनै पनि समूहको हार–जितभन्दा पनि सबैको विचारलाई समेटेर हामी जान सक्छौँ । त्यसमा हामी २४ जनामात्रै छैनौँ, धेरैजना हाम्रा केन्द्रीय सदस्य बाहिर थिए । मौखिक रूपमा सहमति जनाउने पनि हुनुहुन्छ । हामी लगभग ३५ जना हुन्छौँ । हस्ताक्षर गर्ने क्रममा प्रावधिक रूपमा २४ जनाको सिग्नेचर गरेर बुझाएका हौँ ।
सबैले बोलिसक्नुभयो, कार्यबाहक सभापति बाँकी हुनुहुन्छ, शनिबारको बैठक सोमबार पुग्यो किन होला ?
अब नेपाली कांग्रेसको बैठक महत्वपूर्ण चरणमा पुगेको छ । सबैका कुरा पनि सुन्नुभएकै छ । शनिबार भनिएको बैठक सोमबारसम्मलाई स्थगित भएको छ । शुक्रबार रातिमात्रै पार्टी सभापति शेरबहादुर देउवा उपचारपछि काठमाडौं आइपुग्नुभएको र थप परामर्श आवश्यक भएकाले बैठक सोमबारसम्मलाई सारिएको हुनसक्छ । यसबीचमा कार्यसम्पादनको बैठक पनि बस्छ होला ।
अब कार्यबाहक सभापतिले के गर्नुपर्छ, अहिले पार्टीभित्र देखिएको समस्या समाधानका लागि ?
दुवै पक्षको भावनालाई विचार गरेर कसैको यो हार जित होइन, बहुमतको दम्भले पनि होइन कि उहाँले सबैको भावनालाई समेटेर एउटा निकास दिनुपर्छ । यदि होइन, उहाँले भोटिङको माध्यमबाट बहुमत सिद्ध गर्नुहुन्छ भने हामी अहिलेका ५० जना त्यसमा सहभागी हुदैनौँ । हामी मतदानमा जान्नौँ । हामी कुनै पक्षलाई बलियो बनाउन या बहुमतको दम्भमा जथाभावी गर्न दिँदैनौँ । अहिलेको देशका युवाहरूको हाम्रा महाधिवेशन र महासमिति सदस्यहरूको भावनालाई पनि सम्मान गर्नुपर्छ । बहुमतले लेखेर विशेष महाधिवेशनको माग गरिसकेको अवस्थामा अडान र जिद्धी गरेर बस्न भएन । हामी यो प्रक्रियालाई चाँडैभन्दा चाँडै अघि बढाउनैपर्छ । त्यसकारण मैले प्रस्ट रूपमा भनेको छु । हामीले शुक्रबार जुन हस्ताक्षर गरेर बुझाएका छौँ । दुइटैको मिलाएर एउटा मिलनविन्दुबाट अघि लिएर जाऊँ भनेका छौँ । भोटिङमा हामी सहभागी हुँदैनौँ ।
तपाईंहरू सहभागी नहुँदा त इतर पक्षले जित्ला नि ?
जसले जितोस् न । भावना सबैको समेट्न पर्यो । हार–जित भनेको कांग्रेसले नै जित्ने हो । अरू दल त जित्दैन यहाँ । तर बहुमतको नाउँमा जबरजस्ती गर्न हुँदैन । बहुमतमा छु भनेर लचिलो भएर प्रस्तुत हुन पर्यो । महाधिवेशन प्रतिनिधिको हस्ताक्षर भएर आउँदा उहाँहरू पनि त बहुमतमा हुनुहुन्छ । त्यसलाई पनि हामीले सम्मान गर्नुपर्छ । यसमा दुवै पक्ष सहमतिमा आउनुपर्छ । दुवै महामन्त्री र कार्यबाहक सभापतिको दायित्व भनेको बीचको बाटो अपनाएर सबैको भावनालाई समेटेर मार्गप्रशस्त गर्ने गरी अघि बढ्नु हो । त्यसमा हामी साथ दिन तयार छौ ।
महामन्त्रीले प्रस्ताव गरेको नियमितको कार्यतालिका पनि नआउने हो भने विशेष महाधिवेशनमा जानुपर्ने अवस्था आउँदैन र ?
त्यो त अब संस्थापनपक्षले विचार गर्न पर्यो नि ! हामी विधानभन्दा बाहिर जान सक्दैनौँ । अहिले नियमित महाधिवेशन गरौँ भन्ने त सबैको चाहना छ । त्यसमा त धेरै पक्ष तयार छन् । त्यसकारण हाम्रो बीचमा फाटो होला भन्ने मलाई लाग्दैन । त्यसैगरी शुक्रबारको कार्यसम्पादन समितिको बैठकबाट कार्यबाहक सभापति पूर्णबहादुर खड्काजीलाई निकास दिनेगरी काम गर्नका लागि जिम्मेवारी पनि दिएको छ । यस्तो अवस्थामा उहाँ सुझबुझ भएको नेता, एउटा क्रिम व्यक्तित्व भएको हुनाले यो गुट त्यो गुटभन्दा पनि पार्टीलाई कसरी समेटेर अघि बढ्ने भन्ने उहाँको पनि धारणा छ । त्यसकारण उहाँले निकास दिनुहुन्छ भन्नेमा हामी विश्वस्त छौँ ।
जेनजी आन्दोलन राजनीतिक दलको नेतृत्व फेर्नलाई भएको हो र ? केन्द्रीय कार्यसमितिको बैठकमा किन आन्दोलन भयो भन्ने समीक्षामा भन्दा पनि तपाईंहरू विशेष कि नियमितमा किन अल्झिनुभयो ?
जेनजी आन्दोलनको समीक्षा पनि केन्द्रीय कार्यसमितिको बैठकमा गरेका छौँ । जेनजीले भ्रष्टाचार नियन्त्रणको माग राख्दै र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध आन्दोलन गरेका हुन् । विशेष गरेर हामी नेकपा एमालेसँग सहकार्य गर्दा हामीले गल्ती गरेका छौँ । हामीले त्यो महसुस गर्नुपर्छ । एमालेको अडान र जिद्धी व्यवहारले गर्दा आज नेपाली कांग्रेस पनि अप्ठ्यारोमा पर्यो । प्रतिपक्षमा बसेको भए भूमिका निर्वाह गर्न सक्थ्यौँ । सत्ताको लागि नै बढी प्रायोरिटी दियौँ । सत्तामा जानकै लागि एमालेले जे गर्दा पनि टुलुटुलु हेरे बस्यौँ । जे गरेपनि जे बोले पनि भोलि सरकारमा जानु छ भनेर विरोध नगरी बस्यौँ । ती कुराहरूले गर्दा आज यो अवस्था आएको हो । अब आफ्नो गल्तीलाई सच्याएर आमजनताको बीचमा अब नयाँ ‘म्यान्डेट’ लिनलाई फागुन २१ गते हुने निर्वाचनमा नेपाली कांग्रेस पूरै तयारीको साथ अघि बढ्नुपर्छ । र हिजोको नारा या हिजोको अवस्थामा र हिजोको नेतृत्वलाई मात्रै अब अगाडि सारेर हुँदैन । अब नयाँ नेतृत्वसहित अघि बढ्नुपर्छ ।
अहिलेको अवस्थामा कांग्रेसको नयाँ नेतृत्व भनेको को हो ?
अहिले देखापरेका नेताहरू हुनुहुन्छ । त्यसमा कार्यबाहक सभापति पूर्णबहादुर खड्का हुनुहुन्छ, डाक्टर शेखर कोइराला र महामन्त्री गगन थापाको चर्चा छ ।
चर्चामा रहेका ‘सात भाइ’को नाम लिनुभएन रिसाउलान् नि फेरि ?
हैन सुन्नुस त । सात भाइको नै सबै कुरा सुन्ने हो भने हामी २५ लाई अलग गरिदिए भइहाल्यो । सात भाइबाट कसको कुन अनुहार लिएर जाने ? चुनावमा जाँदै गर्दा हाम्रो प्रधानमन्त्री को ? हाम्रो अब पार्टीको सभापति को ? हामीले अब छनोट गर्ने यी तीन अनुहारबाट हो । त्यसकारण भोलि चुनावमा जाँदा पार्टीको जिम्मेवारी कसले लिने ? यो मुलुकलाई अब कसले हाँक्छ ? यो मुलुकलाई अब नयाँ नेपालको निम्ति कसले अब अगाडि बढाउँछ ? यी प्रश्नको जवाफ यी तीनैजनाको अनुहारमध्येबाट एकजना खोज्ने हो । अरूको चाहना मनमा धेरै होला, चिठ्ठा मलाई पर्ला । मलाई बनाइदिए हुन्थ्यो । त्यसकारण कल्पना गरेर कुनै अर्थ छैन । बाहिरको जुन मार्केट छ, बाहिरको एक किसिमको अवस्था छ । नेपाली कांग्रेसका तमाम मेचीदेखि महाकालीसम्मका साथीहरूको भावना यही तीनजनामा केन्द्रित छ । अब हाम्रो छनोट भनेको यही तीनमध्ये जसले विश्वास दिलाउन सक्छ, जसले नयाँ शीराबाट मुलुकलाई निकास दिन सक्छ, जसले सम्पूर्ण युवाको, हरेक वर्ग जातिको भावनालाई समेटेर अघि बढ्न सक्छ त्यही नै अब भावी पार्टी सभापति र भावी प्रधानमन्त्रीको दाबेदार हुन सक्छ ।
तपाईंहरूकै सांसदहरू संसद् पुनस्र्थापनाको पक्षमा लाग्नुभएको छ ? फागुनमा चुनाव हुन्छ त ?
हिजोको दिनमा जब केपी ओलीजीले राजीनामा दिइसकेपछि कुनै दलले त दावा गरेन । हामीहरू पार्टीलाई मिलाएर बहुमत ल्याउँदै छौँ, सरकार चलाउँछौँ भनेर । त्यो बेला पूरै भ्याकुम थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलजीले यदि राजीनामा दिएको भए मुलुकको हालत के हुन्थ्यो, अनि कहाँ जान्थ्यो यो राजनीति ? उहाँले हिम्मत देखाउनुभयो र संविधान जोगिएको छ । अब अघि बढ्नलाई एकमात्र विकल्प भनेको निर्वाचन नै हो । हिजो जब संसद् विघटन भयो, त्यही बेला नेपाली कांग्रेसले सदनको पुनस्र्थापनाको लागि कुरा उठाउनुपथ्र्यो । तर नेकपा एमालेले आवाज उठाएपछि अझै पनि हामी उसैको बोलीको पछि–पछि दौडिनो हो र ? केपी ओलीजीले जे भने, त्यही पछिपछि लाग्ने हो ? पछि लागेर अवस्था के भो नेपाली कांग्रेसको ? कहाँ पुग्यौँ हामी ?
तर अब संख्या त बढ्दै छ भन्छन् त फेरि ?
जो पदमा छ, जो थियो सांसद उसलाई चाहना होला । तर कतिपय सांसदहरूको भावना के छ भने अब यसरी वामपन्थीको पछि–पछि लागेर जे उनले भन्यो त्यही गर्नुपर्छ भन्ने छैन । संसद्को विषय अहिले सर्वोच्च अदालतमा गइसकेको छ । संवैधानिक इजलासले गर्ने फैसलामा भर पर्छ । संसद् पुनस्र्थापना हुन पनि सक्छ नहुन पनि सक्छ । तर मलाई के लाग्छ भने हिजोको दिनमा केपी ओलीजीले राजीनामा गर्दा कुनै पनि दलले बहुमत लिएर गएका छैनन् । र जेनजी आन्दोलनले जसरी सदन विघटन गर्यो त्यहाँ एउटा त्रुटि भएकै हो ।
हिजो हामी सातबुँदे सहमति गरेर हामीले एमालेसँग गठबन्धन गरेका हौँ । तर त्यो सातबुँदेका विषयमा हामीले पाइला टेकेनौँ, कुरै उठाएनौँ, सुन्नै चाहेनौँ । संविधानमा केही कुराहरू सुधार गर्नका लागि त्यही सदनलाई प्रयोग गर्नुपर्ने थियो । हिजो ६२–६३ को आन्दोलनबाट हामीले संसद् पुनस्र्थापना गरेका थियौँ । त्यही सदनबाट संविधानका मस्यौदा तयार गर्दा नयाँ विषय पनि राखेका थियौँ ।
तर सदनभन्दा बाहिर आएर सडकबाट या जेनजीको कुनै नेताले हामीले आन्दोलनबाट यो भत्कायौँ अब यही हुनुपर्छ भन्छ भन्ने हुँदैन ।
मुलुक बोलीबाट चल्दैन, मुलुक संविधान कानुन र ऐन नियमबाट मात्रै चल्छ । सदन विघटन गर्नु नै जेनजीको ठूलो मिस्टेक हो भन्ने मलाई लाग्छ । त्यसकारण नयाँ म्यान्डेट लिएर नयाँ सांसदहरू आएपछि त्यो सदनले विगतदेखि भन्दै आएका परिमाजर्नका कुरालाई पनि संवोधन गर्नुपर्छ ।
अब चुनावमा जाँदा त फेरि तपाईंहरूको पार्टीको हविगत के हुने हो ?
हामी लोकतन्त्रमा विश्वास गर्छौं । हिजो जब ६२–६३ को आन्दोलन सफल भइसकेपछि चुनावमा गयौँ । पहिलो संविधानसभाको चुनावमा त्यतिबेलाको अवस्थाका बारेमा कांग्रेस जानकार थियो । माओवादीलाई पनि ट्रयाकमा ल्याइयो, निर्वाचनमा सहभागी गराइयो, ठूलो दलको रूपमा माओवादी आयो त्यसमा कुनै आपत्ति भएन । तर संविधान त नेपाली कांग्रेसले दियो । तै पनि हामीले बहुमत ल्याउन सकेनौँ । लोकतान्त्रिक व्यवस्थालाई जीवन्तता दिँदा कति जित्यौँ कति हार्यौँ भन्ने हैन । जनताको बलिदानमार्फत संविधानसभाको निर्वाचनपछि संविधान आयो यसमा सबै जनताको भावना समेटिएको छ । संविधानमा केही त्रुटि छन् भने त्यसलाई सच्याउनुपर्छ । तर हिजो केपी ओलीजीको नेतृत्वमा भएको सरकारमा हुँदा मिस्टेक गरेका छौँ । हामी कुर्सीमा नै लिप्त भयौँ । त्यो लिप्तताले गर्दा आज यो अवस्था भयो । अब यो कुरा नदोहोरियोस् । नेपाली कांग्रेस नै यस्तो पार्टी हो जहिले पनि अप्ठ्यारो परेको बेला नेतृत्व दिन सफल भएको छ । अब गल्ती स्वीकार गरेर, जनताको बीचमा हात जोडर गल्ती गर्दैनौँ भन्ने वाचाका साथ अघि बढ्नुपर्छ । त्यस्तो गर्दा जनताले हामीलाई नै पत्याउँछन् ।
कांग्रेसलाई पत्याउँछन् अझै पनि ?
जनताले एउटा पार्टीलाई विश्वास त गरेको थियो । त्यो पार्टी सहकारीको दलदलमा फस्दै गयो । त्यो पार्टीको शीर्ष नेताहरूले रिजाइन गरेर अरू पार्टीमा गइरहेका छन् । एउटा लहर थियो । जनताले विश्वास गरेका थिए । तर यथार्थ त्यो टिक्न सकेन । अरू पार्टीहरू पनि छन् । म नाम लिन चाहन्न । अहिले जेनजीले पार्टी खोल्ने भन्ने कुरा आयो । उनीहरू पनि जनताको बीचमा जान्छन् । भदौ २४ गतेको दिनमा जुन किसिमले हिंसात्मक गतिविधि भयो । कारागार फोडेर कैदीहरू जसरी बाहिर आए, अनि स्वार्थमा लिप्त व्यक्तिहरू सडकमा आगो लगाउन हिँडे । देशको पूर्वदेखि पश्चिमसम्म तोडफोडका घटना भए । जेनजीहरूले पार्टी खोल्ने भने पनि उनीहरूका बीचमा एकरूपता छैन । जेनजीको एउटा समूहले भ्रष्टाचार रोक्ने कुरा उठाएको थियो भने अर्को जेनजीका व्यक्तिहरूले त्यसको नाजायज फाइदा उठाएर विध्वंस मच्चाए । घुसपैठ भएर नै सिंहदबार, सर्वोच्च अदालत, संसद् भवन र राष्ट्रपति भवन पनि जल्यो । सेनाको परमाधिपति जो राष्ट्रपति हुनुहुन्छ उहाँको निवास जोगाउन सकेन ।
सरकारले फागुन २१ को चुनाव भनिराखेको छ । यो सरकारले चुनाव गराउँछ भन्ने विश्वासिलो आधार के छ ?
नेपाल प्रहरी सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारी निर्वाह गरेकै हो । तर त्यसलाई ब्याक सपोर्ट पाएन । नेपाल आर्मी जसलाई शान्ति सेनामा पठाएर सम्मान पाएका थियौँ । आर्मीको भूमिकामा सम्मान थियो । नेपाल आमालाई अप्ठ्यारो पर्दा रक्षा गर्ने अन्तिम विकल्प सेना तयार छ भनेर हामीले गर्व गथ्र्यौं त्यसमाथि तुषारापात भएको छ । अहिलेको चिफबाट आर्मीको शिर झुकेको छ । अहिले हाम्रो पूर्वआईजीपीलाई जुन एक्सन लिइएको छ यसैगरी आर्मीलाई किन लिन नसक्ने ? यो पनि प्रश्न हो । आर्मीले सिंहदरबार र शीतलनिवास किन जलाउन दियो ? यसको पनि समीक्षा गर्नुपर्छ । त्यसैले यो सरकारले यी तमाम प्रश्नको उत्तर खोजेर फागुन २१ मा शान्तिपूर्ण चुनाव गराउनका लागि सबै वातावरण बनाउन जरुरी छ ।









Facebook Comments