नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सकियो, अब कसरी अगाडि बढ्नुहुन्छ ?
नेपाली कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न गर्ने र पार्टीको आन्तरिक जीवनमा नेतृत्व, नीतिसहित एकता कायम गरी भावी कार्ययोजनासहित नेपाली कांग्रेस पार्टी नयाँ ढंगबाट अगाडि बढ्नुपर्छ भन्ने उद्देश्यका साथ हामीले पुस २६ देखि २८ को कार्यतालिका ल्याएका छौँ । त्यसैले, अब नेपाली कांग्रेस १५औँ महाधिवेशन केन्द्रित गतिविधिमा छ । 

केन्द्रीय कार्यसमितिको बैठक नै निकै लामो समय बस्यो, रस्साकस्सीका बिच सर्वसम्मत निर्णय पनि भयो, तर किन तपाईंहरूको पार्टीमा यस्तो अवस्था आउँछ ?
पार्टीभित्र पहिलेदेखि नै १५औँ महाधिवेशन २०८२ मंसिरमा नै गर्नुपर्छ भन्ने एउटा विचार थियो । तर, त्यो विचारका पक्षमा पर्याप्त मत थिएन । झन्डै दुईतिहाइ मत वर्तमान कार्यसमितिको म्याद एक वर्ष थपेर २०८३ मंसिरसम्म महाधिवेशन सम्पन्न गर्ने भन्ने थियो । यही बिचमा भदौ २३ र २४ गते, खासगरी २३ गते, जेनजी युवाहरूले जुन खालको विरोध प्रदर्शन गरे, त्यो घटनाले मुलुकमा एउटा भयावह स्थिति र एक प्रकारको आक्रोशको वातावरण सिर्जना भयो । यो घटनाका बारेमा हामीले समीक्षा गर्ने क्रममा केन्द्रीय कार्यसमितिमा छलफलै भएन भन्ने त होइन, छलफलहरू पर्याप्त भएका छन् । र, हामीले यसलाई विविध पक्षबाट हेर्नुपर्छ । हाम्रा पार्टीका आन्तरिक गतिविधिका बारेमा पनि असन्तुष्टि हुन सक्छ र त्यसैगरी सरकार सञ्चालनका बारेमा जुन खालको असन्तुष्टि थियो, त्यसका कारणले गर्दा यो घटना भयो भन्ने हाम्रो बुझाइ छ । त्यसकारण, समीक्षाका विविध विषयहरू छन् । यसको आन्तरिक र बाह्य कारणहरू छन् । सरकार सञ्चालनका कुराहरू छन् । दलहरू सञ्चालनका कुराहरू छन् । दलका भूमिकाका बारेमा प्रश्नहरू छन् । यी विविध खालका असन्तुष्टि र आक्रोशको कारणले गर्दा जेनजी मुभमेन्ट भयो भन्ने हाम्रो आकलन हो ।

ad

जेनजीकै कारण देखाएर महाधिवेशन गर भन्ने तर्क त होइन होला ?
यो पछिल्लो घटनाक्रमले पनि र हामी आफैँभित्र पनि, नेपाली कांग्रेस पार्टीको आन्तरिक संगठनका विषयमा पनि प्रश्न उठ्यो । प्रश्न उठिसकेपछि नेपाली कांग्रेस पार्टीले यसका बारेमा पुनर्विचार गर्नुपर्छ भनेर कुरा उठेको हो र आदरणीय पार्टी सभापति शेरबहादुर देउवाज्यूले अहिलेको परिस्थितिलाई आकलन गरेर जसरी कार्यवाहक सभापतिको रूपमा उपसभापति पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिनुभयो, पार्टीलाई अझै प्रभावकारी ढंगबाट मुलुकको नेतृत्व गर्नका निमित्त तयार गर्न जसरी एउटा खालको निकास दिने काम सभापतिले गर्नुभयो, असोज २८ गतेको केन्द्रीय कार्यसमितिको बैठकमा सभापतिज्यूको एउटा लिखित धारणा, अझ भनौँ, मन्तव्य आयो, त्यसले पार्टीको जीवनमा एकखाले परिवर्तन गर्न नेपाली कांग्रेस पार्टी सक्षम छ भन्ने देखाएको छ । त्यसैले, हामीले उठाएको सवालमा केन्द्रीय कार्यसमितिमा एउटा खालको समझदारी गरेर हामी अगाडि बढ्दै छौँ । यसलाई सकारात्मक रूपमा लिनुपर्छ भन्ने मेरो भनाइ हो ।

सभापति देउवाले कार्यबाहक तोकेर गएपछि तपाईंहरूले एकमत भएर निर्णय गर्न सक्नुभएन, उपचारपछि उहाँ नै आएर छलफल गर्नुपर्ने बाध्यता किन आइपर्‍यो ?
पार्टीको केन्द्रीय कार्यसमितिको बैठक चल्दाचल्दै पनि हामीले बैठक स्थगित गरेर हाम्रा एजेन्डामा सहमति कायम गर्ने प्रयास गर्‍यौँ । त्यो प्रयास गर्दा–गर्दै पार्टी सभापतिज्यू आफ्नो उपचार सकेर स्वदेश फिर्ता हुनुभयो । त्यसपछि, एउटा सल्लाह दिने अभिभावकीय भूमिकाको रूपमा पार्टी सभापतिज्यूले पार्टीका जिम्मेवार पदाधिकारीसँग, शीर्ष नेताहरूसँग सहजीकरण गर्ने काम गर्नुभयो । यो पनि एउटा महत्वपूर्ण काम भयो । कार्यबाहक दिनुभयो भन्दैमा पार्टी सभापतिज्यूको सल्लाह लिनुहुँदैन अथवा उहाँको भूमिका नै हुँदैन भन्ने कुरा हुँदैन । आजको यो सहमतिको वातावरण बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अत्यन्तै ठुलो भूमिका रहेको छ । यसमा हामीले सम्मान व्यक्त गर्नुपर्छ ।

१५औँ महाधिवेशनको मिति तपाईंहरूले तोक्नुभएको छ, अबको बहस पार्टीलाई कस्तो र कसरी बनाउने भन्नेमा केन्द्रित होला ?
नेपाली कांग्रेस पार्टीलाई कस्तो बनाउने भन्नुभन्दा पनि हामीले विगतमा पार्टी सञ्चालनमा कहाँनेर कमजोरी गरेका थियौँ भनेर हाम्रा विगतका भूमिकाबारे हामीले एउटा समीक्षा गर्नुपर्छ । समीक्षा गरिसकेपछि हाम्रा कमीकमजोरी सुधार गरेर आगामी दिनमा के गर्नुपर्छ भन्ने बारेमा पनि छलफल गर्दै पार्टीलाई समयानुकूल सञ्चालन गर्नेगरी नयाँ ढंगबाट पार्टीलाई अगाडि बढाउने गरी सोच बनाउनुपर्छ । त्यसका लागि पार्टीको महाधिवेशनमा केन्द्रीय कार्यसमितिबाट एउटा प्रस्ताव तयार पारेर त्यसलाई छलफल गरेर टुंगोमा पुर्‍याएर पेश गर्नुपर्छ । त्यसका लागि हामीले केही तयारी पनि गरेका छौँ ।

पार्टीलाई त्यसरी अगाडि बढाउने नेतृत्वमा को आउन सक्छ ? कसलाई ल्याउने ? 
पहिलो कुरा, नेतृत्वमा कसकसले दाबी गर्नुहुन्छ भन्ने पनि टुंगो छैन अहिलेसम्म । कोको आउने भन्ने पहिला टुंगोमा पुगिसकेपछि जोजो आउनुहुन्छ, प्रतिस्पर्धामा उहाँहरूमध्ये जसले महाधिवेशन प्रतिनिधिको मन जित्न सक्नुहुन्छ, उहाँ नै नेतृत्वमा आउने हो । त्यसैले, कोको प्रतिस्पर्धामा आउने भन्ने कुरा नै टुंगो लागिनसकेको हुनाले अहिले नै भन्न सक्ने अवस्था छैन । 

तपाईं अब कहाँनेर ? अहिले सहमहामन्त्री हुनुहुन्छ ।
म विगतमा पनि डा. शेखर कोइरालाको नेतृत्वबाटै १४औँ महाधिवेशनमा विजयी भएको पदाधिकारी हुँ । र, १४औँ महाधिवेशनमा हामी जो–जो शेखर कोइरालाको नेतृत्वमा महाधिवेशनको प्रतिस्पर्धामा गयौँ, १४औँ महाधिवेशनबाट भएका पदाधिकारीहरू, सदस्यहरू जोजो छौँ, हामी एकढिक्का भएर अगाडि बढ्नुपर्छ भन्ने मेरो मत हो । र, थप साथीहरूलाई पनि हामीले लिएर अगाडि बढ्न सक्यौँ भने राम्रो हुन्छ ।

१४औँ र १५औँ महाधिवेशनको सिनारियो त अलि फरक छ नि, डा. शेखर कोइराला समूहबाट महामन्त्री बन्नुभएका गगन थापाले आफैँ सभापतिको उम्मेदवारी घोषणा गर्नुभएको छ, यसलाई  कसरी हेर्नुहुन्छ ?
डा. शेखर कोइराला र महामन्त्री गगन थापाका बिचमा विभिन्न चरणमा छलफलहरू भएका छन् र हामीले पनि डा. कोइराला र महामन्त्री थापा एकै ठाउँमा रहेर, मिलेर अगाडि बढ्नुपर्छ भनेर छलफलहरू गरेका छौँ । महामन्त्री गगन थापाले एक टेलिभिजन कार्यक्रममा बोलेको कुरा मैले पनि सुनेको छु । तथापि, उहाँहरू दुईजनाका बिचमा थप छलफलहरू गरेर साझा धारणा बन्न सक्छ भन्ने मलाई लाग्छ । 
 
१५औँ महाधिवेशनको कार्यतालिकाअनुसार काम सुरु भयो त ?
कार्यतालिका बनाउनु भनेको नै काम गर्नलाई बनाइने हो । कामै नगर्नको लागि बनाइएको कार्यतालिका होइन यो । त्यसका लागि हामीले पार्टीको क्रियाशील सदस्यता जिल्ला–जिल्लामा पुर्‍याइसकेको अवस्था छ । अब, बाँकी जिल्लाको वडा तहले गर्नुपर्ने कामहरू सम्पन्न गरेर वडा कार्यसमितिले नवीकरण र नयाँ वितरण गर्ने काम गर्छ । त्यो समयसीमाभित्र भयो भने समयभित्र नै सबै काम सम्पन्न हुन्छ ।

तर, संस्थापन पक्षका नेताहरूले त समय पुग्दैन, यो हुँदैन भन्छन् क्यारे अहिले पनि ?
अब, त्यो कसकसले केके भन्नुभएको त मलाई सबै जानकारी छैन । हामी सबै बसेर छलफल गरेर एउटा निष्कर्षमा पुगेर नै पुस २६ देखि २८ सम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका ल्याएका हौँ । त्यो कार्यतालिकालाई टेकेर हामी सबैजना अगाडि बढ्नुपर्छ । 

अब यो नियमित महाधिवेशन भएन भने विशेष महाधिवेशनको प्रस्ताव कसरी कार्यान्वयन हुन्छ ?
विशेष महाधिवेशनको बारेमा अहिले छलफल गरिरहनुपर्ने अवस्था तत्काललाई छैन । किनभने, विशेष महाधिवेशनमा हस्ताक्षर गर्ने साथीहरूले नै नियमित महाधिवेशन गर्दा समयसीमाभित्र, यदि नियमित गर्न नसकेको खण्डमा विशेष गर्नुस् भनेर हस्ताक्षर गर्नुभएको हो । त्यसकारणले, अहिले नियमित महाधिवेशन नै हुँदैन भनेर सोच्नुभन्दा नियमित महाधिवेशनलाई सफल पार्छौं भनेर अगाडि बढ्नु पर्छ । 

सरकारको कुरा गरौँ ।

जुन परिस्थितिमा सरकार बन्यो, अहिले साँच्चिकै सरकार छ भन्ने अनुभूति गर्न सकिन्छ ?

यो त हामीले भन्दा पनि मिडियाका साथीहरूले कुरा गर्दा राम्रो हुन्छ । यो सरकारमा रहेकाहरूले जुन ढंगबाट विगतको सरकारलाई आरोपित गर्ने गर्नुभएको थियो, त्यो उहाँहरूलाई एकपटक सुन्न आग्रह गर्दछु । केके भन्नुभएको थियो विगतमा, अहिले के गर्दै हुनुहुन्छ र केके गर्नुभयो भनेर उहाँहरूले एकपटक समीक्षा गर्न जरुरी छ । त्यसलाई धेरै भनिरहनुपर्दैन । मिडियाका साथीहरूले त देख्नुभएकौ छ । आम नेपाली जनताले देखेका छन् । जेनजी पुस्ताले पनि देखेका छन् । अहिले विभिन्न ढंगबाट सरकारको बारेमा आलोचना गरेको पनि हामीले सुनेका छौँ । तथापि, नेपाली कांग्रेस पार्टीले जुन उद्देश्यका साथ सरकार स्थापना भएको हो, त्यो काम पूरा गर्नका लागि सरकारले निर्वाचनको वातावरण सिर्जना गरोस् भनेर हामीले पटकपटक केन्द्रीय कार्यसमितिको निर्णयबाट पनि आह्वान गरेका छौँ । र, विभिन्न फोरमहरूमा बोल्दा पनि हामीले सरकारले निर्वाचनको वातावरण सिर्जना गरोस् भन्ने धारणा राखिरहेका छौँ ।

भनेको, तपाईंहरूको बुझाइमा अहिलेसम्म सरकारले निर्वाचनको वातावरण बनाएको छैन ?
निर्वाचन सम्पन्न गर्नका लागि जुन खालको एउटा भयरहित वातावरण सिर्जना गर्नुपर्ने हो, आम मतदातालाई निष्पक्ष र स्वतन्त्र ढंगबाट भयरहित वातावरणमा निर्वाचन हुन्छ भन्ने अनुभूति दिलाउनुपर्ने हो, त्यो काम हुन सकिरहेको जस्तो मलाई लाग्दैन । निर्वाचन सम्पन्न गर्नका लागि सुरक्षा निकायदेखि लिएर कर्मचारी, न्यायालयका न्यायाधीशहरू लगायतलाई त्यो खालको निर्वाचन गर्ने वातावरण सिर्जना गर्नुपर्छ । उहाँहरूको मनोबल बृद्धि हुन सकेन भने निर्वाचनका लागि सुरक्षाकर्मीले पनि सुरक्षा दिन सक्दैनन् । कर्मचारीले पनि त्यसको जिम्मेवारी लिन सक्दैनन् । त्यसैले, उनीहरूलाई त्यो खालको मनोबल बढाएर र आम जनतामा भयरहित अवस्था सिर्जना भएको छ भन्ने अनुभूति गराउनुपर्छ । 

अहिलेसम्म त्यो वातावरण छैन हैन त ?
अब, यहाँले नै मूल्यांकन गर्नुहोला । मैले त भनेँ, त्यो बाटो बनिसकेको छैन ।

अहिलेको अवस्थामा सरकारले राजनीतिक दलका शीर्ष नेताहरूसँग संवाद गर्न चाहेको छैन, दोस्रो तहकासँग त संवाद भयो, यसको खास सन्देश के हो ?
म त्यसको बारेमा धेरै टिकाटिप्पणी गर्नुभन्दा पनि सरकारले पार्टीका शीर्ष नेताहरूसँग छलफलै नगर्ने, कुरै नगर्ने भनेर जसरी सार्वजनिक अभिव्यक्ति आएको छ, यो आफैँमा एउटा खालको अलोकतान्त्रिक विचार हो । लोकतन्त्रमा त्यस्तो अभिव्यक्तिले काम गर्दैन । त्यसैले, हरेक दलका शीर्ष तहका नेतृत्वसँग पनि सरकारका प्रतिनिधिहरूको, सरकार प्रमुखको छलफल, अन्तरक्रिया र भेटघाट हुने वातावरण बन्नुपर्छ । 

फागुनमा चुनाव भयो भने तपाईंको पार्टी नेपाली कांग्रेसको पोजिसन कस्तो होला ?
मलाई के लाग्छ भने, आम नेपाली जनतामा विभिन्न राजनीतिक दलका बारेमा उहाँहरूका आ–आफ्ना मूल्यांकनहरू छन् । आम मतदाताले आफ्नो ढंगले मूल्यांकन गर्नुभएकै हुनुपर्छ । अहिलेको यो परिस्थिति सिर्जना हुनका पछाडि के नेपाली कांग्रेस मात्रै अथवा एमाले मात्रै अथवा कुनै दलविशेष मात्रैको कमजोरी हो कि अरु पनि कारणहरू छन् भन्ने बारेमा राम्रोसँग हामीले जनतालाई बुझाउनु पनि छ । हामीले राम्रोसँग जनतालाई बुझाउन सक्यौँ भने मलाई लाग्छ, कांग्रेसजस्तो लोकतन्त्रमा विश्वास गर्ने, विधिको शासनमा विश्वास गर्ने, स्वतन्त्र  नागरिक अधिकारका बारेमा विश्वास गर्ने एउटा पार्टी भएको नाताले हामीले जनतालाई त्यो खालको भरोसा नेपाली कांग्रेस पार्टी मात्रै हो भनेर बुझाउन सक्यौँ भने कांग्रेस पार्टी फेरि पनि एक नम्बर पार्टी बन्ने कुरामा कुनै दुईमत छैन ।

अहिलेको अवस्थामा चुनावमा जाँदै गर्दा तपाईंको पार्टीभित्रको आन्तरिक कलह, महाधिवेशनको घनचक्कर, यी सबैले गर्दा त तपाईंहरूलाई अन्य दलसँगभन्दा पनि आफ्नैसँग लड्नुपर्छ होला है ?

पार्टीभित्र वादविवाद र संवाद हुने कुरालाई हामीले अन्यथा लिनुहुँदैन । लोकतान्त्रिक पार्टीमा जहिले पनि व्यापक छलफल हुनुपर्छ । फरक–फरक विचार र दृष्टिकोणहरू पनि हुन सक्छ । त्यसलाई छलफल गरेर एउटा साझा दृष्टिकोण बनाएर अगाडि बढ्ने हाम्रो विगतदेखिकै संस्कृति र परम्परा छ । त्यही मूल्य र मान्यताका आधारमा कांग्रेस पार्टी अगाडि बढ्यो भने कांग्रेसभित्रको अन्तरविरोध पनि कम हुँदै जान्छ र हामीले पार्टीलाई एकढिक्का बनाएर आम नागरिकका बिचमा लिएर जाने प्रयत्न गर्छौं र त्यसो गर्न सक्यौँ भने त यी विवादहरू आफै स्वतः निस्क्रिय हुँदै जान्छन् नि ! 


नयाँ दलबाट कांग्रेसलाई कत्तिको चुनौती देख्नुहुन्छ तपाईं ? 
मलाई लाग्दैन कि, नयाँ दलहरूको केही भूमिका नै हुँदैन । नयाँ दलहरू पनि विभिन्न ढंगबाट विचार र दृष्टिकोण बनाएर जनताको बिचमा आउनुभएको छ । त्यो त जनताहरूले मूल्यांकन गर्ने कुरा हो । अब, नयाँ दलको एउटा मात्रै भए त त्यसको बारेमा धारणा बनाउन सकिन्थ्यो होला, तर अहिले धेरै नयाँ दल खुलेका छन् । अहिले पुराना भन्दा नयाँ दलको संख्या धेरै छ । त्यसकारणले गर्दा अब नयाँ दलहरूले कसरी लिन्छन्, तिनको भूमिका के छ, तिनको पृष्ठभूमि के छ, कुन उद्देश्यका साथ आउनुभएको छ, को–कोसँग साठगाँठ छ, यी सबै कुराहरू बिस्तारै बाहिर जनताको बिचमा आउँछ र जनताले मूल्यांकन गर्छन् भन्ने कुरामा म विश्वस्त छु । -मुक्तिबाबु रेग्मी