
काठमाडौं । बिहारमा नीतिश कुमार नै पुनः मुख्यमन्त्री हुने भएका छन् । एनडीए गठबन्धनमा मन्त्री पदको बाँडफाँटमा सहमति भइसकेको भारतका संघीयमन्त्री तथा बिहारको एनडीए गठबन्धनको एक सदस्य हिन्दुस्तानी आवाम मोर्चा (सेक्युलर) का प्रमुख जीतनराम माझीले बताए ।
समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै माझीले भने, 'सबै कुरा तय भइसकेको छ । हामीबीच कुराकानी भयो । बीजेपीले ८९ सिट जितेको छ र जेडीयूले ८५ सिट जितेको छ, सोही अनुपातमा मन्त्री पदको पनि बाँडफाँट भएको छ । नीतिश कुमारजी मुख्यमन्त्री हुनुहुनेछ ।'
उनले सरकार गठनका लागि एनडीएको संयुक्त बैठक सम्भवतः नोभेम्बर १९ मा हुने र सोही बैठकमा एनडीएको नेता चयन गरिने जानकारी दिए ।
माझीले नयाँ सरकारको शपथ ग्रहण समारोह नोभेम्बर २० मा हुने बताए । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शपथ ग्रहण समारोहका लागि समय दिएको पनि उनले बताए ।
बिहार विधानसभा चुनावमा एनडीएले राज्यको २४३ सिटमध्ये २०२ सिटमा जित हासिल गरेको छ । महागठबन्धनले भने जम्मा ३५ सिट मात्रै हात पारेको छ ।
बिहारमा एनडीएका घटक दलहरूमा भारतीय जनता पार्टी, जनता दल (युनाइटेड), लोक जनशक्ति पार्टी (रामविलास), हिन्दुस्तानी आवाम मोर्चा (सेक्युलर) र राष्ट्रिय लोक मोर्चा समावेश छन् ।









Facebook Comments