डा. ध्रुवचन्द्र गौतम

जनक दाइको पूरा नाउँ, जनकप्रसाद राजभण्डारी हो । उनी वीरगन्ज कुमालटोलका निवासी हुन् । यता कति समयदेखि काठमाडौं बस्दथे, आफ्नो छोराका साथ । 

ad

कतिजना उनीलाई ‘जनक मास्टर’का नाउँले पनि सम्बोधन गर्दथे । कुनै बखत उनी शिक्षण पेसामा पनि थिए । 

उनी प्रजातन्त्रपछि राजसभाका सदस्यसम्म भएका थिए । टंकप्रसाद आचार्य र पूज्यपरिषद्सँग उनी आबद्ध थिए । 

मैले एकपटक अखबारमा धनुषचन्द्रबारे लेखेको थिएँ । त्यसको एक–दुई दिनपछि उनले मलाई फोन गरे । भने– तिमीले धनुषचन्द्रबारे लेख्यौ, तर म गोपालचन्द्रलाई बढी मान्दछु ।’

मैले भनेँ– दाइ, उहाँबारे पनि लेख्छु । टंकप्रसादसँग गोपाल दाइको पनि राम्रो सम्बन्ध थियो । जनक दाइ त्यसकारण गोपालचन्द्रलाई मान्ने भएका होलान् । 

धनुषचन्द्र पनि जनक दाइलाई मान्दथे । धनुषचन्द्रले एकदिन एउटा प्रसंग सुनाएका थिए । त्यसअनुसार, जनक दाइ त्यसबखत साहित्यमा पनि रुचि राख्दा होलान् । साहित्य पढ्थे भन्ने बुझिन्छ । 

अलेक्जेन्डर पोप र ड्राइडनको एउटा युग नै थियो । पोप केटाकेटीदेखि कविता लेख्दथे । तर उनी आफ्ना पितासँग लुकीलुकी लेख्दथे । पिता कविता लेख्ने बिग्रन्छ भन्ने विचारका थिए । त्यसबखत यी इतिहास रच्ने कविहरूलाई पनि मुस्किल थियो । 

हामीकहाँ पनि अहिलेको त म भन्न सक्दिनँ । पहिलेपहिले कविता आदिमा लाग्ने पढाइमा बिग्रन्छ भन्ने नै थियो । 

विदेशमा त त्यस्तो रहेछ भने, हामीकहाँ त्यस्तो हुनु आश्चर्य होइन । 

पोपका पिताको कडा उर्दी थियो, पढाइबाहेक कविता आदि लेख्नबाट अर्थात् आफ्नो छोरालाई बिग्रनदेखि जोगाउनु प्रत्येक अभिभावकको अनिवार्यता हो । 

त्यसकारण पोपको घरमा कवितालाई हेव ठानिन्थ्यो । पोपका बाबु अत्यन्त डराउँथे । 

तर कविता उनको प्राणवायु थियो । उनी नलेखी रहन सक्दैन थिए । रात परेपछि, सबै सुतेको बेलामा उनी लुकीलुकी काव्य रचना गर्थे । 

तर पोपका पिताको हातमा एकदिन उनको कविता परिहाल्यो । पोप स्कुल गएका थिए । पिता क्रोधले आगो भएर बसिरहेका थिए । स्कुलबाट फर्कनासाथ पिताले झम्टिहाले । उनले पोपलाई निर्घात कुटे । पोपले माफी मागे । बाबुको रिस धेरै बेर शान्त नभएपछि पोपले बाबुको पिटाइ छेक्दै माफी माग्दै भनेछन् ः

फादर, फादर पीटी टेक 

नो मोर पीटी आई शाल मेक । 

बाबुको रिस त त्यसले शान्त भयो कि भएन, तर उनले माफी माग्दै बोलेका ती शब्दहरू आजसम्म सम्मानयोग्य बन्यो । कारण, पोपले माफी माग्दै, कविता लेख्दिनँ भनेर जे बोलेका थिए, त्यो पनि कविता नै बनेको थियो । 

फादर पीटी टेक

नो मोर पीएट्री आई शाल मेक । 

भएन त कविता ? 

पोपको बाल्यकालको यो घटना मलाई मेरा दाइले सुनाएका थिए के भनेर भने, यो जनक दाइले मलाई सुनाएको हो । 

धेरैपछि जनक दाइलाई भेट्दा मैले त्यो प्रसंग उनलाई बताएँ । उनले सम्झँदै भने– ‘हो मैले धनुषलाई बताएको थिएँ ।’

यसबाट थाहा हुन्छ, जनक दाइको साहित्यमा पनि रुचि थियो । मैले लेखेको लेख पढेर त्यसको कुरा गरेकोले पनि उनको लेखपढको रुचि देखाउँछ । 

म जनक दाइकहाँ बेलाबेलामा जान्थेँ । मैले राखेको ‘दीप–गोविन्द शिक्षण पुरस्कार’ आफ्ना मातापिताको नाउँमा थियो । 

हामीले पहिलो शिक्षण पुरस्कार जनक मास्टरलाई नै प्रदान गरेका थियौँ, उनकै निवासमा गएर । 

उनी शिक्षक थिए यो त थाहा भयो, तर के पढाउँथे र कस्तो पढाउँथे, त्यो मलाई थाहा भएन । 

जनक दाइको व्यक्तित्व त गम्भीर हो । उनी इतिहास थिए हाम्रा लागि । वीरगन्जका जीवित इतिहास । 

त्यसबखत वीरगन्जका वरिष्ठ नागरिक । म उनीकहाँ वीरगन्ज र आफ्नो पुख्र्याैलीबारे जान्न भनेर पनि जान्थेँ । केही थाहा पनि भयो । कति त उनैले पनि बिर्सेका थिए । 

एकदिन भने– अब मभन्दा जेठो वीरगन्जमा एकैजना छ– केशरबहादुर मानन्धर ।’

केशरबहादुर मानन्धरसँग पनि भेट्ने चाहना थियो तर सम्भव भएन । उनको सय वर्षको आयुमा निधन भएको थियो । जनकदाइले नै यो खबर सुनाउँदै भने– ‘अब वीरगन्जको मैमात्र बाँकी छु ।’

जनक दाइको प्रिय भोजन मिठाइ थियो । उनको मिष्ठान्न प्रेम प्रख्यात थियो त्यसबखत । 

दुई किलो जलेबी खाने । रसबरी, लालमोहन, लड्डु, पेडा बर्फी उनको प्रिय खाद्य हुन्थ्यो । जनक दाइ भन्थे– दाइ हामी केटाकेटीमा एक चेकी मिट्ठा पाए जीवनभरिलाई पुग्छ भनेर त्यसको कामना गथ्र्याैं । 

एक चेकी मिट्ठा भनेको गलभग डेढ मनको हुन्छ । 

तर त्यसबखत जनक दाइले झस्काउँदै भने– ‘ध्रुव, मैले एक चेकी मिट्ठा खाएको छु ।’ कसरी खानुभयो दाइ, त्यतिका ? उनले भने– दश दिनमा सिद्धयाएँ । जनक दाइको मिष्ठान्न प्रेम बढी चर्चित भयो । तर उनको बौद्धिकता, इतिहास ज्ञान पढ्न लेख्नप्रतिको रुचि उच्च कोटिको थियो । कुरा गर्दा मैले त्यही बुझेँ । 

उनको निधन केही समयअगि १०३ वर्षको आयुमा भयो । उनीजस्ता व्यक्तित्व अब हामी भेट्दैनौँ । सरल तर बौद्धिक जनक दाइलाई हार्दिक श्रद्धाञ्जली ।