
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा विचाराधीन विषयलाई खुला राख्दै संवैधानिक निकासको लागि निर्वाचनमा जानु अपरिहार्य भएको बताएका छन्।
नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै खड्काले हालको राजनीतिक परिस्थितिमा निर्वाचन नै उपयुक्त विकल्प रहेको उल्लेख गरे।
उनी भन्छन्, ‘हाल संविधान बाहिरबाट सरकार बनेको र लगत्तै प्रतिनिधिसभा विघटन भएको अवस्थामा हामीले यसलाई तत्कालै असंवैधानिक कदम र अदालतको निर्णयविपरीतको कदम भनेर समयमै घोषणा गरेका छौँ। यो अवस्थामा संवैधानिक निकासको मार्ग सर्वोच्चमा विचाराधीन विषयलाई निर्वाध खुला राख्दै मुलुकलाई पुनः संवैधानिक बाटोमा फर्काउने आधार निर्वाचन हो।’
तर, खड्काले वर्तमान सरकारले निर्वाचनका लागि विश्वसनीय वातावरण बनाउन असफल भएको आरोप पनि लगाए। उनले भने,‘नागरिकमा त्रास फैलिएको अवस्था छ। के सरकारका गतिविधिहरू निर्वाचन वातावरण बनाउनतर्फ लक्षित छन् ?’
खड्काले संविधानको रक्षा र राजनीतिक स्थायित्व कायम राख्न साझा विचार भएका राजनीतिक पक्षहरूसँग सहकार्य आवश्यक भएको पनि जोड दिए।









Facebook Comments