काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन सत्र सकिएलगत्तै अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरूले आफ्नो प्यानल गठनको तयारी सुरु गरेका छन्। स्रोतका अनुसार, पुरानै पदाधिकारीहरू दोहोरिने सम्भावना बढेको छ।

अध्यक्ष ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङलगायत नेता छलफलमा सक्रिय छन्।

ad

अध्यक्ष ओलीनिकट एक नेताले बताएअनुसार पदाधिकारी संख्या नबढ्दा उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’ र गुरु बराल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, विष्णु रिमाल दोहोरिन सक्ने सम्भावना बलियो छ।

सचिवमा हालका पदाधिकारी पद्मा अर्याल, रघुवीर महासेठ, लेखराज भट्ट दोहोरिन सक्ने देखिन्छन्। बाँकी तीन सचिव पदमा भानुभक्त ढकाल, शेरधन राई, ज्वाला साह, सुमन प्याकुरेल, महेश बस्नेत, राजन भट्टराई, खगराज अधिकारी, जगत विश्वकर्मा, यमलाल कँडेल, गोरख बोगटीले दाबी राखेका छन्। 

ओलीनिकट नेताहरूले अन्तिममा ढकाल, बस्नेत, कँडेल वा बोगटीमध्ये एक जनालाई चयन गर्न सक्ने बताइरहेका छन्।

त्यस्तै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसमूहले पनि आफ्ना टिम टुंगो लगाउने तयारीमा छ। पोखरेल समूहमा योगेश भट्टराई उपमहासचिव, उपाध्यक्षमा सुरेन्द्र पाण्डे वा गोकर्ण विष्ट, महासचिवमा अर्को उपाध्यक्ष सेट हुने अनुमान गरिएको छ। सचिव पदमा गोकुल बाँस्कोटा, ठाकुर गैरे, कर्ण थापा, विनोद ढकाल, विन्दा पाण्डे लगायत आकांक्षी रहेका छन्।

स्रोतका अनुसार, महाधिवेशनको अन्तिम टुंगो आउँदै गर्दा ओली प्यानलमा पुराना पदाधिकारीको दोहोरिने सम्भावना धेरै बलियो देखिएको छ।