गजलकार देवेन्द्र केसी देवुका गजल सर्वनाम थियटरमा गुन्जिएका छन् । अनाममण्डलीको आयोजनामा भएको गजल गायनमा केसीका गजल संगीतकार एवं गायक सन्तोष श्रेष्ठको गायनमा गुन्जिएका हुन् ।

श्रेष्ठले दुई घण्टासम्म दर्शकदीर्घालाई मन्त्रमुग्ध पारेर हलचलसमेत हुन दिएनन् । श्रेष्ठलाई तबलामा शम्भु श्रेष्ठ र बाँसुरीमा निर्मल सिंहले साथ दिएका थिए ।

ad

प्रमुख अतिथि प्रा.डा. देवी नेपालले शास्त्रीय बहरमा रचना गरिएका गजलहरूलाई लोक रङ दिएर पनि सुन्दर ढंगले गाउन सकिन्छ भनेर सन्तोषले उदाहरण दिएको धारणा राखे ।

गजलकार एवं संगीत मर्मज्ञ रवि प्राञ्जलले पछिल्लो समय नेपाली गजल गायनमा आउने क्रम तीव्र बनेकामा खुसी व्यक्त गरे।

पोखरा–२० कास्कीमा जन्मेर नेपाली वाङ्मयका फुटकर विधा कविता, गजल, गीत र मुक्तक लेखनमा क्रियाशील केसी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका अध्यक्षसमेत हुन् ।

उनका ’यसरी मन पोखियो’ र ’परेली भित्रै छु’ कवितासङ्ग्रह, ’मनको पहिरो’, ’इमानको पहाड’ र ’अव्यक्त पीडा’ मुक्तकसङ्ग्रह ’यो जुनीमा यस्तै भयो’ र ’दोषी नजर’ गीतिएल्बम बजारमा आइसकेका केसीका धेरै गीत गजल लोकप्रियसमेत रहेका छन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठान, गीतकार संघ नेपाल, हरिदेवी कोइराला साहित्य संगीत सम्मान कोष, सप्तरंगी सांस्कृतिक प्रष्तिठान, कस्केली अधिकृत समाज, जरा फाउण्डेशनलगायतका संघसंस्थामा आवद्ध केसी नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महाप्रबन्धकसमेत हुन् ।

कार्यक्रमका परिकल्पनाकार घनेन्द्र ओझाले गजलकार र संगीतकारको परिचय प्रस्तुत गर्दै वि.सं. २०८० देखि २०९० सम्मको दशकलाई नेपाली गजल गायनको स्वर्ण दशकका रूपमा मनाइरहेको जानकारी गराए ।

कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टर, गोल्डेन क्रियसन र अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चको सहकार्य र अनाममण्डली नेपालको आयोजनामा सम्पन्न भएको हो ।

स्मरण रहोस्, सौन्दर्य र शिल्प दुवै पक्षले उत्कृष्ट गजल लेखनमा क्रियाशील केसीको यस अघि पोखरामासमेत अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीको आयोजनामा सभ्य र भव्य समारोहका बीच गजलगायन सम्पन्न भइसकेको छ ।