
काठमाडौं । नेपालमा कार्यकाल पूरा गरी स्वदेश फर्कने तयारीमा रहेका भारतीय राजदूत नविन श्रीवास्तव शनिबार हाइकिङका क्रममा अचानक बिरामी परेपछि उद्दार गरी अस्पताल भर्ना गरिएको छ।
शनिबार दिउँसो करिब २ः३० बजे काठमाडौं जिल्ला दक्षिणकाली नगरपालिका–९ स्थित भस्मेसुर डाँडाको जंगल क्षेत्रमा दूतावासका दुई अधिकारीसहित हाइकिङमा निस्किएका राजदूत श्रीवास्तवलाई अचानक छाती दुखेपछि ढलेका थिए। घटनापछि तत्काल नेपाली सेना र प्रहरीलाई जानकारी गराइएपछि संयुक्त उद्धार कार्य सुरु गरिएको थियो।
श्री युद्ध कवच गणबाट क्याप्टेन रत्नदीपसिंह ठकुरीको कमाण्डमा ९ जनाको सैनिक टोली तथा सशस्त्र प्रहरी बल दंगा नियन्त्रण रेजिमेन्ट गण नीलबाराही, कीर्तिपुरबाट इन्स्पेक्टर लोकबहादुर तामाङको कमान्डमा १७ जनाको टोलीले संयुक्त रूपमा उद्धार गरी अपराह्न करिब ४ः३० बजे सेनाको हेलिकप्टरमार्फत उनलाई ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल पुर्याइएको थियो।
अस्पताल स्रोतका अनुसार राजदूत श्रीवास्तवलाई भेन्टिलेटरमा राखी उपचार भइरहेको छ र चिकित्सकहरूको निगरानीमा उपचार जारी छ। स्वास्थ्य अवस्था गम्भीर रहे पनि थप विवरण सार्वजनिक गरिएको छैन।
यसैबीच, विभिन्न शुभेच्छुक, कूटनीतिक निकायका प्रतिनिधि तथा निकट व्यक्तिहरू शीघ्र स्वास्थ्यलाभको कामनासहित अस्पताल पुगिरहेका छन्।









Facebook Comments