
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा हुने विदेशी हस्तक्षेप र राजनीतिक चलखेल रोक्न ब्यालेस्टिक मिसाइल प्रयोग गर्ने क्षमता नेपालसँग नभएको स्पष्ट पारेका छन्।
शनिबार सुर्खेत, वीरेन्द्रनगरमा आयोजित एकता सन्देश सभामा प्रचण्डले भने, ‘कतिपय विदेशी शक्तिहरूको चलखेल हुन्छ नै। तर, हामीले कुनै ब्यालेस्टिक मिसाइल प्रयोग गरेर विदेशी चलखेल रोक्ने तागत हामीसँग छैन। त्यसैले जनताको तागत, जनताको एकता र शक्ति नै हाम्रो मुख्य शक्ति हो।’
प्रचण्डले हालैको ‘जेनजी’ आन्दोलनलाई राजनीतिक दल र पुराना नेताहरूका लागि चुनौतीपूर्ण भएको बताए। उनले भने, ‘जेनजीले ‘सच्चिने कि सक्किने’ भनेर चेतावनी दिएको थियो, र मैले यसलाई सकारात्मक रूपमा लिएको छु। आन्दोलनले पार्टी र हामी नेताहरूलाई सच्याउने मौका दियो, त्यसका लागि धन्यवाद।’
उनले सरकारले जेनजी युवामाथि गरेको दमन गलत भएको टिप्पणी पनि गरे। प्रचण्डले भने, ‘युवाहरूले उठाएका मागहरू हाम्रो पार्टीसँग मिल्दोजुल्दो छन्। अहिले हजारौँ जेनजी युवाहरू हामीसँग जोडिनुभएको छ। उहाँहरूले ‘अभिभावक प्रचण्ड नै रहेछ’ भनेर बताएका छन्। यसले कतिपय शक्तिहरूलाई सबै नेपाली कम्युनिस्ट पार्टीतर्फ केन्द्रित भएको देखेर आत्ताएको छ।
अन्ततः प्रचण्डले आफूहरू जनतासँग आत्मसमीक्षा गरेर पार्टीको तल्लो तहसम्म पुगेको दाबी गर्दै अहिले पार्टीप्रति उत्साहित हुने वातावरण बनेको बताए।









Facebook Comments