केमा व्यस्त हुनुहुन्छ ?
जेनजी आन्दोलनपछि राष्ट्रिय राजनीति बदलिएको छ । नेपाली कांग्रेस पनि अधिवेशन निर्वाचन अगाडि गर्ने कि पछाडि गर्ने भन्नेबारेमा अलमलिएको छ । यी कुराहरूले अहिले समय खाइरहेको छ ।

अहिलेको अवस्थामा नेपाल नेपाली कांग्रेस कोमामा छ भनेर बुझौँ ?
त्यो एकदमै गलत टिप्पणी हुन्छ । नेपाली कांग्रेस पार्टी २००७ सालदेखि ४६ र ६२–६३ को ठूला निर्णायक आन्दोलनहरूको आह्वान गरेको र नेतृत्व गरेको पार्टी हो । जेन्जीले आह्वान गरेको प्रदर्शनले निम्त्याएको उथलपुथल एक किसिमले भन्ने हो भने नेपाली कांग्रेसको खिलाफमा थियो । नेपाली कांग्रेससमेतको विरुद्धमा थियो । तर त्यो नेताविहीन, नेतृत्वविहीन आन्दोलन भएकाले त्यसका एजेन्डालाई मुखरित गर्न, त्यसलाई संस्थागत नेतृत्व प्रदान गर्ने अवसर अझै पनि कांग्रेसका सामु छ । त्यो भनेको नेपाली कांग्रेसले मौजुदा नेतृत्वलाई बदलेर नयाँ नेतृत्व चयन गरेर आमनिर्वाचनमार्फत जेनजी मुद्दालाई संस्थागत गर्ने अपूर्व अवसर छ । जुन ०७ सालको, ४६ को र ६२–६३ को लेगेसी कांग्रेसले २०८२ सालमा पनि कायम गर्न सक्ने सुवर्ण अवसर छ । 

ad

नेपालका हरेक आन्दोलनहरूमा नेपाली कांग्रेसको भूमिका स्वीकार्य छ, तर आन्दोलन र सडकमा उत्रिने उमेर समूह (युवा पुस्ता) त सधैँ एउटै रहेको छ नि ?  
म तपाईंलाई इन्ट्रेस्टिङ कुरा बताउँछु । तपाईंले भनेको बारेमा मैले चिन्तन गरेको छु । २००७ मा लिड गरेको आह्वान गरेको जुन पुस्ता थियो, त्यो पुस्ता र अहिलेको पुस्ता मिल्छ । तर ४६ र ६२–६३ को देखिएको चेहेराहरू त ४० कटेकै चेहेराहरू थिए । जेनजी अहिलेको जुन उमेरसम्म तपाईंले भनेको ३० मुनिको, ४० मुनिको र अहिले चाहिँ ४० मुनिको पुस्ताले लिड गर्‍यो । तर ४६ र ६२–६३ चाहिँ त्योभन्दा माथिको पुस्ताले गरेका थिए । कृष्णप्रसाद, गिरिजाबाबुको उमेर कति थियो ? प्रचण्ड सबैको उमेर ५० प्लस नै थियो । त्यसैले जेन्जी मुभमेन्टलाई हामीले सात सालको क्रान्तिसँग जोडेर हेर्न सक्छौँ, उमेरका हिसाबले । 

कांग्रेसको महाधिवेशन हुँदा र नहुँदा के फरक हुन्छ ?
नेपाली कांग्रेसको इतिहासमा १४ वटा अधिवेशन भए । सातवटा अधिवेशन २०१७ साल अगाडि भए । र त्यसपछि सातवटा अधिवेशन भए । विशेष गरी ०४८ साल देखि ०७९ सालसम्म सात अधिवेशन भए । त्यो ४७ सालको संविधानअनुसार तीनवटा अधिवेशन भए । र हामी गणतन्त्रमा प्रवेश गरेर चारवटा अधिवेशन भए । कांग्रेसको स्थापनाकालमा पनि सात सालअगाडि चारवटा र १७ सालअगाडि ३ वटा अधिवेशन भएका छन् । मैले यो कुरा किन भनिरहेको छु भने त्यो कांग्रेसको सातवटा अधिवेशनपछि देशको राजनीति पश्चगमनमा गयो । अहिले अर्को सातवटा अधिवेशन अर्थात् १४औँ अधिवेशनपछि पनि यो जेन्जी जेन्जी मुभमेन्टले कतै देश त्यस्तो त्यो ‘ब्याक ल्यास’मा त्यो प्रतिक्रान्तितर्फ उन्मुख भएको हो कि ? कांग्रेसले सही नेतृत्व चयन गरेर ठिक नेतृत्व दिन सकेन भने त्यो खतरा अझै पनि यथावत् छ । यो देशको राजनीतिमा पपुलिस्ट फोर्सहरू हावी भए भने कांग्रेसले सही बेलामा सही निर्णय गर्न नसकेमा त्यो जोखिम हुन्छ । बीपी कोइराला सभापति र प्रधानमन्त्री हुँदा सातौँ अधिवेशन एउटा निर्णायक अधिवेशन थियो । पञ्चायतका कारण हामी ३० वर्ष अन्तै हरायौँ । अहिलेको समयमा कांग्रेसले धेरै आत्मचिन्तन गरेर अगाडि बढ्नु पर्नेछ ।

जुन डेट वाइज कुरा गर्दै जाँदा खेरि त यतिबेला त कांग्रेस कोमामै रहेछ नि त फेरि ?
नेपाली कांग्रेस अहिले पनि कोमामा छैन । विगतमा पनि कांग्रेसको संगठन चुस्त थियो, दुरुस्त थियो, मजबुत थियो, सत्ता पनि थियो तर राजालाई अकस्मात ‘कु’ गरे कांग्रेसले आन्दोलन गरेर त्यसलाई तुरुन्तै ढाल्न सकेन । प्रतिरोध मुभमेन्टमा लामो समय गयो । अहिले पनि कांग्रेसले ठिक निर्णय गरेन भने कांग्रेसको संगठन पनि छ, संरचना पनि छ तर नेताले आजको समस्या यो हो । पार्टीले आजको समस्या यो हो । यो समस्या निराकरणको उपाय यो हो भन्नुपर्छ । जेनजीको आवाज भनेको सुशासन दिने हो । भ्रष्टाचार न्यूनीकरण गर्ने हो । देशभित्रै रोजगारी सिर्जना गर्ने हो । पारदर्शी शासन कायम गर्ने हो । र लिडरसिपको एक्जिट सिस्टम एउटै नेतृत्वले बारम्बार खाइराख्ने जुन  त्यो नेतृत्वको नवीनीकरण गर्ने जुन कुरा हराएको छ, एउटै नेताले ३०–३० वर्षमा तीन–तीन दशक राजकाज गरेको छ । एकपटक पदमा पुगेपछि आर्यघाट नपुग्दासम्म राजनीति गर्ने अध्यावसायमा लागेको छ, त्यो प्रवृत्ति हटाउन जेन्जीले आन्दोलन गरेको हो नि त । त्यसको लागि कांग्रेसले आफ्नो विधानमा संशोधन गरेर आफ्नो कार्य अगाडि बढाउन सक्छ ।

अनि जेन्जीको मागमा त नेतृत्वको रूपान्तरण परिवर्तनको कुरा थियो र ? 
छ, थियो । जेनजीभन्दा अगाडि अकुपाई बालुवाटार पनि भएको थियो । बेलायतमा आमनिर्वाचन भएको दुई वर्ष बल्ल पुग्दै छ । त्यो आमनिर्वाचन भएको दुई वर्ष बीचमा तीन–चारवटा ठूला–ठूला प्रोटेस्टहरू भए । त्यहाँ त्यसले व्यवस्थाविरुद्ध गाली गरेको छैन । त्यहाँ प्रधानमन्त्रीले सही नीति नल्याएमा गाली हुन्छ । त्यहाँ भनेको त्यो व्यवस्थाको प्रतिनिधिपात्र प्रधानमन्त्री हुन्छ । तर हाम्रोमा के भयो ? व्यवस्था ‘टायर्ड’ भएको छ । व्यक्ति अलोकप्रिय भएर व्यवस्था टाइट भएको छ । त्यहाँ व्यक्ति अलोकप्रिय नेता, पार्टी सभापति अलोकप्रिय, प्रधानमन्त्री अलोकप्रिय भएपछि उसले रिजाइन गरिहाल्छ । आमनिर्वाचन पनि पर्खाउँदैन । पार्टीको अधिवेशन पनि पर्खंदैन । हाम्रोमा मेरो कार्यकाल चार वर्ष हो । म त्यसलाई साढे पाँच वर्ष गराउँछु । त्यसपछि मेरो पार्टी विधानले मलाई दुई कार्यकाल दिन्छ । म त्यसलाई ११ वर्ष पुर्‍याउँछु । र आमनिर्वाचन, मैले हारेको मैले जिम्मेवारी लिन्नँ । राष्ट्रिय राजनीति कता गएको छ ? राष्ट्रिय राजनीतिलाई मैले सही दिशा प्रदान नगरेको मैले जिम्मेवारी लिन्नँ । बेलायतको लेबर पार्टीको विधानमा के कुरा लेखेको छ भन्दाखेरि यदि आमनिर्वाचन लगत्तै पार्टी सरकारमा सहभागी भएन भने दलको नेता जो सभापतिसरह हुन्छ उसको पद छ महिनामा खारेज हुन्छ । आमनिर्वाचनमा सकारात्मक परिणाम आएन भने तात्तातै राजीनामा दिन्छन्, छ महिना पनि कुर्दैनन् । त्यहाँ तिमीले फेरि अर्को निर्वाचनमा प्रतिस्पर्धा गर्ने हो भने तिमीले कार्यकर्तासँग नयाँ म्यान्डेट लिनुपर्छ भनिन्छ । यसले के देखाउँछ भन्दाखेरि त्यहाँको पार्टीको लिडरसिपलाई डाइरेक्ट जनताप्रति जवाफदेही बनाइएको छ । पार्टी अधिवेशनभन्दा जनताको अधिवेशन, जनताको निर्वाचन ठूलो बनाइएको छ । हाम्रो पार्टीको त्यो मोडल फेर्नुपर्छ । हाम्रो पार्टीको विधान लोकतान्त्रिक भने पनि नेता कतिपटक सभापति हुन पाउने र उसको सभापतिको अवधि कति वर्ष हुन पाउने भनेर मात्रै उल्लेख गरेका छौँ । हामीले आमनिर्वाचनसँग पार्टीको विधानलाई जोडेका छैनौँ । कम्युनिस्ट पार्टी त उमेर हदको कुरा गर्छन् । त्यही भएर त्यो पुरानो मोडलको लोकतान्त्रीकरणले पुग्दैन । नयाँ मोडलको लोकतान्त्रीकरणमा जानुपर्छ । यो अभ्यास जर्मनी, जापानमा गरिएको छ । त्यहाँ व्यक्ति निशानामा हुन्छ र व्यक्तिले तत्काल छोडिहाल्छ । त्यसकारण त्यो पद्धति जोगिएको छ । तर हाम्रोमा व्यक्ति अनेक बहानामा पदमा बसिरहँदा पद्धति निशानामा परेको हो । 

अब अहिलेको अवस्थामा जेन्जी मुभमेन्टपछाडिको यी राजनीतिक दलहरू कम्युनिस्टहरू एकता भनिरहेका छन् कांग्रेस नियमित कि विशेषमा अल्झिरहेको छ । राजावादीहरू आफ्नै बाँसुरी बजाइरहेका छन् । यो घटनाक्रमलाई कसरी हेर्ने अब हामीले ?

अहिले कुनै पनि घटनाक्रमलाई कुनै पनि राजनीतिक दलले व्यक्तिगत दृष्टिकोणले हेर्छ कि राष्ट्रिय दृष्टिकोण दिएर हेर्छ । जसले व्यक्तिभन्दा माथि उठेर राष्ट्रिय दृष्टिकोण दिन्छ त्यही दल वा त्यही व्यक्ति राष्ट्रिय नेता हुन्छ । कांग्रेस सात सालको नेता किन भयो ? ०४६ को नेता किन भयो ? ०६२–६३ को  किन ? भन्दा त्यतिबेलाका कांग्रेसका नेताहरूले राष्ट्रिय परिस्थिति, राष्ट्रिय मनोदशा बुझेर राष्ट्रिय आवाजलाई वाणी दिए, मुखरित गरे र कांग्रेस त्यतिबेलाको नेता भयो । अहिले पनि तपाईंंले राजावादीको कुरा गर्दै हुनुहुन्छ, कम्युनिस्टको कुरा गर्दै हुनुहुन्छ र नेपाली कांग्रेस कुरा गर्दै हुनुहुन्छ । जुन दल त्यो जेन्जीमा जुन विस्फोटित भएर आएको आवाज थियो, कार्पेटमुनिको फोहोर थियो, दलितको फोहोर सफा गर्ने जुन आवाज छ, त्यो आवाजलाई जनताले बुझ्ने भाषामा विश्वसनीय शैलीले पुरानो गल्तीबाट माफी माग्दै जसले विश्वस्त पार्न सक्छ, आश्वस्त पार्न सक्छ त्यही शक्ति पुनः राष्ट्रिय शक्ति बन्छ । होइन भने ‘मेरो गोरुको बाह्रै टक्का’ गरेर रहन्छन् ती दलहरू ‘डाउन टु साइज’ विलय हुन्छन् विघटित हुन्छन् ती नामेट हुन्छन् त मैले भन्दिनँ तर उनीहरूको संख्या (आकार) सोचेभन्दा निकै सानो हुन्छ ।

अहिले पुस्तान्तरण रूपान्तरणका कुरा गर्दैगर्दा कम्युनिस्टहरू एकता गरेर हामी त एक नम्बर भयौँ पो भन्छन् त । यसले साँच्चिकै लिड गर्न सक्छ ?
नेपाली कम्युनिस्ट मुभमेन्टको भोटको राजनीतिको, आमनिर्वाचनको राजनीतिको क्लाइमेक्स २०७४मा भएको थियो । त्यो अभियानले झन्डै दुईतिहाइ मत पनि दिलायो तर त्यो मत दुर्गटित भयो, पाँच वर्ष संसद् टिकेन । त्यसयता ती कम्युनिस्टहरूले कुनै पनि आत्मचिन्तन, कुनै पनि मनन गरेका छैनन् र त्यसयता नेपाली कम्युनिस्टको भोट ओरालो लाग्न सुरु गरेको छ र आममानिसहरूलाई राष्ट्रिय पुँजीमा जुन शक्तिले श्रीवृद्धि गर्छ, घरेलु पुँजी वृद्धि गर्न र घरभित्र रोजगार प्रदान गर्न त्यो शक्तिकाप्रति मात्रै जनताको आड भरोसा र विश्वास छ । नयाँ वाम शक्तिहरूको त्यो १८ बुँदा हेरेँ, त्यसमा जेनजीको भावना कुरा १८औँ बुँदामा छ र यो देशको राष्ट्रिय पुँजी कसरी बढाउने भन्ने बारेमा सबै कुरा अमूर्त छ, ठोस कार्यक्रम केही पनि छैन । त्यही भएर त्यो ‘धार्नी न बिसौली दुई हातले उचाली’ भनेको जस्तो उनीहरूको अवस्था छ ।

नेपाली कांग्रेस यतिबेला नियमित कि विशेष महाधिवेशनको बहसमा अल्झिएको छ, खासमा महाधिवेशन कहिले गर्ने ?
दोस्रो संविधानसभामा संविधान निर्माण गर्ने बेला विशिष्ट परिस्थितिमा कांग्रेसको अधिवेशन सुशील कोइरालाको कार्यकालमा चार वर्षभन्दा लम्बिन पुगेर साढे पाँच वर्षमा भयो । त्यो साढे पाँच वर्षपछि शेरबहादुर देउवा सभापति भएर आउनुभयो र शेरबहादुर देउवाका मानिसहरूले के भने भन्दाखेरि, होइन सुशील कोइरालाले जति लम्ब्याएका थिए, त्यति लम्ब्याउनुपर्छ भनेर खराब नियतले उहाँहरूले साढे पाँच वर्ष पुर्‍याउनु भयो । होइन भने किसुनजीको पालोमा ३० वर्ष कांग्रेस अधिवेशन भएन, त्यतिबेलाको अवस्था त्यस्तै थियो । ०४८ सालपछिका अधिवेशनहरू विधानतः चार वर्षभित्रै भएका छन् । तर ०६२ सालपछिको अधिवेशनहरूलाई साढे पाँच वर्ष लाग्यो । त्यसमा मैले सुशील कोइरालाको नियत खराब थियो भनेर भन्दिनँ । त्यो संविधान निर्माणको बेला थियो । एउटा राष्ट्रिय परिस्थितिले गरेर अलमलिएको बेला थियो । ०७२ को अधिवेशन बेलामा भएको तर ०७८ को अधिवेशन  बेलामा नभएको कुराको अहिले पुनरावृत्ति गर्न खोज्दा अहिले यो बहस भइरहेको हो । कांग्रेसमा एउटा महाधिवेशनबाट निर्वाचित नेतृत्वले एउटा आमनिर्वाचनको मात्रै संसदीय निर्वाचनको टिकट बाँडेको रेकर्ड छ । जस्तो सुशील कोइराला ०६७ मा सभापति हुनुभयो, ०७०को दोस्रो संविधानसभाको निर्वाचनको टिकट बाँड्नुभयो । शेरबहादुर देउवा ०७२ को फागुनमा पार्टी सभापति हुनुभयो ०७४ को टिकट बाँड्नुभयो । त्यसैगरी शेरबहादुर देउवा ०७८ मंसिरमा पार्टी सभापति हुनुभयो र ०७९ को टिकट बाँड्नु भयो । त्यही भएर अब आमनिर्वाचन घोषणा भएको छ । आमनिर्वाचन अगाडि कांग्रेस अधिवेशन गर्न चार वर्ष अवधि पनि सकिएको छ । र जनताले परिवर्तनको लागि मत प्रकट गरिसकेका पनि छन् । र त्यसको अलावा कांग्रेसका बहुसंख्यक महाधिवेशन प्रतिनिधि ५५प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले वर्तमान कार्यसमिति प्रति विश्वास छैन भनेर मत जाहेर गरिसकेका छन् । त्यही भएर पनि कांग्रेसले त्यो ५५प्रतिशत को भावनालाई सम्बोधन गर्ने गरी बेलैमा नियमित अधिवेशन गर्नुपर्छ । त्यो नभए कार्यकर्ताले झुन्डाइदिएको तरबार अनुसार डन्डाअनुसार कांग्रेसको विशेष अधिवेशन हुन्छ । 

नियमित अधिवेशनको प्रस्तावित तालिका पुस १६ देखि १९ सम्भावना देख्नु हुन्छ ?
सम्भावना देख्छु । ३६ घन्टामा हामीले नसोचेको अकल्पनीय परिवर्तन भयो । हामीले डेढ महिनासम्म अधिवेशन गर्न नसक्ने भन्ने हुन्छ ? कांग्रेसको सदस्यता कसलाई दिने विषयमा महामन्त्रीहरूलाई गाली गरे पनि ०४८ सालदेखि यता कांग्रेसको अधिवेशन भएका मितिदेखि तीन वर्ष कन्टिन्यु सदस्यता लिन चाहनेले सदस्यता लिन पाएको यो पहिलोपटक हो । ०७८ मंसिरपछि खुला गरिएको छ । केही जिल्लामा विवाद छन् । र विवाद नभएका जिल्लामा केही केन्द्रीय नेताहरूले रोकेर राखेका छन् । त्योबाहेक हामीले नेगेटिभ रूपमा लिनुपर्ने केही पनि छैन । कांग्रेसको अधिवेशन निश्चित समयमा गर्न सकिन्छ । त्यसको लागि जस्तो अहिले हामीलाई पालिका नेतृत्व चाहिएको छैन । पालिका र प्रदेश कार्यसमितिको नेतृत्व चयन नगर्ने हो भने बुथको प्रतिनिधि चयन गर्ने, क्षेत्रीय प्रतिनिधि चयन गर्ने, क्षेत्रीय प्रतिनिधि एकैचोटि क्षेत्रीय कार्यसमिति र जिल्लाको निर्वाचन गर्ने र केन्द्रको निर्वाचन गर्‍यो भने सम्भव छ । किनकि कांग्रेसमा सात तहको निर्वाचन हुन्छ । त्यो सात तहलाई तीनदेखि चार तहको मात्रै गर्‍यो भने केन्द्रीय केन्द्रीय नेतृत्वको चयनका लागि विधि र प्रक्रिया सजिलो र छोटो हुन्छ ।

सरसर्ती हेर्दा संस्थापन पक्ष अहिले पनि बहुमतमै छ, त्यसले गर्दा नियमितको प्रस्ताव पारित हुने सम्भावना त कम देख्नुहुन्न ?
म तपाईंलाई ०८० फागुन भएको महासमितिको बैठकमा लिएर जान चाहन्छु । महामन्त्री गगन थापा अल्पमतमा हुनुहुन्थ्यो । महामन्त्री संस्थापन त हुन्छ । तर अंकगणितमा अल्पमतमा हुनुहुन्छ । उहाँले निर्वाचनअगाडि कांग्रेसले गठबन्धन गर्दैन । कांग्रेसको कार्यकर्ताको, शुभेच्छुकको, मतदाताको रुख चिह्नमा भोट हाल्ने नैसर्गिक अधिकार हो भन्ने प्रस्ताव उहाँले भोटिङमा लान्छु भनेर भन्नुभयो नि त । म एक्लै भए पनि भोट हाल्छु भन्नुभयो नि त । त्यो बेला सभापति शेरबहादुर देउवासहित सबैले ‘सरेन्डर’ गरेको होइन र ।  अहिले पनि महामन्त्री गगन थापाको प्रस्ताव कांग्रेसका ५५ प्रतिशत हस्ताक्षरकर्ता र राष्ट्रिय निर्वाचन पछाडि अधिवेशन गर्नुपर्छ भन्नेहरू बीचको मिलनबीचको रूपमा आएको छ । गगन थापाले उक्साएर विशेष अधिवेशन गर्न हस्ताक्षर गर्न लगाएको भए उहाँले विशेष अधिवेशन नै गर्नुपर्छ । हामीले नियमित अधिवेशनबारे छलफल गर्नै हुँदैन भनेर भन्नुहुन्थ्यो होला नि त । उहाँले त भन्नुभएको छैन । उहाँले १२ दर्जन व्यक्तिहरू बसेको समितिले निर्णय गर्न सक्दैन कांग्रेसको सबभन्दा सर्वोच्च कार्यकारी निकाय महाधिवेशनका बहुसंख्यक साथीहरूले बोलिसके जनताहरूले बोलिसकेका छन्, जेनजी आन्दोलन बोलिसकेको छ । त्यही भएर हामीले नयाँ नेतृत्व लिएर कांग्रेस बदलिएको छ, सच्चिएको छ भन्ने सन्देश दिएर आमजनतामा जानुपर्ने भन्ने मत राख्नुभएको छ । त्यही भएर महामन्त्रीले त्यो प्रस्ताव प्रस्ताव पेस गर्नुभएको हो र त्यही प्रस्तावउपर नै छलफल भएर पार्टीले एकमत सहीत सर्वसम्मत निर्णय गर्नेछ । 

भनेको पुसको त्यो मिति तल–माथि हुन सक्छ हैन त ? 
मैले बुझेको के हो भन्दाखेरि नेपाली कांग्रेस पार्टीले खास जनमत बुझ्थ्यो, तत्काल प्रतिक्रिया जनाउँथ्यो भने कांग्रेसको निर्वाचन आयोगमा दल दर्ता हुने अन्तिम मिति मंसिर १० भित्रै नयाँ नेतृत्व चयन गरिसक्नुपथ्र्यो । तर कांग्रेस एउटा बुढो पार्टी छ, पुरानो पार्टी छ, त्यहाँ विभिन्न संगठक तत्वहरू छन् ती सबै त्यहाँ बहसको प्रक्रियाले लामो समय लिन्छ । त्यसको कारणले कांग्रेसले निर्णय गर्न ढिला गरेको केही दुई–चार दिन तल–माथि होला, तर राष्ट्रिय आमनिर्वाचन भन्दा दुई–महिना अगाडि नै कांग्रेसले आफ्नो नयाँ नेतृत्व लिएर जान्छ ।  

मानौँ वैशाखको जुन प्रस्ताव छ, त्यसलाई व्यक्तिगत नै भनिए पनि त्यो पक्ष हाबी भएर महाधिवेशन चुनाव पछाडि महाधिवेशन भनियो भने त्यसपछिको कांग्रेस कस्तो बन्ला ?

मैले कांग्रेसले त्यो निर्णय गर्छ भन्ने सोचेको छैन । कांग्रेसले त्यो निर्णय गर्‍यो भने कांग्रेसको हालत ०४८ सालको राप्रपाको जस्तो अथवा त्यो सात साल क्रान्तिपछि प्रजा परिषद्को हालत हुन्छ ।

तपाईंको पछिल्लो आर्टिकलमा ‘चेकमेट’ भन्ने शब्द प्रयोग गर्नुभएको छ, साँच्चिकै गगन चेकमेट नै हो पार्टीका लागि ?
यस्तो छ, जस्तो पहिला–पहिला पार्टीहरूमा रिटायरिङ एजको मानिसहरू र रिटायरमेंट लिएको नेताहरूले कन्साइन्स स्पिकिङ गर्छन् । अन्तरमनको आवाज बोल्छन् । त्यो अन्तरमनको आवाज बहुमत अल्पमतभन्दा माथि हुन्छ । त्यसले कार्यकर्ताको भावना र सिँगो देशको मनोदशालाई प्रतिनिधित्व गरेको हुन्छ । कांग्रेसको रिटायरिङ अवस्थामा पुगेको सात भाइहरूले बोल्नुपर्ने आवाज हो त्यो । तर त्यो सात भाइको आवाज नबुझेको भएर नबोलेको भएर कोही न कसैले त बोल्नैपथ्र्यो किनकि त्यो जीवन्त गतिशील पार्टी हो । इतिहास गतिशील हतियार हो । महामन्त्री गगन थापाले त्यो कुरा अभिव्यक्त गरेको हो र पार्टीमा त्यो प्रस्ताव राखेको हो र अहिले प्रस्ताव वरिपरि त पार्टी अलमलियो नि त । कोलोराइजेसन भयो नि त । र ठिकको लागि कोलोराइजेसन भएको छ । पार्टी बदलिनुपर्छ भनेर भनिएको छ । बहुमतले खराब चिजलाई पेलेर लागू गर्न पाउँदैन, किनकि त्योभन्दा माथिको निकायको बहुमतले अर्को कुरा बोलिरहेको छ । त्यसकारण पार्टीमा कसैले त्यो कुरा मुखरित गर्नुपर्ने थियो, संयोगले महामन्त्री मुखरित गर्नुभयो त्यति हो ।

तर चेसको नियममा कहिलेकाहीँ चेक दिँदादिँदै पनि ब्याक हुनुपर्ने कन्डिसन हुन्छ नि ?

महासमितिमा उहाँले जित्नुभएको थियो, अहिले पनि जित्नुहुन्छ, किनकि उहाँले कार्यकर्ताको र जनताको मनोभावना बोल्नुभएको छ । 

महासमितिमा भएको त्यतिबेलाको डकुमेन्ट अहिलेसम्म सार्वजनिक गर्न सक्दैन कांग्रेसले कसरी जितेको भन्ने ?
हैन, महासमितिको मोटामोटी कुरा कांग्रेस पार्टीले चुनावभन्दा अगाडि गठबन्धन गर्दैन भन्ने नै थियो । त्यो कुरा पारित भयो ‘इट्स अ पब्लिक रेकर्ड’ कांग्रेस गठबन्धन गरेर जाँदैन । त्यो कागज केही प्राविधिक कारणले अलमलिएको होला, कागजभन्दा पनि त्यसले के सन्देश दियो महत्वपूर्ण हो ।

अब अहिले के भन्छन् भने गगन अलि बढी हतारिए उनीसँग एजको पनि बार छ ?
गगन थापा आजको मितिमा कांग्रेसको सभापति नभए पनि, देशको प्रधानमन्त्री नभए पनि गगन थापाको नेपाल राजनीतिलाई यथेष्ट योगदान भइसकेको छ । अनि कन्साइन्स सिपिङ गरेर मात्र पुग्छ भने पद धारण गरेर, गणेशमान सिंह पार्टी सभापति भएर प्रधानमन्त्री नभएर उहाँको नाम भएको होइन नि । गगन थापाको अवस्था त्यो छ । गगन थापाले पदलाई गौण मान्नुभएको छ । उहाँ नेवि संघको अध्यक्ष पोखरामा बन्न नपाएपछि चितवनमा गएर उहाँको कारणले अधिवेशन रोकिने भयो । नेविसंघका कार्यकर्ताको अपमान हुन्छ भनेर मेरो कारण रोकिन्छ भने म उठ्दिनँ भनेर उहाँले प्रदीप पौडेललाई प्रस्तावित गरेर जिताएर ल्याएको हो कि होइन ? त्यसकारण अहिले पनि गगन थापा व्यक्तिगत रूपमा पार्टी कार्यसमितिमा सबभन्दा कम्फर्टेबल अवस्थामा हुनुहुन्छ किनभने उहाँ महामन्त्री हुनुहुन्छ । पूर्णबहादुर खड्कालाई घुक्र्याएर धम्क्याएर उहाँले टिकट पनि लिन सक्नुहुन्छ, बहुसंख्यक । तर, जनतामा नयाँ म्यान्डेट नलिईकन नयाँ नेता लिएर नगईकन कांग्रेस सुध्रेको छ । हामीबाट गल्ती भएको थियो । हामी बदलेका छौँ भनेर जनताले विश्वस्त गर्ने गरी आश्वस्त नगरीकन कांग्रेस चुनावमा जानु भनेको दुर्घटना हुन्छ । कांग्रेसलाई जनताले भोट दिँदैनन् । त्यही भएर नयाँ नेतृत्व ल्याएर हामी बदलेका छौँ । म यो पुरानो गल्ती पुनरावृत्ति गर्दिनँ । मेरो अगाडिको ‘ब्लुप्रिन्ट’ यो हो, ‘रोड म्याप’ यो हो भनेर भनेपछि भोट अलिक धेरै दिन्छन्, बढ्छ र प्रथम दल हुने सम्भावना पनि छ । जेनजीका आन्दोलनलाई संस्थागत गर्न सक्छौँ भन्ने ल्याकत कांग्रेसले राख्छ । त्यसका लागि गगन थापाले यो दबाब बढाएको हो ।

अब कांग्रेसकै केही नेताहरू त संसद् पुनःस्थापना गर्ने हो चुनाव हैन भन्छन् त ?
यो अल्पसंख्यकको आवाज हो । कांग्रेसभित्र प्रस्ट मुखरित भएको आवाज हैन । त्यो संसद्ले थप मुडभेड निम्त्याउँछ । संसद् पुनस्र्थापना  तत्काल भइहाल्छ भनेर मलाई लाग्दैन ।