काठमाडौं । दुबई एयर शोमा प्रदर्शनका लागि उडाइएको भारतीय स्वदेशी लडाकु विमान ‘तेजस’ शुक्रबार डेमो फ्लाइटका क्रममा दुर्घटनाग्रस्त भएको छ। दुर्घटनाको वास्तविक क्षण कैद भएको भिडियो सार्वजनिक भएपछि घटना विश्वभर चर्चाको विषय बनेको छ।

भारतीय वायुसेनाका पाइलटद्वारा उडान गरिएको ‘तेजस’ एरियल डिस्प्ले प्रदर्शनकै बीचमा अचानक तीव्र नोजडाइभ (सिधै तलतर्फ गोता) लिँदै जमिनमा ठोक्किएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

ad

दुर्घटनापछि भारतीय वायुसेनाले पाइलटको मृत्यु भएको पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

स्थानीय समय अनुसार दिउँसो करिब १ बजे तिर घटना भएको प्रारम्भिक रिपोर्टले जनाएका छन्। वास्तविक डिस्प्ले हेर्न उपस्थित ठूलो संख्यामा दर्शक भएको र जहाज भुइँमा खस्नेबित्तिकै आगो र धुवाँ बढेको दृश्य भिडियोमा देखिन्छ।

दुबई एयर शो आयोजक र भारतीय वायुसेनाले दुर्घटनाको कारणबारे छानबिन सुरु गरेका छन्।