काठमाडौं । आगामी फागुन २१ गते घोषणा गरिएको निर्वाचनको लागि प्रतिनिधि सभा प्रत्यक्ष÷समानुपातिक र माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको लागि गत मंसिर २३ गते क्षेत्रीय समितिहरू र अस्ति शुक्रबार २६ गते जिल्ला समितिहरूले गर्नुपर्ने उम्मेदवार सिफारिसमा अधिकांश क्षेत्र र जिल्लाले केन्द्रीय परिपत्रविपरीत आकांक्षी सबैको नाम सिफारिस गरेको विभिन्न जिल्लाबाट संवाददाताहरूले जनाएका छन् ।

तर, पार्टी सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र वरिष्ठ नेता डा. शेखर कोइरालालगायत नेताहरूको नाम आगामी चुनावको लागि सर्वसम्मत रूपमा सिफारिस भएको बुझिएको छ । महामन्त्री गगन थापाको नाम उनको साविक निर्वाचन क्षेत्र काठमाडौं ४ बाहेक अन्य क्षेत्रहरूबाट पनि सिफारिस भएको छ । कांग्रेसमा आगामी चुनावलाई लिएर धेरै नेताहरूको नाम सर्वसम्मत केहीको धेरै क्षेत्रबाट, केही पूर्वमन्त्री एवं सांसदले नयाँ पुस्ताको लागि संसदीय चुनाव नलड्ने घोषणा र छिटपुटको क्षेत्रबाट सिफारिस नै नभएको जानकारी आएको छ ।

ad

एकल सिफारिसमा कोको ?

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले देशका विभिन्न जिल्लाबाट उम्मेदवारको नाम सिफारिस गर्न सुरु गरेको छ । जिल्ला तथा क्षेत्रीय समितिको बैठकले प्रत्यक्षतर्फ, समानुपातिक तथा राष्ट्रियसभा उम्मेदवारसमेत सिफारिस गरी पार्टीको माथिल्लो निकायमा पठाइरहेको छ । प्रत्यक्षतर्फ एकल सिफारिसमा परेका प्रमुख नेताहरूको नामावली ः

शेरबहादुर देउवा: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आफ्नै गृह जिल्ला डडेल्धुरा बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवारका लागि एकल सिफारिस गरिएको छ । 

पूर्णबहादुर खड्का: प्रतिनिधिसभाको उम्मेदवारका लागि नेपाली कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काको एकल नाम सुर्खेत क्षेत्र–१  बाट सिफारिस गरिएको छ ।

२१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि क्षेत्रीय कार्यसमिति बैठकले खड्काको नाम सर्वसम्मत सिफारिस गरेको हो । खड्का गत निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

गगनकुमार थापा: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको नाम काठमाडौं–४ बाट प्रत्यक्षतर्फ एकल सिफारिस भएको छ । यो सिफारिस क्षेत्रीय कार्यसमितिले सर्वसम्मत रूपमा गरेको हो । महामन्त्री थापा काठमाडौं–४ बाहेक सर्लाही–४, रोल्पा र धनकुटाबाट पनि प्रतिनिधिसभा सदस्यका लागि सिफारिसमा परेका छन् । यसरी उनी सबैभन्दा धेरै ठाउँबाट सिफारिस हुने नेता बनेका छन् ।

विश्वप्रकाश शर्मा: झापा–१ क्षेत्रबाट पार्टीका महामन्त्री विश्वप्रकाश शर्माको नाम प्रत्यक्षतर्फ एकल सिफारिस भएको छ । 

देवेन्द्रराज कँडेल: पश्चिम नवलपरासी–२ बाट पूर्वराज्यमन्त्री देवेन्द्रराज कँडेलको नाम प्रत्यक्षतर्फ एकल सिफारिस गरिएको छ । 

भरतकुमार शाह: रुपन्देही क्षेत्र नं. ५ बाट भरतकुमार शाह को नाम प्रत्यक्ष उम्मेदवारीका लागि एकल सिफारिसमा परेको छ । 

वीरेन्द्रप्रसाद कनौडिया: कपिलवस्तु क्षेत्र नं. ३ बाट वीरेन्द्रप्रसाद कानौडियाको नाम प्रत्यक्षतर्फ एकल सिफारिसमा परेको छ । 

सन्दीप राना: पाल्पा क्षेत्र नं. १ बाट सन्दीप रानाको नाम प्रत्यक्षतर्फ एकल सिफारिसमा परेको छ ।

विमलेन्द्र निधि: धनुषा क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसले विमलेन्द्र निधिको नाम प्रत्यक्षतर्फ एकल सिफारिसमा पारेको छ ।

धनुषाको क्षेत्रीय कमिटीले निधिलाई सर्वसम्मत रूपमा उम्मेदवारीका लागि सिफारिस गरेको हो । 

डा. प्रकाशशरण महत: कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतको नाम क्षेत्रीय कार्यसमितिले एकल सिफारिस गर्ने निर्णय गरेको छ । उनले प्रतिनिधिसभा सदस्यतर्फ नुवाकोट–१ बाट उम्मेदवारी दिने इच्छा व्यक्त गरेका थिए । 

उनको नाम काठमाडौं–५ बाट पनि सिफारिस सूचीमा परेको समाचारमा आएको छ । उक्त क्षेत्रबाट यसअघिको निर्वाचनमा केन्द्रीय सदस्य प्रदीप पौडेल निर्वाचित भएका थिए । उनी पुनः सो क्षेत्रबाट सिफारिसमा परेका छन् ।

यी नेता उम्मेदवारीबाट पछि हटे 

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसभित्र उम्मेदवारीको दौड चलिरहेका बेला केही नेताले भने प्रत्यक्ष निर्वाचनबाट पछि हट्ने निर्णय गरेका छन् । जिल्ला तथा क्षेत्रीय तहमा आकांक्षा देखाएका, कतिपयले औपचारिक रूपमा दाबीसमेत गरेका नेताहरूले पार्टी एकता, आन्तरिक सहमति र रणनीतिक कारण देखाउँदै उम्मेदवारी नदिने घोषणा गरेका हुन् ।

बद्री पाण्डे: नेपाली कांग्रेसका सह–महामन्त्री बद्री पाण्डेले प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी नदिने स्पष्ट घोषणा गरेका छन् । पार्टी स्रोतका अनुसार पाण्डे प्रारम्भमा आकांक्षी देखिए पनि अन्ततः संगठनात्मक भूमिकालाई प्राथमिकता दिँदै पछि हटेका हुन् । यसअघि उनी बाजुराबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । 

राजेन्द्र केसी: कांग्रेसका नेता राजेन्द्र केसीले पनि यसपटक प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी नदिने निर्णय लिएका छन् । यसअघि उनी काठमाडौं क्षेत्र नं. १० बाट तीनपटक निर्वाचित भएका थिए । २०७० सालको निर्वाचनमा तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हराएर उनी चर्चामा आएका थिए । 

जिपछिरिङ लामा: कांग्रेसका नेता जिपछिरिङ लामाले पनि प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन् । उनी यसअघि दोलखा क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए । सम्बन्धित क्षेत्रमा आकांक्षीका रूपमा देखिए पनि पार्टी निर्णय र समग्र राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै पछि हटेका हुन् ।

रामनाथ अधिकारी: नेपाली कांग्रेस धादिङका सभापति तथा पूर्वमन्त्री रामनाथ अधिकारीले पनि आगामी फागुन २१ प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी नदिने निर्णय गरेका छन् ।

धादिङ–२ क्षेत्रको प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्रीय कार्यसमितिको बैठकले सिफारिस प्रक्रिया अघि बढाइरहेका बेला अधिकारीले आफूले चुनावी दौडमा नजाने घोषणा गरेका हुन् । अधिकारीले जेनजी आन्दोलनको भावनाको सम्मान गर्दै पार्टीभित्र पुस्तान्तरणको ढोका खुला गर्नुको महत्व औँल्याएका छन् । यसमार्फत उनले युवा नेताहरूलाई पार्टी नेतृत्व र निर्वाचन क्षेत्रमा अवसर प्रदान गर्ने मनसाय व्यक्त गरेका छन् । अधिकारी निवर्तमान कृषिमन्त्री पनि हुन् । उनले सरकारमा रहँदा गरेका कामको प्रशंसा भएको थियो । जेनजी आन्दोलनको भावनालाई बुझेर पदबाट राजीनामा दिने उनी पहिलो मन्त्री बनेका थिए । 

चौधरी र साह सिफारिसमै परेनन्

कांग्रेसका केही प्रभावशाली नेता तल्लो निकायबाटै प्रतिनिधिसभा सदस्यको सिफारिसमा परेका छैनन् । यो सूचीमा उद्योगपति विनोदकुमार चौधरीको नाम अग्रपंक्तिमा छ । २०७९ मा नेपाली कांग्रेसका तर्फबाट उनी नवलपरासी पश्चिम निर्वाचन क्षेत्र नं १ बाट जनता प्रगतिशली पार्टी, नेपालका उम्मेदवार हृदयेश त्रिपाठीलाई हराउँदै प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । उक्त चुनावमा कांग्रेसको क्षेत्रीय समितिले नसाउँदा पनि विजयी भएका चौधरीलाई यसपटक सिफारिस नै नगर्नुलाई राजनीतिक पूर्वाग्रहको रूपमा टिप्पणी गरिएको छ । यसैगरी, कपिलवस्तु जिल्लाको राजनीतिमा प्रभाव राख्ने अभिषेक प्रताप साह पनि सिफारिसमा परेनन् । २०७९ सालको निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका अभिषेकप्रताप साह यसपटक भने सिफारिसमा नै नअटाउँदा अरु २ वटा क्षेत्रमा पनि त्यसको विवाद भएको जनाइएको छ ।