काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारमा चारजना मन्त्री थपिएका छन्। नयाँ मन्त्रीमा श्रद्धा श्रेष्ठ, कुमार इङ्नाम, राजेन्द्रसिंह भण्डारी र माधव चौलागाईं छन्। 

उनीहरूले क्रमशः महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी  पाएका छन्। उनीहरू चारैजनाले शुक्रबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।

ad

यस विस्तारसँगै मन्त्रिपरिषद् १४ सदस्यीय भएको छ। पछिल्लो पटक कात्तिक ९ गते पुनर्गठन गरेर १० सदस्यीय बनाइएको थियो। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए।

त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भएको थियो। फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्य निर्वाचन गराउने जिम्मेवारी पाएको सरकारले मन्त्रीको संख्या थप गर्न थालेपछि आलोचना हुन थालेको छ।