अन्तर्राष्ट्रिय बजारमा भारतीय रुपैयाँ (भारू) शुक्रबार प्रतिडलर ९०.३७ मा कारोबार भइरहेको छ । केही समयमै यो दर ९०.८६ पुगेर इतिहासकै कमजोर बिन्दुमा पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

अमेरिकी व्यापार करबारे भारत–अमेरिकाबीच दुई दिनयता भइरहेको वार्ताले ठोस परिणाम नदिँदा विदेशी लगानी बाहिरिने क्रम चालु छ, जसले भारू थप कमजोर बनाएको विश्लेषकहरूको बुझाइ छ ।

ad

भारू गिरावटसँगै ३२ वर्षदेखि स्थिर राखिएको नेपाल–भारत सटही दरले नेपालमा प्रत्यक्ष प्रभाव पार्न थालेको छ । सन् १९९३ यताकै स्थिर दर अनुसार १ भारतीय रुपैयाँ बराबर १.६० नेपाली रुपैयाँ कायम रहेकै बेला डलरसँग नेपाली रुपैयाँ तीव्र रूपमा अवमूल्यन भइरहेको छ ।

मंसिर १६, २०८१ मा १ डलर खरीद गर्न १३५.४८ रुपैयाँ आवश्यक थियो भने अहिले सोही डलर किन्न १४४.९० रुपैयाँ तिर्नुपर्छ । पछिल्लो एक वर्षमै नेपाली मुद्रा ६.९५ प्रतिशत कमजोर भएको राष्ट्र बैंकका तथ्यांकले देखाउँछ ।

डलर महँगिँदा परदेशबाट आउने रेमिटेन्स आम रूपमा बढ्ने गर्छ । यही कारण अहिले देशको विदेशी मुद्रा सञ्चिति २९ खर्ब ७९ अर्ब रुपैयाँ पुगेर १६ महिनाभन्दा बढीको आयात धान्न सक्ने अवस्थामा छ । तर आयात महँगिँदै जाँदा बजारमा मूल्यवृद्धि बढ्ने, नागरिकको वास्तविक क्रय–क्षमता घट्ने तथा अर्थतन्त्रमा अतिरिक्त दवाब सिर्जना हुने विज्ञहरूको चेतावनी छ ।

अर्थमन्त्री रामेश्वर खनाल अध्यक्ष रहेको आर्थिक सुधार सुझाव आयोगले समेत मुद्रा अवमूल्यनको भार बैंकिङ ब्याजदरमार्फत अर्थतन्त्रमा गहिरो असर पारेको उल्लेख गरेको छ । डलर–भारू उतारचढावले नेपालमा ब्याजदर अस्थिर बनाउँदै लगानी वातावरण कमजोर बनाइरहेको प्रतिवेदनको निष्कर्ष छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. रामशरण खरेलका अनुसार आयोगले विनिमय दर ‘बदल्नैपर्ने’ सुझाव दिएको होइन, ‘पुनमूल्यांकन आवश्यक छ कि छैन’ भन्ने मात्र संकेत गरेको हो ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) को हालैको आर्टिकल–४ रिपोर्टले पनि भारूसँग स्थिर सटही दरका कारण नेपालमा प्रभावकारी विनिमय दरमा ठूलो असन्तुलन नआएको उल्लेख गरेको छ ।

आर्थिक सिद्धान्त अनुसार- आयात–प्रधान अर्थतन्त्रमा मूल्यवृद्धि अत्यधिक बढे, विदेशी मुद्रा सञ्चिति अत्यधिक घटे, राष्ट्रिय मुद्रा अत्यधिक अधिमूल्यन भयो भनेर प्रमाणित भए  भने मात्र स्थिर विनिमय प्रणाली छोडेर लचिलो दरतर्फ जाने औचित्य रहन्छ ।

 भारतबाट हुने आयातको ठूलो निर्भरता, राजनीतिक अस्थिरता, चालु खाता पूर्ण ‘कनभर्टिबल’ नहुनुजस्ता कारणले अहिले नै स्थिर विनिमय दर तोड्ने अवस्था नपुगेको राष्ट्र बैंकको निष्कर्ष छ ।

भारू निरन्तर कमजोर बन्दै जाँदा नेपाली रूपैयाँमा पर्न थालेको असर र दीर्घकालीन सटही नीतिमा बहस भने तीव्र बन्दै जाने अनुमान छ ।