
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वमन्त्री देवप्रसाद गुरुङले मुलुकमा कम्युनिस्ट शक्तिहरुको एकता बाहेक विकल्प नभएको बताएका छन्।
शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित पार्टीको ११औँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै गुरुङले मुलुकलाई संकटबाट निकास दिन सबै कम्युनिस्ट शक्तिबीचको एकता अनिवार्य भएको उल्लेख गरे।
उनले मुलुकको राष्ट्रियता संकटमा परेको औंल्याउँदै, त्यसबाट पार लगाउन कम्युनिस्टहरुबीच बृहत्तर एकता र लोकतान्त्रिक देशभक्त शक्तिहरुसँग सहकार्य आवश्यक भएको बताए। गुरुङले भने, ‘फेरि पनि कम्युनिस्टहरुको एकीकरणको विकल्प छैन। वामपन्थीहरुको एकताको विकल्प छैन। सबै लोकतान्त्रिक र देशभक्त राष्ट्रवादी शक्तिसँग सहकार्य गर्दै लोकतन्त्र, राष्ट्रियता र आर्थिक(सामाजिक रुपान्तरणको विकल्प छैन। त्यसकारण सबै शक्तिहरुको बीचका सहकार्यका लागि कम्युनिस्टहरुको एकीकरण अनिवार्य सर्त हो।’
गुरुङले नेपाली कम्युनिस्ट पार्टीले समाजवादको आधार निर्माणका लागि सबै कम्युनिस्ट शक्तिसँग एकताको अभियान सञ्चालन गरिरहेको र एमाले महाधिवेशनले पनि सोही प्रस्ताव पारित गरेर अघि बढ्ने विश्वास व्यक्त गरे। उनले थपे, ‘यही सन्दर्भमा यहाँको महाधिवेशनबाट भावी कम्युनिस्ट पार्टीको एकीकरणका लागि महत्त्वपूर्ण निर्णय लिन सकिन्छ भन्ने विश्वास लिएको छु।’
नेता गुरुङले मार्कसवादलेनिनवादको मार्गनिर्देशनको आधारमा नेपालका कम्युनिस्ट पार्टीहरुबीच एकीकरण गरेर अघि बढ्न सकिने धारणासमेत राखेका छन्।









Facebook Comments