जेनजी आन्दोलनपछि बसेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले लामो रस्साकस्सीपछि आगामी फागुन २१ मा हुने निर्वाचनमा भाग लिने निर्णय गरेको  छ । शनिबारको बैठकले निर्वाचमा भाग लिने निर्णय गरे पनि महाधिवेशनका सन्दर्भमा केही निर्णय गरेको छैन । अब आगामी बैठक मंसिर ११ गतेका लागि बोलाइएको छ । यसै सन्दर्भमा देशान्तरका लागि कांग्रेस केन्द्रीय सदस्यअर्जुनप्रसाद जोशीसँग मुक्तिबाबु रेग्मीले गरेको कुराकानीको सम्पादित अंश : 

नेपाली कांग्रेसमा के भइरहेको छ ? जारी विवाद कसरी समाधानमा पुग्छ ?
नेपाली कांग्रेसको अवस्था एकदम ठिक छ । अहिले हामी नेपाली कांग्रेसको संगठत सुदृढीकरण र अधिवेशनतिरै ध्यान केन्द्रित गरेका छौँ । खासगरी भदौ २३–२४ गते यो जेनजी विद्रोह भएपछि देशमा अहिले नयाँ परिस्थितिको सिर्जना भएको छ । हामीले परम्परागत रूपमा सोच्दै आएको, बुझ्दै आएको भन्दा भिन्न ढंगले युवाहरूको चाहना र अपेक्षा रहेछ भन्ने कुरो हामीले त्यो आन्दोलनबाट बुझ्यौँ । भलै त्यो आन्दोलनमा विध्वंसात्मक गतिविधि पनि भए, त्यसमा घुसपैठ भए भने, अराजक र देशद्रोही तत्वहरूको पनि भूमिका रह्यो । तर पनि २३ गतेको सुरुवाती अवस्थामा जेनजी युवा समूहले मुख्य रूपमा दुइटा कुराहरूः भ्रष्टाचारको नियन्त्रण र अन्त्य, सुशासनको माग राखेको थियो । ती युवाहरूको मागलाई हामीले बुझ्न जरुरी छ । हामीले परम्परागत रूपमा बुझ्दै आएको भन्दा समाजमा फरक ढंगले सुशासन भएन भ्रष्टाचार अत्यधिक बढ्यो त्यसको मारले जनताहरू पीडित छन् असन्तुष्टि बढेको छ भन्ने कुराहरू हामीले नबुझेका थियौँ २३ गतेको घटनाले हामीलाई बुझाएको छ । त्यसैले हामीले पनि हाम्रो पार्टीलाई त्यही ढंगले रूपान्तरित गरेर नयाँ युवा पुस्ताहरू नयाँ युवाहरूको चाहना भावना अपेक्षाअनुसार आफ्नो पार्टीलाई कसरी रूपान्तरण गर्ने भन्ने नै मूल रूपमा हाम्रो अहिले पार्टी केन्द्रित रहेको छ । 

ad

भदौ २१–२२ सम्म शेरबहादुर देउवा ठिक, तर २३ र २४ को आन्दोलन पछाडि अब शेरबहादुरको विकल्प खोज्नुपर्छ भन्ने तर्क जायज छ ?
शेरबहादुर देउवा हिजो पनि ठिक आज पनि ठिक । शेरबहादुर  बेठिक  भन्ने कुराहरू अहिले आएको पनि छैन । तर शेरबहादुर देउवाको विकल्प अरूले खोजेको हैन कि, उहाँ आफैँले बारम्बार भनिरहेको अवस्था हो । ‘म अब  यो पार्टीको नेतृत्व गर्दिनँ म रिटायरमेन्ट लिन्छु । म नेतृत्व सुम्पन्छु भनेर उहाँ आफैँले भनिरहेको विषय हो ।’ यो एउटा कुरा भयो । अर्को कुरो हाम्रो पार्टीको विधानले नै दुईपटकभन्दा तीनपटक सभापति हुन मिल्दैन, विधानले पनि दिँदैन । त्यसैले उहाँको विकल्प खोजिएको होइन कि हामीले त उहाँले छोड्दै हुनुभएकाले राम्रो विकल्प हामीले खोज्नुपर्ने बाध्यात्मक अवस्था हो । त्यसैले अहिले उहाँले जेजति बुझ्नुभयो, जेजस्थो परिस्थिति थियो, त्यही ढंगले उहाँले काम गर्नुभएको थियो । तर हामीले गरेको कामकुरो आमयुवाहरूले मनपराएका रहेनछन् भन्ने उहाँले पनि बुझ्नुभयो । हामीले पनि बुझ्यौँ सबैले बुझ्यौँ । त्यसैले त उहाँले पार्टीको असोज २८ गतेको बैठकमा भन्नुभयो ।  
जेएनजीहरूबाट व्यक्तिगत रूपमा सबभन्दा बढी क्षति पुगेको प्रताडित मान्छे हाम्रो पार्टी सभापति आदरणीय शेरबहादुर देउवा हो । तर उहाँले नै जेएनजीको भावनालाई सम्बोधन गरौँ भनेर भन्नुभएको छ । त्यसैले उहाँको विकल्प खोज्ने उहाँ २२ गतेसम्म ठिक २२ गते पछि बेठिक भन्ने होइन । उहाँले हिजोको दिनमा पार्टीेका लागि जे गर्नुभएको थियो त्यो राम्रो गर्नुभएको थियो र छ । उहाँको पालामा त हो नि उहाँले नै गराएको चुनावमा हामी सबैतिर ठूलो पार्टी छौँ । 
नियमित प्रक्रियाअनुसार नै उहाँले छोड्न चाहनुभएको थियो, विधानले पनि उहाँ फेरि बन्न मिल्दैन । कार्यबाहकको जिम्मेवारी दिँदा उहाँले के जोड्नुभएको छ भने अब नयाँ पुस्ताको भावनालाई सम्बोधन हुने गरी तपाईंहरू पनि रूपान्तरित हुनुस् । सोच, कार्यशैली, दृष्टिकोणमा पनि बदलाव ल्याउनुहोस् र युवाका भावनालाई सम्बोधन हुनेगरी मिलेर अगाडि बढ्नुहोस् भन्नुभएको हो । उहाँले राष्ट्रिय राजनीतिलाई कांग्रेसले जसरी नेतृत्व गरिरहेको थियो, सबैलाई पनि वार्तामा बोलाएर जेनजीसँग पनि छलफल गरेर नयाँ परिवर्तित अवस्थालाई नयाँ रूपान्तरणको परिस्थितिलाई पनि कांग्रेस नेतृत्व गर्नुपर्छ भनेको अवस्था हो । त्यसैले तपाईंले भनेजस्तो बाँकी दिनमा उहाँ ठीक त्यसपछि बेठीक भन्ने होइन । 

तर अहिले पनि नेपाली कांग्रेस शेरबहादुर देउवाकै वरिपरि छ, तपाईंहरू उहाँकै मान्छे, असोज २८ गते सुरु भएको बैठक अझै पनि सकिएको छैन, किन गन्जागोलमा पर्नुभयो ?
तपाईंले ठिक ठाउँमा प्रश्न गर्नुभयो । हामी २२ गतेभन्दा अगाडिको परिस्थितिमा हुन्थ्यौँ भने अलम लिनु अत्यन्त बेठिक हुन्थ्यो । विनाकारणमा आफ्नो नियमित काम नगरीकन बैठक लम्ब्ल्याउनु भनेको सामान्य अवस्थामा ठिकै पनि हुन्थ्यो होला । तर अहिले असामान्य र विशेष परिस्थितिमा छौँ । हाम्रो पार्टी स्थापना भएको आज ८० वर्ष पुगिसकेको छ, त्यो ८० वर्षसम्म हामी जे गर्दै आयौँ जे सोच राख्दै आयौँ अब भिन्न ढंगले सोच्नु पर्ने अवस्था २४ गतेको घटनाले आएको छ । भिन्न ढंगको चाहना अपेक्षा समाजमा व्यक्त भएका छन् । त्यसैले काम गर्ने शैलीमा सबैले रूपान्तरण गर्न जरुरी छ । नयाँ परिस्थितिमा नयाँ भावना, नयाँ माग, नयाँ चाहनालाई सम्बोधन गर्ने गरी आफूलाई पनि रूपान्तरण गर्नका लागि हामीमा गहन छलफल हुनुपर्‍यो । सामान्य अवस्थाको जस्तो होइन । अब नेपाली कांग्रेसले गर्ने निर्णय केवल एक वर्ष, दुई वर्षका लागि होइन कि ८० वर्षसम्म नेपालको राजनीतिक केन्द्रमा रहेको नेपाली कांग्रेस फेरि अर्को ८० वर्षसम्म केन्द्रमा रहनेगरी सबै परिवर्तनको नेतृत्व पनि कांग्रेसले गर्नुपर्ने भएका कारणले यो गहन जिम्मेवारी हाम्रो काँधमा छ । यसमा छलफल, वादविवाद, पक्षविपक्ष सबै भएका छौँ । सँगसँगै अहिले एउटा जोडिएको विषय के पनि छ भने नेपाली कांग्रेसभित्र करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग राख्नुभएको छ । अब त्यो भावनालाई पनि सम्बोधन गर्नु छ । हामी संस्थापनकै मान्छे हौँ, त्यसैले जिम्मेवार भएर यसलाई समाधान गर्नुपर्छ भनेर नै मध्यमार्गी बाटो अवलम्बन गरेका छौँ । त्यसमा २४ जनाले पार्टीमा पत्र दर्ता गरेका छौँ भने यो संख्या अहिले बढ्दै ३० सम्म पुगेको छ ।  यसैगरी सरकारले फागुन २१ गते चुनाव घोषणा गरेको छ । त्यसले गर्दा हाम्रो अधिवेशन चुनाव अघि गर्ने कि चुनाव पछि गर्ने भन्ने पनि छ । त्यसले गर्दा पनि बैठक अलि लम्बिएको हो । 

तपाईंहरूलाई के आरोप छ भने संस्थापनबाट फाइदा लिनुसम्म लिनुभयो, अहिले संस्थापनलाई अप्ठ्यारो परेको बेला विद्रोह गर्नुभयो, हो ? 
होइन त्यो बिल्कुलै गलत हो । अहिले अभियान सुरु गरेकालाई भन्नुहुन्छ भने हामी सबैभन्दा कम फाइदा लिनेमा पर्छौं । हामी संस्थापन समूहमै छौँ । हामीभन्दा अरूले नै धेरै फाइदा लिनेहरू हुनुहुन्छ । हामी जुन ३० जनाको समूह छ, त्यसमा नपाएर हामीले विद्रोह गरेको होइन । अर्कोतिर पाएर ठाउँ छोड्या पनि होइन । पार्टीलाई ठिक ठाउँमा ल्याउनका लागि अभियान सुरु गरेका हौँ । कांग्रेसलाई सबैको मध्यमार्गी धारबाट लगौँ, ध्रुवीकरण नगरौँ भनेर लागेका हौँ । अब महाधिवेशन, विशेष महाधिवेशन हुनेतिर गयो भने पनि त्यसले नयाँ ध्रुव पनि ल्याउँछ । हाम्रो मंसिरमा कार्यकाल सकिन्छ । त्यसपछि पनि फेरि म्याद थपेर अनन्तकालसम्म बढाउने हो भने पनि यसले राम्रो गर्दैन । केन्द्रीय समितिको बैठकमा पनि सबैले अधिवेशन समयमा हुनुपर्छ, नियमित हुनुपर्छ, नियमित अधिवेशन हुनुपर्छ भनेर भन्नुभएको छ । खालि नियमित अधिवेशन कहिले हो भन्ने कुरामा मात्रै मितिहरू फरक–फरक परेका हुन् । मध्यमार्गी बाटो हामीले देखाएका छौँ । त्यो मध्यमार्गी बाटो दुवै पक्षको मिलनविन्दु हो भन्ने हामीलाई लागेको छ ।  

कम्युनिस्टहरूले महाधिवेशन तोकेर तयारी अगाडि बढाइसक्ने, लोकतान्त्रिक भन्ने नेपाली कांग्रेसमा चाहिँ किन फेरि चुनावपछि महाधिवेशन गर्नुपर्छ भनेर तपाईंका नेता बोल्छन् ?
हो, ठिक हो तपाईंले फेरि अर्को ठिक प्रश्न गर्नुभयो । त्यसैले हामी भन्दै छौँ, अब हामीले अलमल गर्न हुँदैन । अलमल गर्न हुँदैन भन्नुको कारण त्यही २३ गतेले जुन सन्देश दियो । त्यो सन्देशलाई ग्रहण गर्न जरुरी छ, आत्मसात् गर्न जरुरी छ । त्यसअनुरूप चल्नका लागि पनि हामीले आफ्ना सबै पार्टीका निकायलाई चुस्त–दुरुस्त राख्नुपर्‍यो । पार्टीका निकाय चुस्त–दुरुस्त राख्ने भनेकै अधिवेशनले हो-वडादेखि महाधिवेशनसम्म । यसलाई हामीले वडादेखि महाधिवेशनसम्म सम्पूर्ण रूपमा अधिवेशन गरेर नयाँ सोच, नयाँ दृष्टिकोण, नयाँ नेतृत्वका साथ हामी जाऔँ चुनावमा । त्यसो गर्दाखेरि यो परिवर्तनको जुन चाहना हो, त्यो सम्बोधन हुन्छ । त्यसलाई अगाडि बढाऔँ भन्ने हाम्रो भनाइ हो । अधिवेशन हुँदै जान्छ । चुनाव हुने अथवा विभिन्न परिस्थिति, राष्ट्रिय परिस्थिति यस्तो होला भन्ने कसले सोचेको थियो अहिले ? यदि कुनै त्यस्तो परिस्थिति भएछ भने त्यतिबेला सोचौँला । अहिले हामी कार्यतालिका दिएर जाऔँ । तपाईंले भनेको जस्तै अब हामीले एउटा लोकतान्त्रिक पार्टीले हाम्रो अधिवेशनका लागि धेरै अलमल नगरौँ भन्ने नै हाम्रो भनाइ हो ।  
 
अबको अवस्थामा नेपाली कांग्रेसलाई कस्तो बनाउने ? यस्तै गन्जागोल पारिरहने कि अथवा केही सुधारका कुराहरू गर्नुपर्छ अब १५औँ महाधिवेशनबाट ?
मैले तपाईंलाई अघि पनि भने त, यही स्थितिमा त चल्दै चलेन । हामी यो स्थितिबाट त अस्वीकृत भयौँ । नेपाली कांग्रेस सबैभन्दा ठूलो दल थियो त संघमा । र हामीसँग दोस्रो ठूलो दल एमाले पनि थियो । करिब–करिब दुईतिहाई बहुमतको हाराहारीमा थियो सरकार । तर, दुईतिहाइ बहुमतको सरकारले करिब–करिब ३०–३५ घण्टाकै सडक आन्दोलन थेग्न सकेन त । मूल रूपमा मैले तीनवटा कुरा देखिरहेको छु । अहिलेको लागि हामीले गर्नुपर्ने एउटा कुरा त सुशासन दिनैपर्छ, एकदम सुशासन । मैले यो समितिमा पनि चर्को र खरो भाषामा बोलेको थिएँ । हामीसँग बल छ, हामीले जे गरे पनि हुन्छ, जस्तो भने पनि हुन्छ भन्ने खालको दम्भ र अहम् हाम्रा नेताहरूमा छ, चरम भ्रष्टाचारमा लिप्त पनि भएको देखिन्छ । त्यसैले सुशासन हुनैपर्‍यो, भ्रष्टाचार नियन्त्रण हुनैपर्‍यो ।
अर्को कुरा, जस्तो रोजगारीको सिर्जनाहरू गर्न बानी गर्नुपर्‍यो । बाहिर जाने मान्छेहरूले पनि, ‘हामी खेदिएर आएका हौँ’ भन्ने, हामी नेपालमा बस्नेले पनि ‘यिनीहरू नेपाल छोडेर गएका’ भन्ने गरेर एक–अर्काप्रति दूरी बढेको छ । यो विदेशमा गएकाले पनि के बुझ्नुपर्‍यो भने हामी नेपालको समृद्धिका लागि, आफ्नो प्रगतिका लागि आएका हौँ । हामी नेपालमै फर्कने हो भनेर नेपालप्रति माया राख्नुपर्‍यो । हामीले पनि उहाँहरूलाई नेपालकै माया छ, यहाँ परिस्थिति अनुकूल भएन । उहाँहरू प्रगतिका लागि जानुभएको हो भनेर उहाँहरूलाई सम्मान गर्नुपर्छ । उहाँहरूले पठाइदिएको रेमिट्यान्सले हामीलाई चल्न सहज भएको छ । एक–अर्कालाई सम्मान गर्नुपर्नेमा, विदेश हुनेले हामीलाई खेदेर पठाइएको हो, हामी परदेशी भएर आएका हौँ भनेर आफ्नो देशप्रति घृणा फैलाउने । हामीले पनि यिनै देश छोडेर गएकाहरू भन्ने यस्तो स्थिति छ । त्यसैले जति सकिन्छ, अब सरकारले नै आफ्नो रोजगारी क्षेत्रमा गर्न सक्दैन । यहाँ स्वेच्छाले व्यापारको अवस्था, व्यवसाय गर्ने छुटहरू हुनुपर्‍यो । अस्ति २४ घण्टाको घटनाले र अहिले हालसालै जे घटनाहरू घटिरहेका छन्, काम गर्ने मान्छेहरूलाई अब अहिले व्यवसाय गर्न पनि ठ्याक्क त्यहाँ अब कति बेला कुन इन्क्वायरी आउँछ भन्ने अवस्था छ ।
त्यसैले सबै नेपालीहरूले के बुझ्नुपर्‍यो भने, यही देशमा हामी बस्ने हो, यो देश बनाउने हामीले नै हो, यो देशलाई राम्रो बनाउने पनि हामीले हो, यो देशमा गरिखाने बनाउने पनि हामीले हो, यो देशभन्दा बाहिरका कुराहरू नखोजौँ भने हामीलाई नै फाइदा हुन्छ भनेर देशप्रतिको माया भएर अलि जिम्मेवार भएर सोच्नुपर्ने परिस्थिति छ । तत्कालै प्रतिक्रिया लिएर एकले अर्कोलाई बदला दिनुपर्ने परिस्थिति भएको छ । र विगतको मनोवृत्ति, सार्वजनिक मनोवृत्तिको पछिल्लो अवस्थामा विकास भएको देखिन्छ । त्यसले ठूलो क्षति हुन्छ । त्यसैले अब कांग्रेसले सबै चिजलाई समेटेर, अब सबै जे–जे समूह भनिएका राजनीतिक दलहरू भनौँ, नयाँ राजनीतिक दल, यी सबैसँग पनि वार्ता गरेर नेपाललाई सबैभन्दा पहिला त हामी हिंसाबाट मुक्त हुनुपर्‍यो, द्वन्द्वबाट मुक्त हुनुपर्‍यो, एक–अर्कालाई दुश्मन देख्ने, दुश्मनको जस्तो व्यवहार गर्ने प्रवृत्ति हटाउने कुरा पहिलो काम । त्यसपछि सबै बसेर फेरि अनि सुधारका लागि हामी काम गर्नुपर्‍यो । भ्रष्टाचार नियन्त्रण पनि गर्नुपर्‍यो । त्यसपछि बल्ल शान्ति हुन्छ । देशमा शान्ति नै भएन भने केही कामै हुँदैन, यस्तो हिंसाले ।

सबै युवाहरूलाई पनि, विदेशमा रहेकाहरूलाई पनि, नेपालमा भएका युवाहरू होलान्, ज्येष्ठ नागरिकहरू होलान्, बुद्धिजीवीहरू होलान्, हैन ? उहाँहरू सबैलाई नयाँ ढंगले, अब नेपाली कांग्रेसले केही गरिरहेको छ है, नेपाली कांग्रेस रूपान्तरित भएर आएको छ, उसले आफ्नो संगठनात्मक परिवर्तन मात्रै गरेको छैन, उसले सोच र चिन्तन पनि परिवर्तन गरेर आएको छ, अब नेपाली कांग्रेस सुध्रिएको छ भन्ने अनुभूति गराउनु नै पर्छ । परम्परागत ढंगले चल्न हुँदैन । हाम्रा कर्ममै, व्यवहारमा पनि केवल सत्तामा जाने मान्छे होइन, हरेक–हरेक कांग्रेस कार्यकर्ता, नेताहरूले पनि व्यवहारमा पनि हामीलाई पनि चुस्तता पनि आवश्यक पर्छ । त्यो ढंगले कांग्रेस जानुपर्छ । अझ पनि कांग्रेसप्रति भरोसा, जनताको साथ पनि मैले बुझेको छु । 

तर, अहिलेको अवस्था हेर्दा त एमाले अघि–अघि, कांग्रेस पछि–पछि जस्तो देखिन्छ । कांग्रेसका नेताहरू पूर्व, निवर्तमान सांसदहरू पनि संसद् पुनस्र्थापनाको हस्ताक्षरमा लाग्नुभयो । यही हो कांग्रेसको एजेन्डा ?
होइन, होइन, छैन, त्यस्तो होइन । पुनस्र्थापना एजेन्डा त अहिले हाम्रो निवर्तमान चिफ ह्विप (प्रमुख सचेतक)को भन्नुपर्‍यो । हामीचाहिँ पुनस्र्थापनाको पक्षमा छैनौँ । एमालेले पुनस्र्थापना पक्षमा बोल्यो । हाम्रो मुख्य सचिवालयले हामी पुनस्र्थापनाको पक्षमा छैनौँ भनेको छ । हाम्रो पार्टीको पनि त्यही हो । निर्णय गरेका छैनौँ, पार्टी समग्र रूपमा अहिले पुनस्र्थापनाको पक्षमा छैन ।

अब चुनाव हुने वातावरण बन्दै गएको हो अथवा भएन भने पुनस्र्थापनाको कुरा आउला ? सरकारले चुनाव हुने वातावरण बनाइरहेको छ कि बिगारिरहेको छ ?
अहिलेसम्म सरकारले भरपर्दो वातावरण नै दिएको छैन, सरकारले कोसिस गरेको देखिन्छ । दलहरूसँग पनि बैठक बोलाएको छ । उसले आफ्नो मिटिङ पनि गरिरहेको छ । तर पनि अझ पनि भरपर्दो स्थिति देखिएको छैन । ठाउँ–ठाउँमा अहिले पनि घटनाहरू घटिरहेका छन्, राजनीतिक दलहरूविनाको लोकतन्त्रलाई हामी कल्पना नै गर्न सक्दैनौँ । निर्वाचन आयोगमा दर्ता भएका, विधानअनुसार, संविधानअनुसार, निर्वाचन ऐन, कानुनअनुसार दर्ता भएका सबै राजनीतिक दलहरूले निर्वाध रूपमा जनताका बीचमा जान पाउने, आफ्नो मत राख्न पाउने परिस्थिति सिर्जना भएन भने त्यो चुनावको त अर्थ पनि हुँदैन । त्यो स्थितिचाहिँ सिर्जना अझै भइसकेको अवस्था छैन । अब त्यसका लागि हामीले पनि सहयोग गर्नुपर्छ । निर्वाचनमै मात्रै राजनीतिक दलको असर हुन्छ । हामी राजनीतिक दलहरूले पनि त्यो खालको वातावरणका लागि लाग्नुपर्छ । निर्वाचनमै नहुने हो भने राजनीतिक दलको पनि औचित्य रहँदैन । त्यसैले हामी राजनीतिक दलहरूले पनि सहयोग गर्छौं । सबै राजनीतिक दलले, कांग्रेस मात्रै होइन, अब नयाँ–पुराना सबै राजनीतिक दलहरूले पनि निर्वाचनमा जानुपर्ने तर्क गर्छन् ।


अब अहिलेको अहिलेको अवस्थामा नयाँ–नयाँ दलहरू एकदमै खुलेका छन् । चुनाव भयो भने नेपाली कांग्रेसको भविष्य कस्तो देख्नुहुन्छ तपाईं ?
म त सम्पन्न नेपाली कांग्रेस देखिराख्या छु, किनभने ठिक छ, नयाँ दलहरूलाई नयाँ विचारहरू त आयो, तर उहाँहरूको विचार मात्रै हो, दलको रूपमा, राजनीतिक पार्टीको रूपमा आज पनि विस्तारित भइसकेको अवस्था छैन । अब गर्नुहोला, नगरून् भनेर होइन । एउटा राजनीतिक पार्टी स्थापना गर्नका लागि रातारात होला । कहिले कुनै–कुनै एउटा पार्टीहरू आएको पनि आएको छ । तर, पार्टीलाई जनताका बीच पुर्‍याएर, आफूलाई स्थापित गरेर, जनताको मत जित्ने लामो समयको लागि । एउटा चुनाव मात्रै जितेर भए पनि फेरि लामो समय टिकाउनका लागि र त्यो पार्टीका प्रति आमजनताको विश्वास जिराइरहन, दिगो रहिरहनको लागि त धेरै मिहिनेत, धेरै कठिन चुनौती त आउला त । ठिक छ, नयाँ पार्टी आउनुपर्छ लोकतन्त्रमा, पार्टीहरू भएन भने लोकतन्त्र चल्दैन । गरिरहनु्भा होला, तर हाम्रो जस्तो पार्टी, जो मूल रूपमा जनतालाई नै सार्वभौमसत्तासम्पन्न मान्न तयार छ, मूल रूपमा जनताका विचार र जनताका मतमा मात्रै विश्वास राख्छ र हामी परिवर्तन पनि हुन चाहन्छौँ । हामीलाई लगेर फुकेको जे बोल्यो उही बोल्यो... गुरुको कुरा त कतै पनि होइन । हामी चाहिँ समयको माग, जनताको चाहनाअनुसार परिवर्तन भइरहन सक्ने, परिमार्जन भइसक्न सक्ने, जनताको चाहनाअनुसार नै अगाडि बढ्ने पार्टी भएको हुनाले अहिलेको अवस्थामा जुन खालको देखिरहनुभएको छ, अबको अवस्थामा कांग्रेस सुध्रिएर जान्छ ।
परिवर्तित, रूपान्तरित कांग्रेस भएर आयो भने अहिले पनि मुलुकमा शान्तिका लागि, विकासका लागि, सामाजिक सद्भावका लागि..., सामाजिक सद्भाव कसरी चलिरहेको छ तल हेर्नुस् त । विभिन्न राजनीतिक दलहरू, विभिन्न समूहहरू एकले अर्कोलाई यसरी आरोप लगाइरहेका छन् । बोल्ने शैली यति हिंसात्मक र यति सामाजिक घृणा फैलाउने खालका छन् । यस्तो स्थिति छ । अहिले पनि सबभन्दा बढी क्षति कांग्रेसलाई भएको छ, तर सबभन्दा बढी संयमित हामी कांग्रेस छौँ । किनकि फेरि हामीलाई थाहा छ, यो मुलुकको नीति त फेरि हामीले बनाउनु छ । कुनै न कुनै दिन जनताको विश्वास बिस्तारै फेरि सञ्चित भएर आउँछ भनेर, कांग्रेस मिल्छ भन्ने खालको अनुभूति हामीलाई भइरहेको छ अहिले ।

अब कांग्रेसको देखाउने चेहरा चाहिँ को ? 
यसो हुन्छ हेर्नुस्, नेपाली कांग्रेस पार्टी व्यक्तिकेन्द्रित भएर अगाडि बढ्दैन । अघि मैले भनेँ नि, तपाईंले सोध्नुभएको जस्तै हामी पूर्णरूपमा रूपान्तरित भएर, सम्पूर्ण रूपमा सोच, प्रवृत्ति, व्यवहारसहितको कांग्रेस भएर आएको अवस्थामा, त्यसमा हामी पार्टीको विचार स्थापित गर्ने हो, कहिलेकाहीँ व्यक्तिले पनि असर नराख्ने होइन, व्यक्तिले राख्छ । भने निश्चित रूपमा देखाउने अनुहार अलिकति आकर्षक हुन्छ, अनुहार अलि योग्य भयो भने निश्चित रूपमा भोटहरू बढ्छ । तर, अहिले त्यसरी भन्दा पनि मुलुकमा जुन सोच, शैली, कर्म, व्यवहार र नयाँ चाहना व्यक्त भएको छ, नयाँ माग, नयाँ सोचहरूको त्यसरी सम्बोधन गर्न सक्ने गरी हामी अगाडि बढ्न खोजिरहेका छौँ ।

अबको कांग्रेस कस्तो कांग्रेस ?
अबको कांग्रेस राष्ट्र, मुलुकलाई सर्वोपरि ठान्ने, मुलुकको राष्ट्रिय स्वतन्त्रतालाई सर्वोपरि ठान्ने र जनताको भावनाअनुसार आफूलाई अगाडि सँगसँगै बढाउन सक्ने, मुलुकको समृद्धिका लागि, मुलुकको स्थिरताका लागि समग्र रूपान्तरित भएर अब देखिनुपर्छ । किनभने, हामी हिजो नेतृत्वलाई मात्र हेर्‍यौँ होला, उनीहरूलाई सत्तालाई मात्र हेर्‍यौँ होला । समग्र कांग्रेसले अब जनताको भावनाअनुसार आफूलाई मनोवचन, कर्मले जाने काम गर्छ ।