वसन्त लोहनी

चकमन्न रातमा कुकुर रोइरहेका

ad

सायद कुनै गहिरो पीडाले छटपटिएर होला

या एकदम डराएर

खै, अहिले कस्तो चाड आएको 

तिहारमा माला लगाएका कुकुर

अहिले चाहिँ राति राति रुने

के उसले आफ्नो मालिक हरायो? 

 

राति रुने, दिउँसो बेपत्ता हुने कुकुरले राति रुन छोड्यो 

दिउँसो सर्वत्र घुकेको घुक्याई गरिरहेको छ

बिहानदेखि उफ्री उफ्री घुकिरहेको छ

अचाक्लीसँग घुकिरहेको

दायाँ बायाँ, अगाडि पछाडि, फर्की फर्की 

यस्तो असाधारण घुक्याई किन र कसरी? 

मानौँ मुसाबाट कुकुर बनेर सिंह बन्न लागेको जस्तो

सायद मालिक फेला पारेर होला

अनि सायद मालिक फेरि नहराउन् भनेर होला

त्यसैले मालिकलाई सुरक्षाको अनुभूति दिन होला।

 

सधैँ झैँ मह काटेर चाटिरहेको बेला

सहयोगीलाई पनि चटाइरहेको बेला 

हुँदाहुँदा उम्लिएको दूधमा समेत मिसाएर खान थाले 

टक्सिसिटी सर्वत्र बढ्दै गयो 

मह खाएको हल्लालाई कुल्ला गर्न खोज्दा

र, यसपालि मह काट्दा

अनायास असङ्ख्य श्रमजीवी माउरीहरूले घेर्न आउँदा 

लगाएको ‘फुल प्रुफ’ परिधानले पनि काम गरेन 

सधैँ र सबैलाई आफ्नो अगाडि बत्तीको पुतलीसरह ठान्ने उ

आफै बत्तीको पुतली बन्न लागेको देखेर आत्तियो 

उसको आफ्नो पो सातो गयो

कहलिएको मान्छे कहालिए नीलो कालो 

हावामा अलप भयो

कहाँ बेपत्ता भयो कसैले सुइँकोनै पाएनन्। 

 

कैयौँ दिनपछि तितरबितर भएका माउरीहरू 

ऋतुराजको आगमनमा हरियाली आउन थालेको 

भागेको त्यो मान्छे बहुरिएका फर्केर आयो 

चलमलायो, नयाँ आँगनको वारिपारि हे¥यो 

डराएर हेर्यो कतै श्रमजीवी माउरी त कतै छैनन्?

देख्यो पुच्छर हल्लाउनेहरूको झुन्ड

उसले बजाउने धुनमा पछि लाग्न तम्तयार

पाइड पाइपरको धुनमा लठ्ठ भएका मुसाको झुण्डजस्तो

उसको ‘कायरता’ मा प्रश्न गर्ने कसको हिम्मत?

अनि त ऊ पहिलेभन्दा पनि बढी खोक्न थालेको छः 

अल्पिएको बारे उसको जवाफ छ–

त्यो त अभिनय हो

भागेको जस्तो पो गरेको

बच्चाबच्चीको खुसीको लागि

मानौँ ऊ ‘परान’ सिनेमाको’‘मिस्री बाजे’ को अभिनयलाई

‘शब्द–मिश्री’ बाँडेर जित्न चाहन्छ

र, यथार्थतालाई अभिनयमा तबदिल गर्न सक्छ

या, कृष्णलेजस्तो सूर्यलाई छेकेर दिउँसै अध्यारो पार्न सक्छ

 

मालिक बौरिएपछि 

बोलिचाली र चालढाल बदलिएपछि 

पहिले जस्तै खोक्न थालेपछि 

विकासको क्रममा रूपान्तरित स्वरूपका

बिल्लाधारी कुकुर अचाक्ली घुक्न थाल्यो 

मालिकले खोकेको भन्दा बढी घुकाई

अरूको त आवाजै नसुनिने पार्न

हो, कुकुर जस्तो गुनी को छ र?

त्यसै मालिकले ‘गुड डग’ भनेर धाप मारेको होइन रहेछ।