काठमाडौं । बंगलादेशका राष्ट्रपति महोमम्द शाहबुद्दिनले संसद् विघटन गरेका छन् । राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा विपक्षी दलकी नेता खलिदा जिया जेलमुक्त भएको पनि उल्लेख गरिएको छ । विद्यार्थी आन्दोलन र विभिन्न मुद्दामा थुनामा परेकाहरुलाई रिहा गर्ने प्रक्रिया सुरु भइसकेको र धेरैलाई रिहा गर्ने पनि जनाइएको छ ।
सरकारी जागिरमा आरक्षण र कोटाको विरोधमा जुलाई पहिलो सातादेखि विद्यार्थी आन्दोलन सुरु भएको थियो । आन्दोलनकै बीच अदालतले आरक्षणको कोटा कटौती गरेको थियो ।
सरकारी जागिरमा आरक्षण र कोटाको विरोधमा भएको आन्दोलनकै कारण सोमबार प्रधानमन्त्री शेख हसिनाको सरकार ढलेको थियो । उनले सोमबार नै बंगलादेश छोडेकी छन् ।विद्यार्थीहरूले सैनिक नेतृत्वको सरकार मान्य नहुने बताइसकेका छन् । उनीहरुले नोबल पुरस्कार विजेता मोहम्मद युनुसलाई अघि सार्नुपर्ने माग गरेका छन् ।
प्रतिक्रिया