देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एसीसी प्रिमियर कपमा ओमान साउदी अरेबियालाई पराजित गर्दै सेमिफाइनल प्रवेश

देशान्तर

काठमाडौं । एसीयन क्रिकेट काउन्सिल(एसीसी) प्रिमियर कपमा ओमान साउदी अरेबियालाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।
टियु मैदान कीर्तिपुरमा समूह ’ए’ मा रहेको ओमानले साउदी अरेबियालाई ७२ रनले हराएको हो । ओमानले दिएको ३ सय ६७ रनको लक्ष्य पछ्याएको साउदी अरेबियाले ४६ दशमलब ५ ओभरमा अलआउट हुदै २ सय ९४ रन मात्र बनायो ।

साउदीका लागि ओपनर अब्दुल वाहिद र साद खानले अर्धशतकीय ईनिङ खेले । वाहिदले ८६ बलमा १४ चौका र १ छक्काको सहयोगमा ९५ रन बनाए ।खानले ८० बलमा १० चौका र १ छक्काको सहयोगमा ७८ रन बनाए । पहिलो विकेट सात रन बनाउँदा गुमाएको साउदीका लागि वाहिद र खानले १ सय ७७ रनको साझेदारी गरेका थिए । तल्ला क्रमका ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा साउदीले हार व्यहोरेको थियो । कप्तान हिशाम शेखले ३२ बलमा ४ चौकाको सहयोगमा ३४ रन बनाए । अब्दुल वाहिदले १५ बलमा २५ रन बनाए । आतिफ उर रहेमानले अविजित १६ रन बनाए ।

ओमानका लागि बिलाल खानले ४ तथा जय ओडिराले ३ विकेट लिए । जिशान मक्शुदले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ६६ रन बनायो । ओमानका लागि शिर्ष पाँचका ब्याटरले अर्धशतक बनाएका थिए । मोहम्मद नदिम,जिशान मक्शुद,कश्यप प्रजापती,सोयब खान र जतिन्दर सिंहले अर्धशतकीय ईनिङ खेले । सिंहले ७९ बलमा ११ चौका र २ छक्काको सहयोगमा ८८ रन बनाए । खानले ७० बलमा ८ चौका र २ छक्काको सहयोगमा ६८ रन बनाए ।

प्रजापतीले ५३ बलमा ६ चौका र २ छक्काको सहयोगमा ५१ रन बनाए । मक्शुदले ४९ बलमा ५४ रन बनाए । पहिलो विकेटका लागि सिंह र प्रजापतीले १ सय २५ रनको साझेदारी गरेका थिए । नदिमले ३८ बलमा ६ चौका र ४ छक्काको साथमा अविजित ७१ रन बनाए । आयान खान १२ रनमा अविजित रहे । साउदी अरेबियाका लागि अतिफ उर रेहमानले ३  विकेट लिए ।  यस समूहबाट नेपालले यस अघि नै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । भोलि नेपाल र कतारबीचको खेल पश्चात यस समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ । अर्को समूहबाट युएईले सेमिफाइनलमा स्थान पक्का गरिसक्दा हङकङ र कुवेतबीच भोलि हुने खेलबाट अर्को टोलीको टुंगो लाग्नेछ ।

वैशाख १८ गते सम्म संचालन हुने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल संचालन हुनेछ । कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ । यस प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ’ए’ मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह ’बी’ मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् ।
हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल खेल्ने छन् । सेमिफाइनलका विजेता राष्ट्रले फाइनल खेल्ने छ । फाइनलको विजेता टोली एसीया कपका लागि छनोट हुनेछ । एसीया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ । यस्तै शीर्ष तीनमा रहने टोली एसीसी ईमर्जिङ कपका लागि छनोट हुनेछन् ।