काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनाको वित्तीय रिपोर्ट आएसँगै उत्साहित भएको सेयर बजारमा लगातार दुई दिन ११९ अंकले नेप्से बढेको छ ।
तर, तेस्रो दिन आज भने नेप्सेमा २९ अंकको करेक्सन आएको छ ।
आज नेप्से सूचक २९.०७ अंकले घट्दै १९ सय ३४.४७ अंकको विन्दुमा झरेको नेपाल स्टक एक्सचेञ्जले जानकारी दिएको छ ।
अघिल्लो दिन यस्तो सूचक एकै दिन ९२ अंकले बढ्दै १९ सय ६३ विन्दुमा अडिएको थियो ।
यस्तै, क वर्गको सेन्सेटिभ इन्डेक्स आज ५.७२ अंकले घट्दै ३६७.९८ अंकको विन्दुमा झरेको छ ।
यद्यपि, यस दिन पनि सेयर कारोबार भने उत्साहपूर्ण हुँदै १ अर्ब ६५ करोड ३३ लाख रुपैयाँ बराबरको ४९ लाख १३ हजार कित्ता किनबेच भएको छ ।
आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ ।
आदर्श लघुवित्त वित्तीय संस्था, कालिनचोक दर्शन र मोलुङ हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को सेयर मूल्य ५.५० प्रतिशतले घट्न पुगेको छ ।
प्रतिक्रिया