देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

देशान्तर

चितवन । पूर्वी चितवनको खैरहनीमा रोकिराखेको टिपरमा ठोक्किएर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनी नगरपालिका वडा नं ८ स्थित बाबा ग्याँस अगाडि सो दुर्घटना हुँदा राप्ती नपा– ६ का ४० वर्षीय बुद्धिराम चौधरीको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिम आउने क्रममा यहाँ रोकिराखेको ना३ख ९३९६ नंको टिपरमा विपरीत दिशाबाट आउँदै गरेको ना ४० प १९४७ नंको पल्सर मोटरसाइकल ठोक्किँदा चालक चौधरीको मृत्यु भएको हो ।

आइतबार साँझ भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका चौधरीको गएराति उपचारका क्रममा कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ ।

तालिमका क्रममा गोली लाग्यो

यसैगरी चितवनको भरतपुरमा प्रहरीको तालिमका क्रममा हानेको गोली लागेर एक जना घाइते भएका छन् ।

भरतपुर महानगरपालिका– ११ बसेनीको जङ्गलमा जुनियर प्रहरी अधिकृत शिक्षालयका प्रहरी जवान आधारभूत तालिमका क्रममा आइतबार फायरिङ क्षेत्रमा पुगेका एक जना स्थानीयलाई गोली लागेको हो ।

राइफलबाट फायरिङ भइरहेका अवस्थामा भरतपुर–११ ग्याल्बाटोल बस्ने ५२ वर्षीय कृष्णबहादुर कुमाललाई गोली लागेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए।

उनको नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको र गोली निकालिएकाले खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी इटहरी उपमहानगरपालिका–२० स्थित तरहरामा गएराति जन्तीको बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्यु भएको प्रहरी चौकी तरहराले जानकारी दिएको छ ।

धनकुटाबाट जन्ती लिएर इटहरीतर्फ आइरहेको को १ ख ४०८४ नंको बसले को २ प ६५१४ नंको मोटरसाइकललाई ठक्कर दिँदा अन्दाजी ३५ वर्षीय मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले बताएको छ ।

मङ्गोलियन अनुहारका मोटरसाइकल चालक मृतकको शव क्षतविक्षत भएकाले उनको सनाखत हुन सकेको छैन भने बसका चालक धनकुटाको बूढीमोरङका ३२ वर्षीय कवीन्द्र लिम्बूलाई प्रहरी चौकी तरहराले नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

त्यस्तै मुग्लिन सडकखण्डको जलबिरेमा आज बिहान पहिचान नभएको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय, मुग्लिनले दिएको जानकारी अनुसार नारायणगढतर्फ आउँदै गरेको वा६७प ६१९५ नंरको मोटरसाइकलाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार ३९ वर्षीय जगविन्द्र धौलाकोटीको घटनास्थलमा नै मृत्यु भएको हो । उनी भेरीगङ्गा–१३ सुर्खेतका भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक चपुर–१ रौतहटका निलबहादुर परियारको भरतपुरको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर रहेको छ ।

नारायणगढतर्फ नै आउँदै गरेको ट्याङ्करले ठक्कर दिएको आशङ्कामा एउटा ट्याङ्करलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।