के राजनीति साँच्ची नै फोहोरी खेल हो त ? यो प्रश्न धेरै व्यक्तिहरूको मनमा छ र बेलाबखत धेरैको मुखबाट ‘पोलिटिक्स इज डर्टी गेम’ भनेको सुनिन्छ । तर राजनीति कहिले पनि फोहोरी थिएन र छैन पनि । रैडिकल मुसलमानहरूले अल्लाहको नाममा निर्मम हत्या गरिरहेका छन्, त्यसको मतलव कुरान नै खराब त होइन । महाभारतको युद्धलाई हिंसाको रूपमा हेरी खराब भन्न सकिन्छ र ? महाभारत कथा विश्वको नै उच्च श्रेणीको दर्शनमा चिनिन्छ । राजनीति पनि त्यस्तै हो । गलत व्यक्तिहरूले गलत तरिकाले शक्तिलाई आफ्नो हातमा राख्न खोजेकाले तथा राजनीतिको ‘र’ पनि नजानेका व्यक्तिहरूले षड्यन्त्र गरी विशिष्ट पदमा आसीन भएकाले एवं शक्तिको दुरुपयोग गरेकाले राजनीतिलाई फोहोरी खेलको संज्ञा दिइयो । मनुष्यको हेर्ने दृष्टिकोणमा र विश्लेषणमा भर पर्छ । राजनीतिलाई फोहोरी बनाउन जति हाम्रा अग्रज नेताहरू दोषी छन् त्यति नै हामी पनि दोषी छौं ।
राजनीति भनेको एउटा दर्शन हो । राजनीतिक दर्शनअन्तर्गत राजनीति, स्वतन्त्रता, न्याय, सम्पत्ति, अधिकार, कानुन तथा सत्ताद्वारा कानुनलाई लागू गर्ने आदि विषयहरू सम्बन्धित प्रश्नमा चिन्तन गरिनु हो । यी के हुन्, यिनको आवश्यकता किन छ, कुन वस्तुले सरकारलाई कानुनी रूपले वैधानिक बनाउँछ, कुन अधिकार र स्वतन्त्रतालाई रक्षा गर्नु सरकारको कर्तव्य हुन्छ, विधि के हो, कुनै वैधानिक सरकारप्रति जनताको के कर्तव्य हो, कस्तो अवस्थामा कुनै सरकारलाई ढलाउनु वा पतन गर्नु वैध हुन्छ आदि आदि । अहिले नेपाल तथा नेपाल बाहिर नेपाली कांग्रेसको आउँदो १३ औं महाअधिवेशनको बारेमा ठूलो चर्चा छ । त्यसैले यस विषयमा केही चर्चा गर्नु वाञ्छनीय देखिएको छ ।
धेरै विदेश बस्ने नेपालीहरूलाई विदेशी पासपोर्ट लिनुपर्ने बाध्यता थियो र लिए । त्यस्तै बाध्यता मलाई पनि भएकोले विदेशी पासपोर्ट लिइयो । विदेशमा हुँदाहँुदै पनि नेपालप्रति माया र नेपाली कांग्रेसप्रतिको आस्थामा कहिले कमी आएन । त्यसकारण यस १३ औं महाधिवेशनमा केही महत्वपूर्ण कुराहरू राख्न जरुरी सम्झन्छु । आउने वर्ष विदेशी पासपोर्ट लिएका नेपाली नागरिकलाई महासमितिमा भाग लिन नपाउने भन्ने सुनिएको छ जुन एक पटकको नेपाली सधैंको नेपाली भन्ने हामी गैरआवासीय नेपालीहरूको नारा विपरीत देखिन्छ । विदेशमा बस्ने अधिकांश नेपालीहरूको विदेशी पासपोर्ट छ ।
भैपरि आएको बेलामा नेपाललाई, आफ्नो पार्टीलाई तथा संक्रमक रोगव्याधी लागि औषधि उपचार गर्न असमर्थ भएका कांग्रेसी योद्धाहरूलाई बेला बखत चाहिएको आर्थिक सहयोग नेपालीकै नाताले गर्दै आएका छौं । नेपालीको विदेशी पासपोर्ट छ भन्दैमा सौतेनी छोराछोरीको जस्तो व्यवहार गर्नु उचित देखिँदैन । द्वन्द्वकालदेखि हालसम्म नेपालले पाएको आर्थिक सहयोग तथा विदेशी मुद्राको आम्दानी विदेशमा बस्ने नेपाली कामदारबाट नै भएको छ । ती नेपाली कामदारहरू कोही नेपाली पासपोर्ट भएका छन् भने कोही विदेशी पासपोर्ट भएका छन् । त्यसकारण संविधान वा विधान संशोधन गरेर भए पनि विदेशी पासपोर्ट हुनेहरूलाई महाधिवेशनमा भाग लिन पाउने व्यवस्था हुनुपर्छ ।
जनवरी ३ तारिख २०१६ को इङ्ल्यान्डमा राष्ट्रिय मेलमिलाप दिवसमा आयोजित कार्यक्रममा युरोपभरिका जनसम्पर्कलाई आमन्त्रित गरिएको थियो जहाँ युरोपभरिका कांग्रेसीहरूले नेपाली जनसम्पर्क समिति युरोप (युरोपियन कांग्रेसी) भनी अलग्गै गठन गर्नुपर्ने र केन्द्रबाट मान्यता दिलाउनको लागि कोसिस गर्ने भनेर सहमति भएको थियो जुन विचारणीय छ । नेपाली जनसम्पर्क समिति युरोप भनेर झन्डै १२ वर्ष अगाडि गठन पनि भइसकेको छ जसमा धेरै विवादहरू छन् । तर यसको आवश्यकता छ भनेर युरोपका कांग्रेसीहरूले सहमति जनाएका छन् । यस्तै संगठन सबै महादेशहरूमा गठन गर्दा विश्वभरि छरिएर बसेका नेपाली कांग्रेसीहरूको बीचमा सम्पर्क समन्वय हुने तथा ग्लोबल रूपमा साह्रै संगठित र प्रभावकारी हुने देखिन्छ ।
विदेशमा गठन भएका जनसम्पर्क समितिहरूले कम्तीमा पाँच सय क्रियाशील सदस्यहरू बनाएमा मात्र कांग्रेसको महाधिवेशनमा सहभागी हुन पाउने वैधानिक व्यवस्था छ । यसमा पनि परिवर्तन ल्याउनुपर्ने जरुरी देखिन्छ, किनभने यदि कुनै देशमा पाँच सय क्रियाशील सदस्यहरू बनाउन सकिएन भने महाधिवेशनमा सहभागी हुन नपाउने भयो जुन न्यायोचित देखिँदैन । सबै जनसम्पर्क समितिहरूबाट कम्तीमा एकजना प्रतिनिधिले भाग लिन पाउने व्यवस्था हुनुपर्छ ।
जनसम्पर्क समितिहरूबाट महाधिवेशनमा भाग लिन पाउने, मताधिकार हुने तर केन्द्रीय समितिमा उम्मेद्धवार हुन नपाउने व्यवस्था स्थापित मान्यता विपरीत छ । जनसम्पर्क समितिहरूलाई केन्द्रीय समितिमा आउन छेकबार लगाइनुभन्दा वैधानिक रूपमा नै विभिन्न महादेशहरूका जनसम्पर्क समितिहरूबाट केन्द्रीय समितिमा कम्तीमा एकजना उम्मेदवार हुन पाउने व्यवस्था हुनुपर्छ ।
अर्को महत्वपूर्ण कुरो, जसरी कर्मचारीहरूको काम गर्ने समय अवधि तोकी अवकाश लिने वा पेन्सनमा जाने व्यवस्था छ, त्यसैगरी नेताहरूको कार्य अवधि पनि तोकिनुपर्छ । यस्तो व्यवस्था भएमा न मरुन्जेल कुर्सी न छाड्नेको संख्या केही हदसम्म कम हुनेछ र उमेरको हद न पुगेका नेताहरूले पनि बेलैमा अवसर पाउनेछन् ।
हामी नेपालीहरू राजनीतिक विषय सम्बन्धमा भनुँ वा आफ्नो पार्टीको सम्बन्धमा भनँु धेरै फानाटिक छौं । धेरैजसो देखिन आएको छ कि बाबुबाजे जुन पार्टीमा संलग्न छन् वा थिए सन्तानहरू पनि उही पार्टीप्रति वफादार भए । कांग्रेस पार्टी नेपालको सबैभन्दा ठूलो तथा महत्वपूर्ण पार्टी हो । कांग्रेस विरोधीहरूले पनि कांग्रेसको आशा गरेर बसेका हुन्छन् । नेपालमा ‘राष्ट्रियताको संरक्षण र सम्वद्र्धन गर्दै प्रजातान्त्रिक समाजवाद’ स्थापना गर्ने सिंगो आन्दोलनको अर्को नाम ‘नेपाली कांग्रेस’ हो ।
वर्तमान सन्दर्भमा राष्ट्रियता, लोकतन्त्र, समाजवादको आदर्श एवं सिद्धान्त अनुरूप संघीय गणतन्त्रात्मक राज्य, बहुलवादमा आधारित बहुदलीय व्यवस्था, तथा संसदीय शासन प्रणालीको माध्यमबाट नेपालमा न्यायपूर्ण, गतिशील र शान्तिपूर्ण समाजको निर्माण गरी सामाजिक, राजनैतिक तथा आर्थिक विकास गर्ने उद्देश्य बोकेको, नेपाली जनताको अगाध श्रद्धा र सम्मान पाएको यो नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी हो । हुन त, नेपाली कांग्रेसको इतिहास पिताजी कृष्णप्रसाद कोइरालाले सिराहाको माडरबाट कहालीलाग्दो गरिबीमा रहेका नेपाली जनताले लगाउनु परेको झुत्रो कपडाको ‘पार्सल’ चन्द्रशमशेरलाई सिंहदरबारमा पठाएकै दिन विसं १९७४ को साउनमै प्रारम्भ भएको हो । तर, यसको विधिवत् स्थापना भने त्यसको धेरैपछि विसं २००३ को माघ १२ र १३ गते कलकत्ताको भवानीपुर अधिवेशनबाट भएको हो । जननायक बी.पी. कोइरालाले २ अक्टुवर १९४६ मा पटनाबाट प्रकाशित हुने द सर्च लाइट पत्रिकामार्फत भारतमा रहेका नेपालीहरूलाई सँंगठित गर्ने उद्देश्यले नेपालीहरूको अखिल भारतीय संगठन निर्माणका निम्ति गरेको आह्वानबाट यसको जन्मको प्रारम्भ भएको पाइन्छ ।
हाम्रा बाबुबाजेहरूलाई स्वतन्त्र हुनुपर्छ । आफूले कर्तव्य ्मात्र गर्ने होइन हकÞ र अधिकार पनि खोज्नुपर्छ भन्ने कुनै ज्ञानै थिएन । कांग्रेसले हाम्रो बाबुबाजेलाई स्वतन्त्रताको महत्व बुझाए नत्र राणा र शाहवंशले जति हेपे पनि उचित नै सम्झी बसेका थिए । कांग्रेसले सहेको कष्ट, कांग्रेसले गरेको दुःख, हाम्रो बाबुबाजेले गरेको त्याग नेपाली जनताले बिर्सेका छैनन् । तर यदि आजका हाम्रा वरिष्ठ नेताहरूले आफ्नो कर्तव्य निभाउ“दैनन् भने नया“ पुस्ताका यी जनताले हाम्रो (कांग्रेसको) इतिहासलाई मात्रै हेरेर बस्ने होइनन् । महामानव बीपीले नेपाली जनतालाई सधंै प्रजातन्त्रमा लाग्न प्रेरित गर्नुहुन्थ्यो । सत्य बोल्नुपर्छ र अन्यायको सधैं डटेर मुकाबिला गर्नुपर्छ, ‘राष्ट्रियता, प्रजातन्त्र, समाजवाद’ बिना नेपाल अधुरो हुन्छ भनेर भन्नुहुन्थ्यो । तर आज खै त महामानव बीपीको विचारलाई आत्मसात् गरेको ? यही स्वार्थ भरेको राजनीतिले गर्दा एकबखत महामानव बीपीलाई समेत पार्टी अध्यक्षबाट अपदस्थ गर्न खोजेका थिए । लोह पुरुषको पनि खुट्टा तान्न छाडेनन् । सन्त नेतालाई आफन्तहरूले नै दुई ठाउ“बाट मतदानमा हराए । सधंै षड्यन्त्रले भरिएको राजनीति पाइयो । अहिले पार्टीमा गुटैगुट छ । पार्टीमा भएको यो गुटबन्दी नेताहरूले मात्र गरेर भएको होइन । यसमा हामी समर्थकहरूको पनि ठूलो हात छ । त्यसकारण यदि हामी नेपाली कांग्रेस पार्टीमा स्वच्छता ल्याउन चाहन्छौं भने पहिले आफ्नो आचरण बदल्न सुरु गरौं ।
१३ औं महाअधिवेशन हाम्रो दैलोअगाडि आइपुगिसकेको छ । हामी कांग्रेसी समर्थकहरूलाई यो गुटबन्दीको अन्त गर्ने मौकÞा मिलेको छ । हामीले आजैदेखि प्रण गर्नु परेको छ कि कुनै पनि नेताको पक्ष लिएर राजनीति गर्दैनौ । नेताहरूलाई टेलिफोन गरेर नचाहि“दो सल्लाह दि“दैनौ । उनीहरूले गुटबन्दीको कुरा गरे खुलेर विरोध गर्नेछौं । यो कुरो हामी नेपाली कांग्रेसको समर्थकहरूले मात्र होइन अरू पार्टीका समर्थकहरूले पनि बुझ्नु परेको छ । उनीहरूले पनि आफ्नो पार्टीका नेताहरूले गल्ती गरेको ठाउँमा खुलेर विरोध गर्दै गुटबन्दीको विरुद्धमा आवाज उठाउनु परेको छ ।
नेपालको दुवै सीमा पट्टी ठूला देश छन् र ती दुवै आर्थिक र राजनीतिक दृष्टिकोणले बलियो हुँदै गएका छन् तर नेपाल दिनपरदिन कमजोर हु“दै गएको छ । कारण राजनीतिक अस्थिरता र गुटबन्दी जस्ले गर्दा नेपालको विकासमा अवरोध ल्याएको छ । यो डिजिटल संसार हो । पुरानो सोचले अब काम चल्दैन । नेपाली कांग्रेस भनेको एउटा ठूलो जहाज हो जसलाई चलाउन युवा शक्तिको ठूलो आवश्यकता छ । समयअनुसार राजनीतिमा पनि बदलाव ल्याउनुपरेको छ त्यसकारण योग्य, भिजन भएको र विद्वान युवा नेताहरूको चयन गरेर यो जहाज चलाउनु परेको छ तर जहाजको क्याप्टेन एउटा अनुभवी व्यक्ति नै हुनुपर्छ ।
यस १३ औं महाअधिवेशनले नेतृत्व कसलाई सुम्पिने हो, कांग्रेसी जहाजको क्याप्टेन कसलाई बनाउनुपर्ने हो भन्ने कुरामा गहन विचार गर्नुपर्ने आवश्यकता छ । अहिलेसम्म नेतृत्व गरिसकेका अग्रजहरूलाई नै नेतृत्व दिने हो भने कांग्रेसको कल्याण देखिँदैन । अब नेतृत्व नयाँ सोच भएको, अहिलेको जेनरेसनलाई राम्ररी बुझ्न सक्ने र कांग्रेस र कांग्रेसीको मर्यादा बढाउने अनुभवी नेतालाई दिनुपर्छ । नेपाली कांग्रेसमा अनुभव भएका विद्वान र अहिलेसम्म मौकÞा नपाएका नेताहरूको कमी छैन । समयअनुसार चल्नु नै पर्छ । आफ्नो इगोलाई मात्र महत्व दिने, शक्ति आफ्नै हातमा मात्र राख्न खोज्ने तथा आर्थिक मामलामा विश्वास गर्न नसकिनेजस्ता नेताहरूभन्दा बाहिर जोडिएको देखिएता पनि भित्रभित्र टुक्रिएको कांग्रेसीलाई जोड्न सक्ने, योग्यताको आधारमा सबैलाई समेट्न सक्ने इमानदार व्यक्तित्वलाई नेतृत्वमा अगाडि ल्याउनुपर्छ ।
हामीले बिर्सन नहुने अर्को एउटा महत्वपूर्ण कुरो पछिल्लो मतदानमा मधेसका जनताले साबित गरे कि मधेसलाई मधेसी पार्टी चाहिएको होइन कांग्रेसी चाहिएको हो भनेर । ठूला नेता गच्छदार कांग्रेस छाडेर गए तर मधेसका कांग्रेसीहरूले कांग्रेसको मर्यादालाई जोगाएर राखे । त्यसकारण मधेसका योग्य कांग्रेस नेतालाई पनि हामीले विशिष्ट ठाउँमा चुनेर पठाउनुपर्छ । मधेसमा भएको आन्दोलन वास्तवमा त्यसबेलाका नेतृत्वकर्ताको दोषको कारणले पनि हो । जब संविधान तयार भयो नेतृत्वकर्ताले गाउँगाउँ, मधेस पहाड़ सबै ठाउँमा गएर व्याख्या गर्नुपथ्र्याे । धेरैले नबुझेर स्वार्थी नेताहरूले लगाएको गलत अर्थलाई अर्थात् तिललाई ताड़ बनाएको हुनाले समस्या जटिल भएको हो ।
यो १३ औं महाअधिवेशनमार्फत भित्रभित्रै टुक्रिएका कांग्रेसीलाई एकजुट पार्ने प्रयत्न गर्नुपरेको छ र गर्नै पर्छ । हामी कांग्रेसी समर्थकहरूले यो ठूलो जहाजरूपी नेपाली कांग्रेसी पार्टीलाई सही दिशामा लैजानको लागि, महामानव विश्वेश्वर कोइरालाको सपना साकार पार्नको लागि, गुटबन्दीलाई हटाएर मेलमिलापको भावनालाई साकार पार्नको लागि, योग्य युवा नेता, अनुभवी इमानदार क्याप्टेनको चुनाव कुनै पूर्वाग्रह नराखी गर्नु परेको छ । कांग्रेसी, कांग्रेसी समर्थकहरूको मात्र नभई समस्त नेपाली जनताको आशाको केन्द्र भएको छ । त्यसकारण यदि यस अभियानमा हामी असफल भयौं भने नेपाली जनतालाई पूर्ण विश्वास हुन जानेछ कि वास्तवमा पोलिटिक्स इस डर्टी ।
(नेदरल्यान्ड निवासी पौडेल नेपाली जनसम्पर्क समिति, नेदरल्यान्डका सल्लाहकार तथा गैरआवासीय नेपाली संघ नेदरल्यान्डका पूर्वअध्यक्ष हुन् ।)
]]>
प्रतिक्रिया