काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच कोसी प्रदेश सरकारका विषयमा भद्र सहमति भएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले कोसी सरकारलाई व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि प्रधानमन्त्री र अध्यक्ष लिङदेनबीच भद्र सहमति भएको जिकिर गरे ।
सोही सहमतिका आधारमा माओवादीको भागमा परेको पूर्वाधार विकास समितिको सभापति पद राप्रपालाई दिइएको उनले बताए । कोसी प्रदेशमा मध्यावधि निर्वाचनको अवस्था आइसकेको भन्दै उनले त्यस्तो नहोस् भन्ने राप्रपाको समेत चाहनाका कारण सहमति सम्भव भएको उल्लेख गरे । राप्रपाले कोसी सरकार निर्माणमा सघाउने उनले बताए । तर यसअघि मंगलबार नै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले समितिको नेतृत्व लिइराख्दा कुनै प्रकारको सहमति भएको प्रष्ट्याइसकेका छन् ।
प्रतिक्रिया