काठमाडौँ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको बैठक सुरु भएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा पार्टी महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री भिष्मराज आङ्दम्बे, बद्री पाण्डे, जीवन परियार, केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, केन्द्रीय सदस्य नैनसिंह महर, अजयबाबू सिवाकोटी र जिल्ला सभापतिहरूबीच छलफल भइरहेको छ ।
कांग्रेसले बैठकमा आफ्नो जिल्ला अन्तर्गतका प्रतिनिधि सभा, प्रदेश सभा क्षेत्रीय कार्यसमिति, गाउँ, नगरपालिका र वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको नामावली र सम्पर्क नम्बरसहित उपस्थित हुन पत्राचार गरिएको थियो ।
यस्तै वडा तहदेखि जिल्ला सम्मेलन भए नभएको विवरण र योजना विषयसहित करिब ६० जिल्ला सभापति छलफलमा उपस्थित भएका छन् । जिल्ला सभापति उपस्थित हुन नसके उपसभापति उपस्थित भएका छन् भने भौतिक रूपमा सहभागिता जनाउन नसकेका जिल्लाका सभापतिलाई जुममार्फत अन्तर्क्रिरयामा सहभागी हुनसक्ने व्यवस्था पनि गरिएको छ ।
दुई दिन सञ्चालन हुने बैठकमा पार्टी सदस्यता वितरण, नवीकरण र पार्टी सञ्चालन विधिबारे छलफल हुने कांग्रेस दाङ जिल्ला सभापति शंकर डाँगीले जानकारी दिए । जिल्ला सभापतिहरूले क्रियाशील सदस्यको जिल्लागत अवस्था जानकारी गराएपछि तीन वटा एजेण्डामाथि छलफल हुने छ ।
क्रियाशील सदस्यता र कांग्रेस सदस्यताको वितरण, नवीकरण र अभिलेखीकरण, विधान बमोजिम गर्नुपर्ने पार्टीका विभिन्न तहका सम्मेलन र पार्टी सञ्चालन तथा व्यवस्थापन लगायतका अन्य विविध साङ्गठनिक विषयमाथि पनि छलफल हुने छ ।
प्रतिक्रिया