काठमाडौँ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको १३ औँ प्राज्ञसभा सम्पन्न भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री सुशिला सिर्पाली ठकुरीज्यूको प्रमुख आतिथ्यता तथा प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा पोखरेलको सभाध्यक्षमा सोमबार प्राज्ञसभा सम्पन्न भएको हो। १३ औँ प्राज्ञसभा समुद्घाटन समारोहमा बोल्दै राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले मन्त्रालयस्तरबाट प्रज्ञा प्रतिष्ठानलाई गर्नुपर्ने सहयोग निरन्तर रहने बताउँदै प्रज्ञा प्रतिष्ठानका लागि हल निर्माण गर्न मन्त्रालयमार्फत् प्रधानमन्त्रीसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्मा पाखरेलले सरोकारवाला सबैको सल्लाह र सुझावका आधारमा प्रज्ञा प्रतिष्ठानले आफ्नो नीति तथा कार्यक्रम बनाउन सभामा छलफल गर्ने र आफ्ना गतिविधि अगाडि बढाउने बताइन्। कार्यक्रममा भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले एउटा भाषा हरायो भने सो भाषासँग सम्बन्धित समाज नै हराउने बताउँदै सबै समुदायको भाषा, संस्कृति, गीत संगीतलाई उत्तिकै महत्वका साथ संरक्षण र संवर्द्धनमा सरोकारवाल ध्यान दिनुपर्नेमा जोड दिए।
राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयालले नेपालको आर्थिक तथा सामाजिक रूपान्तरणले मात्रै देशमा समृद्धि हासिल हुने बताउँदै नेपालको चालु आवधिक योजनामा स्रष्टा तथा प्राज्ञिक वर्गको सामाजिक रुपान्तरणमा खेल्ने भूमिकासमेत उल्लेख भएको बताए। उनले १६ औँ आवधिक योजना लेखनको कार्य सुरु भएकाले सुसंस्कृत समाज निर्माणका लागि स्रटाहरूले गर्ने कस्तो योगदान गर्न सकिन्छ भन्ने बारे तीनवटै प्रज्ञा प्रतिष्ठानबाट आफ्नो अनुभव र सुझाव साझा गर्नसमेत अनुरोध गरे।
समारोहमा बोल्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले आफूहरूलाई सरकारले प्रज्ञा प्रतिष्ठान दिएको जिम्मेवारी पूरा गर्न नसक्ने छुट नभएको बताउँदै चुनौतीपूर्ण समयमा एकीकृत भएर अगाडि बढ्नुपर्ने बताए। प्रज्ञा प्रतिष्ठानकी सदस्य सचिव कुश्मा महराले सहजीकरण गरेको कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरू, पूर्व पदाधिकारीहरू, वरिष्ठ स्रष्टा कलाकारहरू, विभिन्न संघसंस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
प्रतिक्रिया