देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जलहरी जाँच्न अख्तियारको टोली पशुपतिनाथ मन्दिर जाने

देशान्तर

काठमाडौं । पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको सुनको जलहरी जाँच्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली आज अपरान्ह तीन बजे पशुपतिनाथ मन्दिरमा जाने भएको छ । जलहरी राख्दा अनियमिमता भएको सूचना बाहिर आएपछि त्यसबारे अख्तियारले छानबिन गरिरहेको छ । महालेखा परीक्षकको प्रतिवेदनले पनि करिब ११ किलो सुन कम प्रयोग भएको भन्दै अनियमितताको संकेत गरेको थियो ।

जलहरी काण्डबारे यसबारे संसदीय समितिले पशुपति विकास कोषका कर्मचारीलाई बोलाएर सोधपुछसमेत गरेको थियो । त्यहाँ राखिएको सुन हिनामिना भएको समाचार प्रकाशन भएपछि संसदमा समेत प्रश्न उठेको थियो । आयोगको टोलीले जलहरी नापजाँच गर्ने छ । आयोगको टोलीमा खानी तथा भू–गर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिहरू संलग्न हुनेछन् ।
जलहरीमा ११ केजी सुन घोटाला भएको र त्यसमा कोषकै पदाधिकारी संलग्न रहेको आशंका छ । २०७७ माघ १२ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पत्नी राधिका शाक्य र सहयोगीका साथ पशुपतिनाथ मन्दिरमा पुगेर ‘संकल्प पूजा’ गरेर करिब १ अर्ब रुपैयाँ लागतमा जलहरी राख्ने घोषणा गरेका थिए । घोषणा अनुरुप सरकारले ३० करोड रुपैयाँ दिने बताएका थिए । लगत्तै पशुपति क्षेत्र विकास कोषले सरकारले दिने रकममा ५० करोड आफैं थपेर १ सय ८ केजी परिमाणको सुनको जलहरी राख्ने निर्णय गरेको थियो ।