देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

खुल्यो बजार : भएन व्यापार

देशान्तर

चितवन । लकडाउन खुलेर बजारमा चहलपहल शुरु भयो । तर व्यापार हुन नसकेको व्यवसायीहरुले गुनासो गरेका छन् । पसल खुलेपनि ग्राहक नआएको उनीहरुको गुनासो छ । लामो लकडाउनका कारण यस वर्षको असार मसान्तमा गरिने हिसाब मिलानसमेत हुन सकेको छैन । उधारो उठ्न नसकेको र सामान थप गर्न नगद किन्नुपर्ने बाध्यता भएको व्यवसायीहरुले बताएका छन् । नारायणगढको पुल्चोकमा रहेको शुभकामना इलेक्ट्रोनिक्सका सञ्चालक सूर्यभक्त अधिकारी पहिलेको तुलनामा २५ प्रतिशत पनि व्यापार नभएको बताउँछन् ।

आम्दानीको स्रोत घटेको र कोरोनाको त्रासका कारण ग्राहक कम भएको उनको भनाइ छ । मध्यम र न्यूनस्तरका ग्राहकहरुको आम्दानी नहुँदा बजार प्रभावित भएको अधिकारी बताउँछन् । सञ्जु एयर कन्डिशन नारायणगढका सञ्चालक विष्णु कँडेल १० प्रतिशत पनि व्यापार नभएको बताउँछन् । उनले भने, “अत्यावश्यक क्षेत्रमा बाहेक अन्यत्र व्यापार हुन सकेको छैन ।”

फेन्सी व्यवसायी सङ्घ चितवनका अध्यक्ष खिमलाल अर्याल पहिलेको तुलनामा १० प्रतिशत पनि व्यापार नभएको बताउँछन् । बजारमा मान्छेको भीडभाड बढ्दै गएको भए पनि व्यापार हुन नसकेको उनको गुनासो छ । उनले भने, “कोरोनाको डर एकातर्फ, अर्कोतर्फ क्रय शक्ति नै घट्यो ।” जिल्लामा फेन्सीमात्र पाँच हजारभन्दा बढी रहेको भन्दै उनले यस क्षेत्रमा मात्र रु १५ अर्बभन्दा बढी लगानी भएको बताए । घरभाडा, कर्मचारीको पारिश्रमिक र बैंकको ब्याज तिर्न सक्ने अवस्थामा व्यवसायीहरु नरहेको उनको भनाइ छ । पसल खोलेर कुर्ने काममात्र भएको अर्यालले बताए ।

फेन्सीमा जुत्ता र कस्मेटिक व्यवसायी पनि पर्दछन् । सामान्यतया जुत्ता दुई वर्षपछि आफैँ उप्कने भन्दै अर्यालले धेरै सामग्री बिग्रिएर जाने अवस्थामा रहेको बताए । कस्मेटिक सामग्रीको म्याद सकिने र कपडाको डिजाइन जाने भएकाले व्यवसायीले ठूलो नोक्सानी व्यहोर्ने अवस्थामा पुगेको जनाएका छन् । कपडा व्यवसायी सङ्घ चितवनका अध्यक्ष लक्ष्मीनारायण श्रेष्ठको पनि उस्तै गुनासो रहेको छ । अहिले पसल कुरेर बस्दा २० प्रतिशत पनि व्यापार गर्न नसकेको उनले दुःखेसो पोखे । विदेशबाट पैसा आएको छैन यहाँको पनि आम्दानी नभएपछि कसरी व्यापार गर्ने उनले गुनसो गरे । जिल्लामा दुई सय ५० हाराहारी कपडा पसल रहेका छन् । व्यापारीले घरभाडा तिर्न नसकेको श्रेष्ठ बताउँछन् । उनले भने, “मैले भाडामा दिएको दुईवटा सटरको भाडा तिर्न उनीहरुले सकेका छैनन् ।”