देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एसएसपीको बढुवा प्रक्रिया अवरुद्ध

देशान्तर


काठमाडौँ । गत साता चार वर्षे सेवा अबधि पूरा भई अवकाशमा जान लागेका सशस्त्र प्रहरी बलका ४ नायब महानिरीक्षक (डिआइजी)हरूको अवकाशको अघिल्लो दिन गृह मन्त्रालयको प्रस्तावमा उनीहरूको पदावधि एक वर्ष थपेको सरकारले गत भदौदेखि दरबन्दी खाली रहेको नेपाल प्रहरीको रिक्त २५ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को बढुवा प्रक्रिया भने अगाडि बढाउन सकेको छैन । बढुवा प्रक्रिया अवरुद्ध हुनुको प्रमुख कारण शक्तिकेन्द्रको टकराव भएको सुरक्षा स्रोतले जनाएको छ ।
रिक्त दरबन्दीका लागि एकै ब्याची एसपीहरू रहेको, तर एसपीमा बढुवा हुँदा एकै समय नभएका कारणले गर्दा पछि बढुवा भएकाहरूको दबाबमा गृहमन्त्री रमेश लेखकदेखि प्रहरी प्रमुख आईजीपी वसन्त कुवँरसमेत परेको प्रहरी अधिकारीले बताउने गरेका छन् । आईजीपी कुवँरले बढुवाका लागि शक्तिकेन्द्र धाउने प्रहरी अधिकारीलाई कारबाहीको चेतावनीसमेत दिएका छन् ।


एकै ब्याची, तर एसपीको बढुवामा पहिलो चरणका बढुवा भएका अधिकारीभन्दा अन्तिममा भएका एसपीको दबाब तीव्र भएपछि बढुवा प्रक्रिया अवरुद्ध हुन पुगेको हो । पहिलो चरणको बढुवामा १५ जना, दोस्रो चरणमा १६ जना र तेस्रो चरणमा १५ जना, चौथोमा ५ जना र अन्तिम लटमा ८ जनाले डीएसपीबाट एसपीमा बढुवा पाएका थिए । यिनीहरू ०५८ सालका एउटै ब्याचका अधिकृत हुन् । उनीहरूभन्दा दुई वर्षअघि २०५६ मा भर्ना भएका थप तीनजना र उनीहरूपछि एसपी भएका ४ समेत गरी ६६ जना एसएसपीका दाबेदार छन् ।


रिक्त दरबन्दी २५ र दाबेदार ६६ अनि बढुवामा दबाब र शक्तिकेन्द्रको टकरावका कारण एसएसपी बढुवा प्रक्रिया अझै केही समय अलपत्र पर्ने देखिएको छ । ०७५ मा एसपीमा बढुवा पाउने १५ जनामा रमेश थापा, कृष्ण पंगेनी, नवराज अधिकारी, कृष्णप्रसाद कोइरालालगायत छन् । त्यसैगरी ०७७ मा होबिन्द्र बोगटी, प्रभु ढकाल, सन्तोषसिंह राठौरसहित १६ जना एसपीमा बढुवा भएका थिए । ०७७ मै तेस्रो लटमा भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेश काफ्लेसहित १५ जनाले बढुवा पाएका थिए । ०७८ मा बढुवा पाउने पाँचजनामा जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सिनासहित छन् । ०७९मा सीताराम रिजाल, भीमकिरण बोगटीसहित आठ जना एसपीमा बढुवा भएका थिए । ०५६ मा भर्ना भएर ०७५ मा एसपी भएका गोविन्द अधिकारी, विनोद सिलवाल, विमलराज कँडेलसहित तुलबहादुर कार्की, राकेशसिंह राजीव बस्नेत, रामप्रकाश साह र केदार खनालसमेत एसएसपीका दाबेदार हुन् ।