रम्ने रमाउने हो जिन्दगी
जब यात्रा जारी छ
सद्भाव बाँड्ने हो जिन्दगानी
जब मन फराकिलो छ
नपारौँ मन यो सानो
यात्रा अझै बाँकी छ ।
सूर्य उदाएको हेरौँ
हेरौँ इन्दुको बदलिँदो कला
हराएकी सेतीको सहवास खोज्न
कहिलेकाहीँ दोविल्ला पुगौँ
त्यहाँ पनि त मिलन छ एउटा
सेतीको फुस्रेसँगको
मिलन प्रवाह हो सधैँ बाँचिरहने
समय वारिबाट समय पारिसम्म जाने
नदीको संगम प्रवाहको मिलन
फुस्रेको मात्र किन ?
मार्दी, काली, फेदी, विजयपुरको
अनि फुङ्दी, कोत्रे, सरौँदी र माडीको
सेतीसँग अनवरत मिलन एकपछि अर्कोको
अब सेतीले आफ्नो विलय खोज्छिन् त्रिशूलीसँग
त्रिशूलीले काली गण्डकीसँग
दुई मिलेर बनेको भगीरथको नारायणी गंगा
पर खोज्दै जान्छिन् गंगोेत्तरी उद्गम गंगालाई
यो मिलन बन्छ अन्तिम मिलन–प्रवाह
अनि गंगाको अन्तिम विश्राम गंगासागरसँग
अन्तिम विश्रामबाट अर्को आविर्भाव
सागरबाट उठेको बादल
सधैँ सन्देश बोकेर उडिरहेको
सन्देश सृष्टिको, सन्देश ब्रह्माण्डको
लौकिक प्रेमको संगम दुई आत्माको मिलन
म र मेरी प्रियतमाको जस्तो
सधैँ साथ, एउटै श्वासप्रश्वासमा
हामीबाट उद्गम भएका जलधाराहरू
आफ्नै प्रवाहमा दौडिरहेका
हामीलाई केही खुसी दिन
धेरै खुसी आफ्नो बाँड्न
समय बदलिन सक्छ
तर यात्रा अवरुद्ध हुन सक्दैन
सधैँ सधैँ नै जारी रहन्छ
त्यो निरन्तरताको प्रवाह ती जलधाराहरू
अलौकिक प्रेमको मिलन ब्रह्माण्ड समागमको
मिराको नटखट गिरिधरसँग जस्तो
सुझबुझ हराएर पागल बनेकी मिरा
ब्रह्माण्ड सृष्टिमा विलय भएकी
मिलन हो जिन्दगी समय–प्रवाहको
मिलन हो जिन्दगी अन्तिम विश्रामको
रमौँ, हाँसौँ, खुसी बाँडौँ,
त्यो मात्र हाम्रो हो
सीताराम मिलन–पुञ्ज,
जय भनौँ सीतारामको ।
प्रतिक्रिया