काठमाडौं । सरकारले भारतको गुजरातमा हुने लागेको विश्वका विकसित र विकासशील मुलुकहरुको समूह जी२० को तेस्रो अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन अर्थमन्त्री डा. प्रकाशशरण महतको नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ । असार २६ गते भएको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । त्यस्तै, सरकारले समानीकरण अनुदानतर्फ स्थानीय तहलाई हस्तान्तरण गर्न बाँकी रकम हस्तान्तरण गर्ने निर्णय गरेको छ । बैठकले परराष्ट्रमन्त्री एनपी साउद नेतृत्वको प्रतिनिधि मण्डललाई थाइल्याण्डमा आयोजना हुने बिमस्टेक परराष्ट्र मन्त्रीको रिट्रिटमा भाग लिनका लागि स्वीकृत दिने पनि निर्णय गरेको छ ।
त्यसैगरी अत्याधुनिक चलचित्र छायांकन स्टुडियो निर्माणका लागि काभ्रेको बाहुनडाँडा सामुदायिक वनको जग्गा प्रयोग गर्न स्वीकृति दिएको छ । सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । यस्तै, बैठकले नेपाल खुल्ला विश्वविद्यालयको केन्द्रीय कार्यालय भक्तपुरमा तोक्ने निर्णय पनि गरेको छ ।
नेपाल विद्युत प्राधिकरण, चैनपुर सेती जलविद्युत आयोजनाको विद्युत गृहमा रहने संरचना निर्माण कार्यका लागि बझाङ जिल्ला, तलकोट गाउँपालिका वडा नम्बर २ र ३ स्थित करिव ७ हजार ३१९ वर्गमिटर जग्गा प्राप्ति गर्न स्वीकृति दिने,सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८० को म्याद मिति २०८० असार २६ बाट लागू हुनेगरी एक महिना थप गर्ने निर्णय पनि सरकारले गरेको छ ।
त्यस्तै मन्त्रिपरिषद्को बैठकले सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२० (क) बमोजिम म्याद थप भइ चालु रहेका वा म्याद सकिएका तर खरिद सम्झौताबमोजिमको काम चालु रहेका खरिद सम्झौताको सार्वजनिक निकायलाई कुनै प्रकारको दायित्व नपर्ने गरी उक्त कार्य सम्पन्न गर्न लाग्ने वास्तविक थप अवधि यकिन गरी सार्वजनिक निकायका प्रमुखले म्याद थप गर्नसक्ने गरी सार्वजनिक खरिद ऐन, २०६३ को दफा ७४ (ख) बमोजिम बाधा अड्काउ फुकाउन आदेश जारी गर्ने निर्णय भएको छ ।
आ.व. २०७८÷७९ र २०७९÷८० दुई वर्षमा वार्षिक रुपमा न्यूनतम १ सय जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाउन नसकेका इजाजतपत्र प्राप्त संस्थाको इजाजतपत्र आर्थिक वर्ष २०८०÷८१ को लागि नवीकरण गर्न आएमा नवीकरण गरिदिने गरी बाधा अड्चन फुकाउने आदेश जारी गर्ने, पर्यटन विधेयक तर्जुमाको लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, थवाङ गाउँपालिका, रोल्पालाई साविक थवाङ गा.वि.स.वडा नम्बर २ स्थित जग्गा कृषि उपज संकलन तथा बिक्री केन्द्र निर्माण गर्नका लागि प्राप्त गर्न स्वीकृति दिने निर्णय भएको छ । मन्त्री शर्माका अनुसार सरकारले निजामती सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा सहसचिव लक्ष्मीकुमारी बस्नेतलाई बढुवा गर्ने, वन्यजन्तुबाट क्षति भएबापतको राहत वितरण निर्देशिका, २०८० स्वीकृति गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया