देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आजबाट सहिद सप्ताह सुरु

देशान्तर

काठमाडौं । आजबाट सहिद सप्ताह सुरु भएको छ। विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवन बलिदान दिने सहिदहरूको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।

मुलुकमा प्रजातन्त्र स्थापनाका लागि १९९७ माघ १० गते शुक्रराज शास्त्रीले टेकुको पचलीमा आफ्नो जीवन बलिदान दिएका थिए । सोही दिनको स्मरण गर्दै आजबाट उनको टेकुस्थित शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गर्दै सहिद सप्ताह सुरु गरिएको हो ।

तत्कालीन राणा शासकले विक्रम संवत १९९७ माघ १० गते शास्त्रीलाई पचलीस्थित रुखमा झुन्डाएर मृत्युदण्ड दिएको थियो । यस्तै माघ १३ गते सिफलमा धर्मभक्त माथेमा तथा माघ १५ गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिइएको थियो ।

सात दिन सहिद सप्ताह मनाएपछि माघ १६ गते सहिद दिवस मनाउने गरिन्छ । टेकुस्थित शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पणपछि काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले इतिहासको सम्मान गर्नुपर्ने बताइन्।

सो अवसरमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले उनको शालिकमा माला र पुष्पगुच्छा अर्पण गरिन् ।उनले समयसँगै देशको लागि योगदान गर्नेहरुको योगदानको कदर गर्न सक्नुपर्ने बताइन् ।

उपप्रमुख डंगोलले भनिन्, ‘इतिहासको सम्मान गर्न सक्नुपर्छ । समयसँगै योगदान दिनेहरु पनि अस्ताउँदै जानुहुन्छ । त्यसैले उहाँहरूको योगदानको कदर गर्नुपर्छ । पुस्तान्तरण हुनुपर्छ । पुस्तान्तरण भएपछि मात्रै इतिहासलाई बुझ्ने मान्छेले, इतिहासलाई सम्मान गर्ने व्यक्तिले आज वर्तमानमा सच्चा नागरिक भएर काम गर्नसक्छ । भविष्यको बाटो कोर्नसक्छ ।’

उपप्रमुख डंगोलले सहिद सप्ताह स्मरण गर्दा सहिदको जीवनबाट सिक्ने र पुस्तान्तरण गर्नुपर्ने बताइन् । इतिहासलाई बुझेपछि आगामी दिनमा अगाडि बढ्न प्रेरणा मिल्ने उनको भनाइ थियो ।