देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भव्य बन्दै अमेरिकामा बानाको नेपाली सडक महोत्सव


अमेरिका । अमेरिकामा स्थापना भएका विभिन्न नेपाली सङ्गठनहरू मध्येमा सबैभन्दा धेरै सक्रिय संस्था मध्येको एक बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) को आयोजनामा सातौँ संस्करणको सडक महोत्सव गर्ने भएको छ ।

विगतका ६ संस्करणलाई भव्य रूपमा सम्पन्न गरेको बानाले यो पटकको महोत्सवलाई पनि अझ उत्कृष्ट ढङ्गले गर्ने लक्ष्य राखेको छ ।

सन् २०१५ देखि लगातार रूपमा अमेरिकाको बाल्टिमोरमा नेपाली कला, संस्कृति र नेपालको प्रवर्द्धन गर्ने लक्ष्यका साथ यो महोत्सवको आयोजना गर्दै आएको बानाले यो पटकको कार्यक्रमलाई अझ व्यवस्थित र धेरै भन्दा धेरै मानिसहरूको सहभागिता गराउने लक्ष्य राखेको छ ।

बाल्टिमोरको व्यस्त ठाउँमध्येको एक टाउसनको मुख्य ठाउँमा हुने यो महोत्सवका लागि तयारी निकै द्रुत तरिकाले भइरहेको बानाका अध्यक्ष सुबोध पन्तले बताए ।

सेप्टेम्बर १५ तारिख आइतबारका दिन हुने यो कार्यक्रम यो पटक एक दर्जन भन्दा बढी कार्यक्रमहरू राखिएको छ । विगतका बर्सहरूमा झैँ नेपाली संस्कृति झल्किने गतिविधिलाई निरन्तरता दिइनेछ । नेपाल भन्दा धेरै टाढा रहेर पनि नेपाली संस्कृतिलाई विदेशी भूमिमा सबैमाझ देखाउने र यसलाई सबैको नजरमा उत्कृष्ट कार्यक्रम बनाउने लक्ष्यका साथ सातौँ संस्करणको सडक महोत्सवको आयोजना गर्न लागिएको बानाका महासचिव सागर घिमिरेले जानकारी दिए ।

नेपाली दूतावास, बाल्टिमोर सिटी काउन्सिलको समेत सहयोग रहेको यो कार्यक्रमले विगतका बर्सहरूमा राम्रो चर्चा पाउँदै आएको छ । यो कार्यक्रम हेर्नका लागि विदेशीहरूको समेत निकै राम्रो उपस्थिति रहने गरेको छ । विगत ६ वर्षदेखि निरन्तर रूपमा यो कार्यक्रम गर्दै आएको बानाले हरेक संस्करणमा अझ व्यवस्थित गर्दै आएको छ ।

कार्यक्रममा मेरिल्यान्डमा विभिन्न व्यवसायी गर्दै आएका नेपालीहरूको साथ सहयोगका साथै नेपालको संस्कृति झल्किने गरेर स्टलहरू पनि राखिँदै आएका छन् । जुन यो पटक पनि राखिनेछ । यसका साथै महोत्सवमा नेपालको मौलिक सांस्कृतिक लाखे नृत्य तथा अन्य विशेष किसिमका प्रस्तुतिहरू रहने भएका छन् । यसका साथै विभिन्न नेपाली कलाकार र स्थानीय कलाकारको पनि यो कार्यक्रममा प्रस्तुति रहने छ ।

आइतबारका दिन बिहान ११ बजेबाट सुरु हुने यो कार्यक्रम साँझ ५ बजेसम्म चल्ने बताइएको छ । पहिलो संस्करण देखि सातौँ संस्करणसम्म झन्डै नौ वर्षको अन्तरालमा यो कार्यक्रमले मेरिल्यान्डमा आफ्नै छुटै चर्चा कमाइसकेको छ ।

बानाले यो कार्यक्रमको सुरुवात गर्दा जुन किसिमको चुनौती भोग्नु परेको थियो, त्यो सातौँ संस्करणसम्म पुग्दा निकै कम भइसकेको छ । तरपनि सानातिना चुनौतीहरू अहिले पनि बानाले भोग्दै आएको छ । तर पनि यो कार्यक्रमलाई मेरिल्यान्डमा बस्ने नेपालीहरूले आफ्नो संस्कृति झल्काउने कार्यक्रम भनेर राम्रो साथ र सहयोग गर्दै आएका छन् ।

बानाले नेपालमा मनाउँदै आइएका विभिन्न कार्यक्रमहरूलाई मेरिल्यान्डमा रहेका नेपालीहरूमाझ मनाउने गरेको छ ।