काठमाडौं । मौलिक लोक लयात्मक शैलीमा सरल भाकामा बनेको बैंशालु फूल यतिबेला गीतसंगीत बजारमाझ चर्चित छ । कृष्ण समीप सुवेदीको शब्द र संगीत सिर्जनामा तयार भयको यो गीतमा संगीत संयोजन कृष्ण केसीको छ । बैंशालु फूलमा कृष्ण समीपलाई गायिका दीपिका पौडेलले साथ स्वरमा साथ दिएकी छन् । यसको भिडियोमा मोडल तथा नायिका रजनी गुरुङ, सुवेदी, दीपिका पौडेल तथा बालकलाकार सिम्रन खरेलको अभिनय रहेको छ ।
सिर्जना र साधनामा रमाउने बहुप्रतिभाशाली गायक कृष्ण आजभन्दा दुई दशक अगाडि बालापनबाटै नेपाली गीतसंगीतमा होमिएका हुन् । पर्वतको पाङमा जन्मेका गायक समीपले हालसम्म झन्डै ४०० भन्दा धेरै गीतहरूमा आफूलाई प्रस्तुत गरिसकेका छन् । गायनसँगै लेखन र संगीत भर्न पनि खप्पिस छन् । त्यसो त अचेल कुशल मोडलका रूपमा समेत आफूलाई स्थापित गराएका छन् ।
लोक, लोकदोहोरी, लोक आधुनिक, लोक पप र मौलिक सांस्कृतिक भाकाहरूमा समेत पोखिन माहिर छन् कृष्ण समीप ।
गायक समीप गायकमात्र नभएर रेडियो कार्यक्रम प्रस्तोतासमेत हुन् । इमेज एफएममा उनले सञ्चालन गर्ने कार्यक्रम उकाली ओराली, इनसाइड स्टोरी र लोकपपले श्रोतामाझ लोकप्रिय रेडियो कार्यक्रमको छाप छोडेको छ ।
कृष्णका शिरशिर बतास, चल्न माया चल, सलल काली गंगा, मेरा आँखामा, कोरियाको चक्कर, माझी दाइको जिन्दगी, कति राम्रो बिहानीको घाम, मनको तिर्खा मेट्न, घाम पानी घमाइलो, जोर बत्ती पालैमा, सिरुपाते खुकुरी, हेर ऐनामालगायत लोकगीत श्रोता दर्शकले रुचाएका लोकदोहोरी गीत हुन् । त्यसैगरी मेरो कल्पनामा आउने मान्छे तिमी, भागिहाल्यौ अझै भाग, तिम्रो बाटो मेरो बाटो, सुख दुःख, सम्झेर आँसु नझार प्यारीलगायतका आधुनिक गीत र ओ माया बोलन, ए भन्दे बतास, तरकारी काउली, पोखरा जाने घुम्ती छ बाटो, पहिलो चोटी आँखा जुध्दा, सिंगापुरे सोल्टीको मायालगायतका लोकपप गीत पनि चर्चित छन् ।
शास्त्रीय संगीत सिकेर गीतसंगीतमा आएका समीपले देउडा, सालैजो, सेलो, काठे, पुर्बेली चन्डीलगायत नेपालमा प्रचलित भाका गाएका छन । भाइरल हैन सदाबहार बन्न सक्नुपर्छ भन्ने मान्यता राख्ने उनले कृति ल्याउने हो विकृति हैन भन्ने धारणा राख्छन् । आउँदा दिनहरूमा गीतसंगीतमा नयाँ प्रयोगसहित आउने तयारीमा लागेको उनले बताएका छन् ।
प्रतिक्रिया