काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका लागि धमाधम मतदानस्थलमा कर्मचारी खटाउदैछ ।
यही वैशाख १० गते हुने चितवन–२ मा हुने उपनिर्वाचनका लागि मतदानस्थलमा कर्मचारी खटिन थालेका छन् । ४३ वटा मतदान स्थलका १ सय ३८ केन्द्रमा ६ सय ९० जना कर्मचारी खटिएका हुन् ।
मतदान अधिकृतलाई आजदेखि मतदान केन्द्रमा खटाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एक मतदान केन्द्रमा ५ जना कर्मचारी खटाइएको छ ।
कर्मचारीसँगै निर्वाचनका लागि आवश्यक ७७ प्रकारका सामग्री पठाउन लागिएको कार्यालयले जनाएको छ ।
सोही कार्यालयबाट मतपत्र र जिल्ला निर्वाचन कार्यालयबाट अन्य सामग्री वितरण गरिएको छ । उपनिर्वाचनका लागि १ लाख ३८ हजार मतपत्र चितवन पुगिसकेको छ ।
मतदान केन्द्रमा कर्मचारी खटिएसँगै स्थानीय स्तरमा दलका प्रतिनिधिसँग छलफल र अन्य प्रक्रिया सुरु गरिने भएको छ ।
प्रत्येक मतदान केन्द्रमा मतदाता संख्या भन्दा ५ देखि १० प्रतिशत बढी मतपत्र पठाउने कार्यालयले जनाएको छ ।
मतदानका लागि कर्मचारीसँगै सुरक्षाकर्मी समेत शुक्रबार साँझ नै प्रत्येक मतदान स्थलमा पुगिसक्ने छन् । चितवन–२ मा १ लाख २४ हजार ६ सय ९५ मतदाताहरू रहेका छन् ।
प्रतिक्रिया