अछाम । ढकारी गाउँपालिकाका–८ का दुई किशोरी शंकास्पद मृत्यु प्रकरणमा दुई जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको छ । गत शुक्रबार १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको स्थानीय जंगलमा शंकास्पद मृत्यु भएको थियो ।
घटना अनुसन्धानका लागि प्रहरीले आइतबार राति दुईजना र सोमबार दिउँसो ११ वर्षीय बालकसहित तीनजनालाई अनुसन्धानका लागि हिरासतमा लिएको थियो ।
दुईमध्ये एक किशोरी इशरासँग भएको नियमित फोन सम्पर्कलाई मुख्य आधार बनाएर ढकारीकै दुई किशोरविरुद्ध परेको उजुरी प्रहरी कार्यालयमा मंगलबार दर्ता गरिएको हो । नियन्त्रणमा लिइएकामध्ये दुईजनाविरुद्ध किटानी जाहेरी परेको जिल्ला प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।
इशरा र सरस्वतीको शव शुक्रबार स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । दुवै शव १५ मिटरको दूरीमा थिए ।
डीएसपी भण्डारीले शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम जारी रहेको पनि जानकारी दिए ।
उनका अनुसार घटनाको थप अनुसन्धानका लागि काठमाडौंबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली बिहीबार अछाम आउने भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी गणेश चन्दलगायतको विशेषज्ञ टोली मंगलबार साँझ अछाम आइपुगेको छ ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार आइतबार नियन्त्रणमा लिइएका दुईजनाले हत्यामा आफ्नो संलग्नता स्वीकार गरिसकेका छन् । उनीहरूले घटनामा अन्य केहीको संलग्नताबारे जानकारी दिएको ती अधिकारीको भनाइ छ ।
हत्याको पूर्वयोजना नभएको तर घटनास्थल पुगेपछि मात्रै सम्बन्ध बिग्रेको हुन सक्ने किशोरीका एक आफन्तले बताए ।
प्रतिक्रिया