काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले पक्षघातको उपचारका लागि दुर्लभ र महँगो औषधी निःशुल्क उपलब्ध गराउने घोषणा गरेका छन् । पोखरामा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले अमेरिकाबाट प्राप्त सहयोगमा संघीय र प्रदेश अस्पतालमार्फत यस्तो औषधी वितरण गरिने जानकारी दिएका हुन् ।
मन्त्री पौडेलले पक्षघातका कारण हरेक वर्ष झन्डै आठ सय जनाको ज्यान जाने गरेकाले औषधी उपलब्ध गराएर जीवन रक्षा गर्न सरकार कटिबद्ध रहेको सुनाए । उपचार सम्भव भए पनि दुर्लभ र महँगो औषधी नपाउँदा धेरैले ज्यान गुमाईरहेको अबस्थामा अब यसलाई रोक्न सरकारले औषधी प्राप्त गरेर निःशुल्क वितरणको व्यवस्था मिलाएको उनले जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयका अनुसार रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएका व्यक्तिमा पक्षघातको जोखिम उच्च हुन्छ । यस्तो अवस्थामा थ्रोम्बोलाइटिक ड्रग्स नामक औषधीको एक मात्राले जीवन बचाउन प्रभावकारी भूमिका खेल्ने चिकित्सकहरूले बताउँदै आएका छन् । नेपालमा यस औषधीको एक मात्राको मूल्य झन्डै १ लाख ३८ हजार पर्छ, जसले गर्दा धेरै बिरामीले उपचार पाउन सकेका छैनन् ।
अमेरिकी च्यारिटी संस्था डाइरेक्ट रिलिफ र स्वास्थ्य मन्त्रालयबीच पाँच वर्षसम्म औषधी उपलब्ध गराउने सम्झौता भइसकेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिएका छन् । संस्थाले सरकारको मागका आधारमा औषधी उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
मन्त्रालयले औषधी वितरण र उपचारको व्यवस्थापनका लागि निर्देशिका तयार गरिरहेको छ। ।
प्रतिक्रिया