काठमाडौं । नेपाल बार एसोसिएसनले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग गरेको छ । बिहीबार बार महासचिव अञ्जिता खनालले जारी गरेको विज्ञप्तिमा कानुन व्यवसायीमाथिको आक्रमणले स्वतन्त्र न्यायपालिकामाथि अवरोध खडा गरेको उल्लेख छ ।
न्यायालय परिसरभित्रै कानुन व्यवसायीमाथि हुने यस प्रकारका घटनाले स्वतन्त्र न्यायपालिकाको उपहास गर्नुका साथै कानुन व्यवसायीको पेसागत सुरक्षामाथि नै गम्भीर चुनौती देखिएको बारको भनाई छ ।
बारले आक्रमणमा संलग्नहरूको पहिचान गरेर तत्काल कानुनी कारबाहीको माग गरेको छ । यसैबीच बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता शेखर कोइरालाले वरिष्ठ अधिवक्ता त्रिपाठीमाथिको आक्रमण पराजित मानसिकताको उपज भएको बताएका छन् ।
कोइरालाले सामाजिक सञ्जाल एक्समार्फत लोकतन्त्रमा कुनै पनि बहानामा कसैमाथि भौतिक आक्रमण स्वीकार्य नभएको बताएका छन् । उनले पराजित मानसिकताबाट भएको आक्रमणको घटनाको नागरिकस्तरबाटै निन्दा हुनुपर्ने पनि बताएका छन् ।
प्रतिक्रिया