देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज डिसेम्बर २५, विश्वभरका इशाई धर्मावलम्बी ‘क्रिसमस डे’ मनाउँदै

देशान्तर

काठमाडौं । आज डिसेम्बर २५ तारिख, विश्वभरका इशाई धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदै छन् । क्रिश्चियन धर्मका प्रवर्तक येशु ख्रिष्ट (जिसस क्राइस्ट) जन्मेको दिनको सम्झनामा यस समुदायका मानिसले क्रिसमस डे मनाउँदै आएका छन् ।

येशुको जन्म आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका मानिने येशुले तीन मुख्य खुसियाली दिएको नेपाल ख्रिष्टियन महासंघका अध्यक्ष सीबी गहतराजले बताए ।

उनले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रुपमा मनाउने गरेका छन् । मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रुपमा आजको दिनलाई मनाउने गरिएको उनले सुनाए ।

विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं ०६३ पछि महासंघले महोत्सवका रुपमा मनाउने थालेको हो । दिवसका अवसरमा विसं ०६३ देखि ०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो ।

यस अवसरमा विसं ०७५ देखि ०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । विसं ०७८ देखि यस अवसरमा फेरि सबैलाई सार्वजनिक बिदा दिन थालिएको छ ।

हाल नेपालमा ३५ लाख क्रिश्चियन धर्मावलम्बी रहेको महासंघको दाबी छ । १५ हजारभन्दा बढी चर्च बनिसकेको पनि महासंघले बताउँदै आएको छ । नेपालमा क्रिश्चियनका १३ वटै सम्प्रदायका चर्च रहेको जनाइएको छ ।

महासंघ मूल समारोह समितिको आयोजनामा आज दिउँसो क्रिसमस महोत्सव २०८१ आयोजना गरिएको जनाइएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा आयोजना गरिएको कार्यक्रममा सरकारका प्रतिनिधिसहित सबै राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहने अध्यक्ष गहतराजले बताए ।

पछिल्लो समय मुख्य सहरका प्रमुख स्थलमा क्रिसमस ट्री सजाउने गरेको देखिन्छ । विशेषगरी क्रिश्चियन समुदायका विदेशी पर्यटकलाई आकर्षित गर्न साजसज्जा गरिएको छ ।

पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत स्थलमा क्रिसमसको रमझम बढी देखिएको छ । यी स्थानमा येशु ख्रिष्ट जन्मोत्सवका रुपमा क्रिसमस मनाउने तयारी भएको छ ।