काठमाडौं । धार्मिक, सांस्कृतिक एवम् पर्यटकीय दृष्टिले सुसम्पन्न काठमाडौं जिल्लामा अवस्थित एउटा स्थानीय तह हो दक्षिणकाली नगरपालिका । प्रसिद्ध र साक्षात् शक्तिपीठ एवम् नेपालकै प्रख्यात दक्षिणकाली देवीको मन्दिरबाट यस नगरपालिकाको नामाकरण गरिएको हो ।
धार्मिक तथा ऐतिहासिक पवित्र शक्तिपीठ, हिन्दू तथा बौद्ध धार्मिकस्थल, जैविक विविधता र प्राकृतिक सम्पदाले भरिपूर्ण दक्षिणकाली नगरपालिका विभिन्न जातजाति, भाषाभाषी र धर्मावलम्बीको साझा बसोबास रहेको छ । काठमाडौं जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित यस नगरपालिकाको पूर्वमा ललितपुर जिल्ला, पश्चिममा मकवानपुर जिल्ला, उत्तरमा कीर्तिपुर र चन्द्रागिरी नगरपालिका र दक्षिणमा मकवानपुर जिल्ला पर्दछन् ।
विं सं २०७१ सालमा साविकका चाल्नाखेल, सेतीदेवी, शेषनारायण, दक्षिणकाली, टल्कु डुङेचौर र छैमले गाविसलाई समेटेर स्थापना भएको यस नगरपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थलको रुपमा परिचित छ । ४२.६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो नगरपालिकामा ९ वडा छन् ।
सांस्कृतिक र पुरातात्विक महत्वका सम्पदा र मौलिक सभ्यताका अतिरिक्त अनेकौँ जैविक विविधतासमेत दक्षिणकाली नगरपालिका क्षेत्रमा विद्यमान छन् । चाल्नाखेलको बोसन डाँडा, हात्तीवन क्षेत्र, छैमलेको जातीपोखरी, नेपालकै प्रसिद्ध कटुवाल दह जस्ता पर्यटकीय हिसाबले रमणीय र आकर्षक स्थलहरू पनि यसै नगरपालिका क्षेत्रमा छन् । नेपालको पहिलो विद्युत उत्पादन आयोजना चन्द्रज्योति जलविद्युत गृह यसै नगरपालिकामा रहनुले पनि यस क्षेत्रको पहिचानलाई निकै उच्च बनाएको छ । यस नगरपालिकामा ऐतिहासिक धार्मिकस्थल, विभिन्न मौलिक संस्कृति, प्राकृतिक सम्पदाले भरिपूर्ण रहेको पर्यटनको प्रचुर सम्भावना बोकेको छ । धार्मिक धरोहर र जैविक विविधताको प्रचुरताले मनोरम र आकर्षक पर्यटकीय गन्तव्य बनाउन नगरपालिका प्रतिबद्ध छ ।
हिन्दूहरूको शक्तिपीठ दक्षिणकाली मन्दिर, गोपालेश्वर मन्दिर, शेषनारायण मन्दिर, बौद्धमार्गीको पद्मशम्भवले तपस्या गरेको असुरा गुफा र ह्याङलासी गुम्बा, काठमाडौँ जिल्लाकै सबैभन्दा अग्लो वाणासुर डाँडा, कटुवाल दह, सेतीदेवी, वज्रयोगिनी, चौकोटदेवी, गोरखनाथ मन्दिर, झम्केश्वरी मन्दिर, फर्पिङको पौराणिक नेवारी बस्ती यस नगर क्षेत्रका सम्पदा हुन् । लिच्छवीकालीन बस्ती रहेको फर्पिङ सहरको आफ्नो विशिष्टता रहेको पाइन्छ । हरिशंकर जात्रा, बज्रयोगिनी जात्रा, थैली नाच, कात्तिक नाच, लाखे नाच, गाईजात्रालगायतका परम्परागत नाच तथा जात्राले यस नगरपालिकाले उत्कृष्ट सांस्कृतिक नगरीको पहिचान समेत बनाएको छ । दक्षिणकाली नगरलाई धार्मिक पर्यटनका साथै पर्या तथा कृषि पर्यटनको रुपमा विकास गर्ने प्रशस्तै सम्भावना छन् ।
‘समृद्ध पर्यटकीय दक्षिणकाली नगर, कृषि, उद्यमी, सांस्कृतिक सहर’ मौलिक नाराका साथ यस नगरपालिकाले नगर क्षेत्रमा पर्यटन विकासको लागि काम गर्दै आएको छ । सबै प्रकारका मूर्त र अमूर्त धार्मिक, सांस्कृतिक एवम् प्राकृतिक सम्पदाको संरक्षण गर्दै अगाडि बढेको छ यो स्थानीय तह । नगर क्षेत्रको पर्यटन विकासका लागि पर्यटन गुरुयोजना बनाई कार्यान्वयन ल्याउने तयारी गरिरहेको छ । नगरपालिका क्षेत्रभित्र रहेका विभिन्न किसिमका प्राकृतिक तथा धार्मिक तथा सांंस्कृतिक स्थलको विकास गरि आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाले प्रशस्त काम गरेको छ ।
आधुनिक तथा व्यावसायिक शिक्षा, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा, कृषि विकास, उद्यमशीलता तथा रोजगारी प्रवद्र्धन, पूर्वाधार निर्माण, खाद्य सुरक्षा, यातायात व्यवस्थापनमा प्रमुख प्राथमिकता दिँदै आएको छ यो नगरपालिकाले । पछिल्लो पटक यस नगरपालिकामा पूर्वाधार निर्माण, कृषि विकास, स्वास्थ्य, शिक्षा क्षेत्रमा प्रभावकारी र उपलब्धिमूलक काम भएका छन् ।
विकासको पहिलो स्तम्भको रहेको शिक्षामा सबै बालबालिकाको सहज पहुँच हुनुपर्छ भन्ने मान्यतालाई अंगीकार गर्दै नगर क्षेत्रभित्रका विद्यालयहरुका पूर्वाधार विकास र शैक्षिक वातावरणलाई स्वच्छ, मर्यादित र अनुशासित बनाई गुणस्तरीय शिक्षा प्रदान गर्ने क्षेत्रमा यस नगरपालिकाले प्रशस्तै काम गरेको छ । नगर क्षेत्रमा सामुदायिक विद्यालयलाई पूर्ण रूपमा व्यवस्थित गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरणका लागि यस नगरपालिकाले सहयोग गर्दै आइरहेको छ । पछिल्लो पटक यस नगर क्षेत्रमा सामुदायिक विद्यालयहरुमा शिक्षाको गुणस्तरमा वृद्धि भएको पाइएको छ ।
भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा यस नगर क्षेत्रमा विगतको तुलनामा प्रशस्तै काम भएका छन् । वडा र नगरका केन्द्र जोड्ने सडकमा कालोपत्रे वा ढलान गर्ने काम भएका छन् । सडक तथा पुल निर्माणलाई पूर्णता दिन नगरपालिका लागिरहेको छ । नयाँ ट्रयाक खोल्नुभन्दा भैरहेका सडकको स्तरोन्नति गर्ने कार्यलाई नगरपालिकाले प्राथमिकता दिएको छ । सडक पूर्वाधार निर्माण र विकासमा नेपाल सरकार, बाग्मती प्रदेश सरकारका विषयगत मन्त्रालयसँग बजेट विनियोजन तथा लगानीमा सहकार्य, साझेदारी र समन्वय गर्दै अगाडि बढेको छ दक्षिणकाली ।
स्वास्थ्य संस्थाहरूको सबलीकरण गर्दै आवश्यक स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, भौतिक पूर्वाधार विकास तथा उपकरण र औषधिको व्यवस्था गर्दै आएको यो नगरले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क र आकस्मिक स्वास्थ्य सेवालाई सुनिश्चित गर्दै नगरवासीलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच स्थापित गर्न स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्दै आएको छ । कृषि क्षेत्रको विकासका लागि नगर क्षेत्रमा उदाहरणीय काम भएका छन् । उन्नत जातका पशुपालन र व्यावसायिक कृषिमा विभिन्न कार्यक्रम सञ्चालन भएका छन् ।
कृषि क्षेत्रको प्रवद्र्धनका लागि नगरपालिकाले नगर प्रमुख कृषि कार्यक्रम, उपप्रमुख कृषि बजारीकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ । कृषि उत्पादनलाई आधुनिकीकरण गर्न नगरपालिकाले सहयोग गर्दै आएको छ ।
नगरपालिकाको न्यायिक समितिमार्फत नगरबासीलाई परेको समस्या नगरमै समाधान हुँदै आएका छन् । न्यायिक समितिमा परेका उजुरी न्यायिक समितिमार्पmत समझदारीमा समाधान गर्न सफल भएको छ ।
विकेन्द्रीकरणको माध्यमद्वारा जनतालाई विभिन्न योजना, नीति तथा कार्यक्रमको छनोटदेखि कार्यान्वयन, अनुगमन मूल्याङ्कनका हरेक चरणमा बढीभन्दा बढी सबै वर्ग र क्षेत्रको प्रतिनिधित्व हुने गरी सर्वदलीय सर्वपक्षीय माध्यमबाट विकासको गतिलाई अगाडि बढाउँदै आएको छ । नगरपालिकाबाट प्रवाह गरिने सार्वजनिक सेवालाई स्वच्छ, निष्पक्ष, पारदर्शी र जनमुखी बनाएको छ । कर्मचारी प्रशासनलाई पारदर्शी, जवाफदेही, प्रतिस्पर्धी र उत्प्रेरित बनाउन क्षमता विकास, अनमानयोग्य वृत्ति विकास र कार्य सम्पादनमा आधारित प्रोत्साहनको व्यवस्था गर्दै आएको छ ।
स्थानीय तह जनताको सबैभन्दा नजिकको निकाय हो । दक्षिणकाली नगरवासीको जनजीवनमा सकारात्मक परिवर्ततनको अनुभूति गर्ने गरी नगरमा सबै क्षेत्रको विकासमा सम्पन्न बनाउने अभियानमा छ । आधुनिक तथा व्यावसायिक शिक्षा, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा, उद्यमशीलता तथा रोजगार प्रवद्र्धन, पूर्वाधार निर्माण, पर्यटन विकास, खाद्य सुरक्षा, कृषि विकासलाई प्रमुख प्राथमिकतामा राख्दै अगाडि बढेको छ । यी क्षेत्रहरुलाई लक्षित गरेर योजना तयार गरी अन्य सरोकारवाला तथा राष्ट्रिय, अन्तर्राष्ट्रिय साझेदार संघसंस्थाहरुसँग सहकार्य र साझेदारी गरी कार्यान्वयनमा लगिरहेको छ । जनताको भावनालाई कदर गर्दै जनमुखी कार्यक्रम तथा योजना सञ्चालन गर्दै आएको छ । आगामी दिनमा दक्षिणकाली नगर क्षेत्रलाई सबै क्षेत्रमा विकासले सुसम्पन्न गराउन सफल रहोस् ।
प्रतिक्रिया