काठमाडौं । गृहमन्त्री रमेश लेखकले अनुसन्धानमा राजनीतिक हस्तक्षेप हुन नहुने बताएका छन् । उनले मान्छेको अनुहार हेरेर अनुसन्धान नहुने पनि बताए ।
रुपन्देहीमा बुधबार आयोजित पत्रकार भेटघाटमा गृहमन्त्री लेखकले आपराधिक अनुसन्धान विधिसम्मत, कानूनसम्मत रुपले गर्ने समेत बताए ।
शान्ति सुरक्षासँग जोडिने प्रहरी संगठनलाई दुरुपयोग गर्न नहुने भन्दै गृहमन्त्री लेखकले प्रहरी संगठनलाई कसैको पनि हित वा अहितमा अनावश्यक रुपले प्रयोग गर्न नहुने बताए ।
‘मान्छेको अनुहार हेरेर अनुसन्धान हुने होइन । कसैलाई कसैसँग रिस उठेको कारणले अनुसन्धान हुने होइन । प्रमाणले जहाँजहाँ भेट्छ, प्रमाण जहाँजहाँ जान्छ, त्यहाँ अनुसन्धान अघि बढ्छ,’ गृहमन्त्री लेखकले भने । पछिल्लो समयमा सहकारी ठगी गर्ने, अपचलन, हिनामिना गर्ने सयौँ मान्छेमाथि अनुसन्धान भइ कारागार पठाइएको उनले बताए।
गृहमन्त्री लेखकले अभियुक्त लामिछानेलाई चितवनबाट पोखरा लैजाँदा कुनै पनि मानव अधिकारको उल्लंघन नभएको पनि बताए । लाखौँ मानिसको करोडौँ रकम खानेमाथि मानवअधिकार उल्लङ्घन हुने तर लाखौँ मानिसको रकम गुमेकोप्रति मानव अधिकार उल्लङ्घन नहुने हो भन्दै गृहमन्त्री लेखकले प्रश्न गरे ।
प्रतिक्रिया