काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डिजिटल सेवालाई अझै परिष्कृत गर्ने योजनाअनुरूप आफ्नो कर्पोरेट कार्यालयमा ‘स्मार्ट हब’ सेवा सञ्चालनमा ल्याएको छ । गत बुधबार आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सो हब सार्वजनिक गरेका हुन् ।
स्मार्ट हबमा राखिएका मेसिनहरू, जस्तैः चेक जम्मा गर्ने मेसिनबाट ग्राहकहरूले क्लियरिङ चेक डिपोजिट गर्ने, आफ्नो बैंक खाताको विवरण हेर्ने र बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्न मिल्ने सुविधा उपलब्ध छ । क्यास डिपोजिट मेसिनबाट एक हजार, पाँच सय दरका नोटहरू जम्मा गर्न मिल्ने सुविधा उपलब्ध छ ।
डिजिटल बैंकिङ सेवा सिटिजन्स बैंकको सधैँ प्राथमिकता रहेको र यसैको निरन्तरतास्वरूप बैंकले असोज महिनाभर ‘सिटिजन्स डिजिटल महिना’ उत्सव सञ्चालन गर्ने जनाएको छ । यस उत्सवमा फोनपेसँगको सहकार्यमा बैंकले विभिन्न आकर्षक अफरहरू सार्वजनिक गरेको छ ।
जसमा मोबाइल बैंकिङ प्रयोग गरी हबाई टिकट खरिद गर्ने यात्रुहरूलाई चार सयसम्म क्यासब्याक प्राप्त हुने, दसैँमा बैंकको मोबाइल बैंकिङ प्रयोग गरी डिजिटल दक्षिणा दिँदा सो कारोबारमा एक सयसम्म क्यासब्याक प्राप्त हुने बैंकले जनाएको छ । साथै चाडपर्वमा गरेको पहिलो मोबाइल बैंकिङ कारोबारमा ग्राहकहरूलाई आकर्षक क्यासब्याक प्राप्त हुने, ‘दसैँमा चलाऊँ सिटिजन्स कार्ड’ अभियानमा डेबिट र क्रेडिट कार्डको प्रयोगमा आकर्षक क्यासब्याक अफर प्राप्त हुने बैंकले जनाएको छ ।
‘स्मार्ट हब’ सेवा सञ्चालन कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले एकै स्थानबाट जुनसुकै समयमा पनि विनाकुनै झन्झट डिजिटल माध्यमबाट चेक जम्मा गर्ने, नगद जम्मा गर्ने तथा आवश्यक परेको नगद मेसिनबाट प्राप्त गर्ने सुविधा पाउने बताए । साथै, कर्पोरेट कार्यालयबाट सुरु गरिएको सेवा आगामी दिनमा देशका अन्य स्थानबाट समेत सञ्चालन गरिने बताए ।
प्रतिक्रिया