राजनीतिशास्त्री प्रा कृष्ण खनालले धनीको एउटा स्कुल र गरिबको अर्को स्कुल हुने अहिलेको परिपाटी बन्द गर्नै पर्ने बताएका छन्।
स्व. प्रदीप गिरीको दोस्रो स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभागले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै प्राध्यापक खनालले शिक्षामा ‘क्लास क्लस्टर’ बनाइएको बताए । ‘हस्तक्षेप शिक्षाबाटै गर्नु पर्छ। धनीको एउटा स्कुल, गरिबको एउटा स्कुल बन्द गर्नै पर्छ। त्यस पछि स्वास्थ्यमा असमानता छ। सबैले सुपथ, गुण स्तरीय स्वास्थ्य सेवा पाउनु पर्छ। तर यो सरकारले मंत्रीहरुका लागि विलासी आवास बनाइ रहेको छ। के भैसेपाटी समाजवादी रेजिडेंस हो?,” उनले प्रश्न गरे।
२०४७ सालमा कांग्रेस सरकारले निजीकरणको नीति अवलम्वन गर्दै समाजवादी भन्ने कम्युनिष्ट मुलुकहरुको सहयोगमा बनेका कारखानाहरु खारेज गरेको बताए। ‘त्यसको आलोचनाको सत्तामा बस्नेहरुले जवाफ दिनु पर्छ। हिजोको जस्तो समाजवाद आज कार्यान्वयन हुन सक्दैन। समाजवादको कुरा गर्ने हो भने बीपी कोइराला जस्तो जोखिम लिन सक्ने नेता चाहिन्छ। नत्र कांग्रेसले समाजवादको कुरा गर्नु ढोंग हुन्छ। कांग्रेसमा त्यस्तो नेतृत्वको अभाव देखी रहेको छु।’ प्रा खनालले धनी र गरिब बीचको असमानता विश्वव्यापी रुपमा बढेको र नेपालमा पनि बढेको भन्दै छ। समाजवाद अहिले धेरैलाई रुचिको विषय छैन तर समाजवाद अझै सान्दर्भिक रहेको बताए।
बुद्धिजीवी सरकारको निर्देशनमा हिडदैन, तर उसको पनि राजनीतिक आस्था हुन्छ भन्दै प्रा खनालले राजनीतिक आस्था र आफ्नो पेशा व्यवसायबीच लक्ष्मण रेखा कोर्न आग्रह गरे। स्व प्रदीप गिरीमा सुकरातको शैली आफुले पाएको भन्दै उनले चिया गफ गर्दा पनि गम्भीर राजनीतिक विमर्श गर्ने गरेको स्मरण गरे। ह्यारोल्ड लास्की, शशी थरुर, प्रदीप गिरी जस्ता विद्वान आफु सम्बद्ध पार्टीको नेतृत्वमा आउन नसकेको बताउंदै अहिले कांग्रेस लगायतका पार्टीमा विचार नै हराएको उनले गुनासो गरे। २१ औं शताब्दीलाई मार्ग निर्देशन गर्ने विचारको अहिले अभाव छ। अहिलेको राजनीतिमा विचार र छलफलको अभाव छ, प्रा खनालले भने।
गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले नेपाली समाजलाई कहाँ लगिँदै छ भन्नेकुरा शिक्षाको स्तर हेरेर नै थाहा हुने बताए ।
कार्यक्रमका प्रमुख अतिथि रहेका डा. यादवले शिक्षा क्षेत्रको सुधारका लागि सरकारको नेतृत्व तहबाट काम हुन नसक्दा संविधानमाथि दोष दिने गरिएको उल्लेख गरे । शिक्षा विधेयक अहिले संसद्मा रहेको भन्दै यसमा आवश्यक विचारविमर्श गर्न उनले आग्रह गरे । ‘अहिले शिक्षा विधेयक हाउसमा छ । ८० प्रतिशत सामुदायिक विद्यालयहरुमा पर्याप्त शिक्षक छैनन् । ५२ प्रतिशत विद्यार्थी एसइइमा फेल भैरहेका छन् । मुख्य–मुख्य विषयका शिक्षकहरु नै छैनन् । राहत वा सामुदायिकस्तरमै राखेर जेनतेन अध्यापन गराइएको छ । यसले नेपाली समाजलाई कहाँ लगिएको छ भन्ने देखाउँछ । संविधानको दोष छैन,’ उनले भने ।
डा. यादवले संविधानमा गणतन्त्र, लोकतन्त्र, समावेशी र संघीयताको व्यवस्था रहेकाले त्यो कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले ८० प्रतिशत खाद्यान्न ल्याउने अनि समाजवाद खोज्ने परिपाटी गलत भएको पनि बताए । डा. यादवले कांग्रेस पार्टीलाई सत्तामा नगइ नहुने भन्ने सोच नै गलत भएको उल्लेख गर्दै काङ्ग्रेसको इतिहासको स्मरण गरे । उनले अन्तर्राष्ट्रिय स्तरमा कांग्रेसको राम्रो पहिचान रहेको भएपनि काम गर्न नसकेको भन्दै चिन्ता व्यक्त गरे ।
नेपाली काङ्ग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीले नेतृत्व सही ढंगको नआएसम्म व्यवस्था परिवर्तन गरेर मात्र समाज परिवर्तन नहुने बताए । उनले जनताले लडेर व्यवस्था परिवर्तन गरेको तर नेतृत्व विवेकशील हुन नसक्दा समाज परिवर्तन नभएको बताए । उनले भने, ‘व्यवस्था परिवर्तन गरेर समाज परिवर्तन हुदैँन। जबसम्म नेतृत्वको इच्छा शक्ति हुदैँन् तबसम्म परिवर्तन संभव छैन। महिला, दलित, थारु अगाडि आएपनि कसैको पछि लागेर मात्र आउन सके । गल्ती यही भयो । नेतृत्व दुरदर्शी भएन । नेतृत्व आफ्नो परिवार र सम्पत्तिभन्दा बाहिर जान सकेन । यस्तै, उनले समाजवादको कुरा गरेर मात्र केही नहुने भन्दै जनताले महशुस हुने हिसाबले समाजवाद ल्याउनुपर्ने बताए ।
कार्यक्रमको सभापतित्व गरिरहेकी नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभागकी प्रमुख डा. डिला संग्रौलाले स्वर्गीय प्रदिप गिरीले व्यक्त गरेको विचार र अवलम्वन गरेको बाटो आजको दिनमा पनि अपरिहार्य भएको बताइन् । ‘ आजको समाजवाद भनेको महिलाको मुक्ति हो, युवाले मुलुकभित्रै रोजगारी पाउनुपर्छ भन्ने हो, अस्पतालमा विरामीले उपचार पाउनुपर्छ अर्थात संविधानले व्यवस्था गरेको मौलिक हकमा भएको शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी हुनुपर्छ भन्ने हो । किसानले समर्थन मूल्य पाउनु नै समाजवाद हो,’ उनले भनिन् ।
नेपाल प्रज्ञा प्रतिस्ठानमा आयोजित कार्यक्रममा डा उद्धव सिग्देलले “नेपालमा प्रजातान्त्रिक समाजवाद: वर्तमान र भविष्य” विषयक छलफलको उठान गरेका थिए भने सहप्राध्यापक डा लोकनाथ दुलालले कार्यक्रम संचालन गरेका थिए।
प्रतिक्रिया