आठ वर्षपहिले बैकुण्ठवासी भएका बनवारीलाल मित्तलप्रति श्रद्धाञ्जलि अर्पण गर्न गत साता होटल सोल्टीको पुरानो मल्लाहार हलमा जुटेका भद्रजनको भव्य उपस्थितिले उनको लोकप्रियको कथा बताइरहेको थियो । अवसर थियो– बनवारीलाल मित्तल ः एक प्रेरणा पुरुष शीर्षक ग्रन्थको लोकार्पण । मारवाडी समुदायका अतिरिक्त पुराना नेवार व्यवसायीमात्र होइनन्, क्षत्री र बाहुन उद्यमीका सन्ततिको पनि उत्तिकै सहभागिता थियो, त्यसले उनको कुन प्रतिभाले त्यस्तो चमत्कारिक आकर्षण पैदा गरेको रहेछ, त्यसको खोज गर्ने उत्सुकता सबैमा पैदा गरेको हुनुपर्छ । त्यही जिज्ञाशाले मलाई यो टिप्पणी लेख्न कुत्कुत्याएको हो ।
मरेको भोलिपल्ट दुई दिन हुन्छ । त्यसको अर्थ हो, बिस्तारै सबैले बिर्सिंदै जान्छन् । आफ्नै परिवारका मान्यजनमा समेत लागू हुने गरेको छ । तर बनवारीलाल मित्तलमाथि त्यो मान्यता अपवाद हुन पुगेको देखियो । मारवाडी समाजका तन्नेरी, बुढापाका मात्र होइनन्, डा. भोला रिजाल र डा. मोहनमान सैंजू पनि लठ्ठी टेकेर उपस्थित भएको घटना प्रत्यक्ष देखेपछि मित्तलजीको सामाजिक सम्बन्धको लोहा मान्न सबैलाई कर लागेको थियो । यो पंक्तिकारलाई पनि ।
बनवारीलाल मित्तलको विशेषता थियो– सधैं हँसमुख रहने । ख्यालठट्टा गरिरहने, कहिल्यै नहाँसी नबोल्ने । तिनताका शायद, स्वर्गमा पनि त्यस्ता आत्माको अनिकाल पर्न पुगेकाले होला, ईश्वरले उनलाई हामीबाट असमयमै खोसेर लगेको थियो ।
जुनसुकै ठूला पार्टीहरूमा जहाँ पाँच सातजना मानिस एकत्रित भएर ख्यालठट्टा गरिरहेका हुन्थे, त्यो भीडको बीचमा बसेर हँसिमजाक गरेर मनोरञ्जन गराइरहने व्यक्ति बनवारीलाल मित्तल हुन्थे । मारवाडी समुदायका उद्यमीहरूमा आफ्नो मेहनत, परिश्रम र लगनबाट राष्ट्रिय स्तरमा मात्र होइन, विदेशमा समेत नेपालीपनको पहिचान स्थापित गर्न सफल तीन प्रमुख व्यक्तित्वमा मोहनगोपाल खेतान, शंकरलाल केडिया र बनवारीलाल मित्तल, बेग्लाबेग्लै कारणले आफ्नो समयका प्रसिद्ध व्यक्ति बन्न पुगेका थिए । तीमध्ये खेतान पोसाकको सादगीका कारण, शंकर केडिया, कहिलै नछुट्ने नेपाली टोपीका कारण र बनवारीलाल मित्तल हँसिलोपनका कारण ।
प्रसिद्ध उद्यमी विनोद चौधरीले बनवारीलाल मित्तलका सन्दर्भमा भनेका छन्– उनको सबैभन्दा ठूलो विशेषता भविष्यको आकलन गरेर व्यवसाय परिवर्तन गर्न सक्ने असाधारण गुण र क्षमता थियो । परम्परागत कपडाको व्यवसायबाट ठूलो फड्को मारेर निर्माण व्यवसायी बन्ने मात्र होइन, हेलिकोप्टरजस्तो अत्याधुनिक प्रविधिको सेवा, स्वदेश र विदेशमा विस्तार गर्ने जुन सोच र साहस उनले प्रदर्शन गरेका थिए त्यो तारिफ लायक मात्र थिएन, अनुकरणीय पनि थियो । त्यसले उनलाई वास्तवमा सबैका प्रेरणापुरुष तुल्याएको थियो ।
आफ्नो देश, धर्म र जातिप्रति उनको लगाव र समर्पण यस्तो थियो कि विसं. २००१ सालमा उनका पिता साहु हनुमानप्रसादको निधनका बेला गोरखापत्रले प्रकाशित गरेको संक्षिप्त समाचारलाई उनले आफ्नो समुदायको अमूल्य निधि ठानेर प्रत्येक वर्ष त्यसको कटिङसहितको विज्ञापन छपाउने प्रथा नै चलाएका थिए । उनको त्यो गौरवमय परम्परालाई उनका सन्तानले पनि निरन्तरता प्रदान गर्दै आएका छन् ।
परोपकार पुण्याय, पापाय परपीडनम्का सच्चा अनुयायी उनले गरिब तथा असहायको सेवामा आफूलाई कसरी समर्पित गरेका थिए, उक्त ग्रन्थमा त्यसको सविस्तार वर्णन गरिएको छ । उनको आत्माको चिरशान्तिका लागि हार्दिक प्रार्थना गरौं !
प्रतिक्रिया