रामचन्द्र पौडेल, राष्ट्रपति हुनु अगाडि जति बेला नेपाली कांग्रेसका वरिष्ठ नेता थिए, त्यसभन्दा पनि धेरै अगाडि, जुन बेला जल्दोबल्दो र जुझारु क्रान्तिकारी विद्यार्थी नेता थिए, त्यसबेला उनले झेल्नु परेको गरिबी, अभाव र भोकमरीबाट उत्पन्न एसिडिटी र त्यसको पनि चरमोत्कर्ष अल्सरको असाध्य अवस्था बोकेर संघर्षको मैदानमा भोकै र प्यासै होमिनुको स्वाभाविक परिणामको क्षतिपूर्ति अहिले व्यहोर्नु परेको छ भन्ने अरुको के कुरा, उनकै परिवारका धेरैलाई थाहा नहुन सक्छ । त्यो किन पनि सत्य हो भने रामचन्द्र पौडेलमा आफ्नो पीडा अरूलाई पोखेर आफू हलुका हुने प्रवृत्ति पटक्कै छैन । बरु, आफू भोकै बस्नु परे पनि सहयोगी साथीहरूलाई ख्वाइसकेपछि बाँकी बचेको आफूले खाने उनको आदतको स्वभाविक परिणाम थियो, आजभन्दा झन्डै ६० वर्ष अघिको अल्सर ! त्यही पेप्टिक अल्सर रोगको समयमै राम्रो उपचार हुन नसकेकाले वर्तमान अवस्था उत्पन्न हुन पुगेको हो ।
नेपाल र भारतका अनेक रोगका विशेषज्ञ चिकित्सकहरूका टोली, महिनौंदेखि उनको रोगको निदान गर्न असमर्थ छन् । त्यस्तो अवस्थामा ५० वर्षअघि जेलमा अल्सरको असरबाट जोगिन उसिनेका तरकारी मात्र खाने गरेको र कुनै दिन, लापरवाह भएर चिल्लो, पिरो र अमिलो तरकारी तथा अचार खायो कि भोलिपल्टै त्यसको प्रतिकूल परिणम देखिने गरेको प्रत्यक्षदर्शी भएकाले पनि उनका अहिलेको अवस्थाप्रति यति त अनुमान लगाउन सकिन्छ कि उनको रोग, उमेरका साथै बढेका र फैलिएका अल्सरका अतिसार हुन् । यो निष्कर्ष चिकित्सक टोलीलाई चुनौती अथवा चेतावनी होइन, केवल लेखकका अनुभवजन्य संस्मण मात्र हो, सल्लाह वा सुझाव होइन ।
विक्रम सम्वत्को बीसको दशक, रामचन्द्र पौडलजस्ता संघर्षशील तथा परिवर्तका लागि मरिमेट्ने तन्नेरी पुस्ताका निम्ति त्याग र बलिदानको रोमाञ्चकारी कालखण्ड मात्र थिएन, गर या मरको चुनौतीपूर्ण समय पनि थियो । राजा महेन्द्रले २०१७ साल पुस १ गतेको अपहरण गरेकाले प्रजातन्त्रको पुनस्र्थापना उनीहरूको जीवनकालको सबैभन्दा ठूलो चुनौती थियो र त्यसको सामना गरेर प्रजातन्त्र पुनस्र्थापना गरिछाड्ने तरुणहरूको संकल्प थियो । त्यो पुस्ताका आँखामा परिवर्तनको त्यस्तो सपना स्थापित गराउने नेताहरूका पनि नेता थिए– रामचन्द्र पौडेल । त्यसैले उनको संघर्ष राजासँग मात्र सीमित थिएन, पुलिस, प्रशासन, घरपतिका सँगसँगै भोग र रोगसँग पनि उत्तिकै थियो ।
काठमाडौंका गल्लीहरूमा डेरा लिएर बसेका विद्यार्थीहरूलाई आन्दोलनका लागि संगठित तुल्याउने क्रममा रोग, भोक र शोक तीनै थरीसँग एकसाथ संघर्षमा जुट्नुको स्वाभाविक परिणाम थियो, त्यसबेलाको अल्सर, अनि त्यही अल्सरको उन्नत तथा विकसित अवस्था हो– आजको ‘अन्योल’ । समयमा बिहान बेलुकाको खाना खान नपाउनेले दिउँसो खाजा खान पाउने कुरा पनि हुँदैनथ्यो । खल्तीमा पैसा नहुँदा र पुलिसबाट जोगिएर हिँडनु परेका बेला, खाना र खाजाको खोजमा अल्झिने सवाल पनि उठेन । भोकै र प्यासै हिँड्न थालेपछि माया गर्ने भनेको त्यही एसिडिटी र अल्सरले हो । त्यसैको सार अहिले रोग खुट्टिन नसकेको अवस्थामा प्रकट भएको हो ।
उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्नेको जुन लहर देशभित्र मात्र होइन, बाहिरका नेपालीमा पनि जसरी चलिरहेको देखिएको छ, त्यसले पनि देश र जनताप्रति उनको निस्वार्थ त्याग, तपस्या र समर्पणको उच्च कदर मात्र भएको छैन, उनको सादा जीवन र उच्च विचारको पनि समुचित सम्मान हुन पुगेको छ । त्यत्ति मात्र होइन, त्यसबाट उनी नेपालीका मन र मस्तिष्कलाई छुने दुर्लभ श्रेणीका नेतामा कसरी स्थापित हुन पुगेका रहेछन्, त्यो पनि पुष्टि भएको छ । हामी पनि देश र जनताका लागि उनको शीघ्र स्वाथ्यलाभ, आवश्यक मात्र होइन, अपरिहार्य पनि छ भन्नेहरूको पंक्तिमा आफूलाई खडा गर्न चाहन्छौं ।
प्रतिक्रिया