काठमाडौँ। चिया उत्पादनका लागि सरकारले चासो नदिएको गुनासो सरोकारवालाले गरेका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २०औँ राष्ट्रिय चिया दिवसका अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले चियाको सम्भावना धेरै भए पनि सरकारले चासो नदिएकाले फस्टाउन नसकेको गुनासो गरेका हुन् ।
बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले बर्सेनि अर्बौंको चिया निर्यात गरेर विदेशी मुद्रा आर्जन गरे पनि सरकारबाट उचित तरिकाले चियाको विकासमा सहयोग पु¥याउन नसकेको बताए ।
“चियामा पर्याप्त अनुसन्धान नहुँदा यसले व्यापकता पाउन सकेको छैन”, उनले भने – ‘‘उन्नत जातको पहिचान र प्रविधिको विकासबाट चियाखेतीलाई विस्तार गर्नुपर्ने आवश्यकता छ ।” उनका अनुसार आव २०७२÷७३ मा १३ हजार २८९ मेट्रिक टन चिया विभिन्न देशमा निर्यात गर्दै रु दुई अर्ब ४० लाख आर्जन गरिएको छ ।
चिया व्यवसायी दीपक बास्कोटाले सरकारको चियालाई हेर्ने स्पष्ट दृष्टिकोण नभएकाले व्यवसायले गति लिन नसकेको धारणा राखे । उनले सरकारले कृषि क्षेत्रमा बिमा गर्दै आएको उल्लेख गर्दै चियाको पनि बिमा गरिदियो भने व्यवसायीलाई राम्रो हुने विचार व्यक्त गरे ।
विसं १९२० वाट व्यावसायिक रुपमा चियाखेतीको सुरुवात भएकामा अहिले झापा, इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, कास्की, लमजुङ, ललितपुर, दोलखा, रामेछाप लगायत २४ जिल्लामा २७ हजार ६८८ हेक्टर क्षेत्रफलमा चियाखेती भइरहेको छ ।
चियाको बिक्री केन्द्र स्थापनाको तयारी
बोर्डले एकद्वार प्रणालीबाट चियाको बिक्री वितरण गर्नका लागि चिया अक्सन केन्द्र बिक्री केन्द्र स्थापनाको तयारी थालेको छ ।
बोर्डका कार्यकारी निर्देशक गौतमले आउँदो आवबाट सामूहिक रुपमा बिक्री वितरण गर्नका लागि अक्सन केन्द्र स्थापना गर्न थालिएको जानकारी गराए । केन्द्रका लागि सरकारसँग रु ५० लाख माग गरिएको छ ।
प्रतिक्रिया