काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनको मिति नजिकिँदै गर्दा संस्थापन पक्षबाट एउटै उम्मेदवार बनाउन दबाब पर्न थालेको छ । सभापति सुशील कोइरालाको निधनसँगै संस्थापन पक्षकै आधा दर्जन नेता सभापति प्रत्याशी बताउन थालेपछि पूर्व जिल्ला सभापतिले दबाब बढाएका छन् ।
संस्थापन पक्षबाट नै कार्यवाहक सभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, सशांक कोइराला र सुजाता कोइरालाले सभापति प्रत्याशीका रुपमा सक्रियता बढाएपछि पूर्व जिल्ला सभापतिहरु एउटै उम्मेदवार बनाउन लागिपरेका हुन् । काठमाडौंमा उपलब्ध पूर्वसभापतिहरु शिव हुमागाईं, रामनाथ अधिकारी, भीमसेनदास प्रधान, तप्तबहादुर विष्ट, प्रकाश शर्मा पौडेल, रामचन्द्र खड्का, ताराबहादुर कोइराला, टेकबहादुर गुरुङसहित नेता सक्रिय छन् ।
वरिष्ठ नेता शेरबहादुर देउवा सभापति प्रत्याशीका रुपमा प्रस्तुत हुँदासमेत संस्थापन पक्षबाट साझा उम्मेदवार बनाउने पहल नभएको भन्दै उनीहरुले बुधबार बिपीपुत्र शशांकलाई भेटेर सहमति प्रयास गर्न आग्रह गरे । नागरिक दैनिकमा समाचार छ ।
]]>
प्रतिक्रिया