देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महामन्त्रीमा कोइराला र कोषाध्यक्षमा यादव विजयी

देशान्तर

काठमाडौं । नेपाली काँग्रेसको १३औँ महाधिवेशनबाट पार्टीको महामन्त्रीमा डा शशांक कोइराला र कोषाध्यक्षमा सीतादेवी यादव विजयी भएका छन् ।

यही फागुन २३ गते राष्ट्रिय सभागृहमा भएको निर्वाचनको आज पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको मतगणनामा महामन्त्री पदका उम्मेदवार कोइराला एक हजार ४१७ मत ल्याई विजयी भए ।

उनका निकटतम प्रतिद्वन्द्वी अर्जुननरसिंह केसीले एक हजार १७ मत प्राप्त गरेका छन् । महामन्त्री कोइरालाले निकटतम प्रतिद्वन्द्वी केसीलाई ४०० मतअन्तरले हराउँदै विजयी भएका हुन् । अर्का उम्मेदवार गगनकुमार थापाले ५८४ मत प्राप्त गरेका थिए । कोइराला पौडेल समूहबाट महामन्त्रीका उम्मेदवार बनेका हुन् भने केसी देउवा पक्षबाट उम्मेदवार बनेका थिए ।
 
काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाका कान्छा सुपुत्रका रुपमा २०१५ सालमा विराटनगरमा जन्मिएका कोइराला आँखा विशेषज्ञ हुन् चिकित्सक हुन्  । कोइराला चिकित्सा क्षेत्र हुँदै २०४६ सालपछि राजनीति क्षेत्रमा प्रवेश गरेका हुन् ।
 
कोइराला १२औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । उनी २०६४ र २०७० सालको संविधानसभाको निर्वाचित सभासद् हुन् ।
 
यस्तै कोषाध्यक्ष पदमा सीतादेवी यादव एक हजार २१७ मत ल्याई विजयी भएकी छिन् । उनको निकटतम प्रतिद्वन्द्वी चित्रलेखा यादवले एक हजार २१७ मत प्राप्त गरिन् । कोषाध्यक्ष सीतादेवीले चित्रलेखालाई आठ मतअन्तरले हराउँदै विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

मतगणनाको प्रारम्भदेखि नै उनीहरुबीच निकै प्रतिस्पर्धा देखिएको थियो । दुवैले सिरहा जिल्लाबाट व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्दै आएका छन् । कोषाध्यक्ष पदका अर्का उम्मेदवार उमाकान्त चौधरीले ४५७ र कृष्ण कार्कीले ६६ मत प्राप्त गरेका छन् ।
 
चित्रलेखा देउवा पक्षबाट उम्मेदवार बनेकी हुन् भने सीतादेवी पौडेल पक्षधर हुन् ।

सीतादेवीले काँग्रेस सिरहा जिल्ला सभापतिमा दुई कार्यकालको जिम्मेवारी निर्वाह गरिसकेकी छिन् ।  चित्रलेखाले पार्टीको कोषाध्यक्ष, उपसभामुख, शिक्षामन्त्रीलगायतको जिम्मेवारी निर्वाह गरिसकेकी छिन् ।
 
पार्टी पदाधिकारीसहित ६४ पदका लागि यही फागुन २३ गते भएको निर्वाचनमा कुल तीन हजार १६१ मतदातामध्ये तीन हजार १४८ ले मतदान गरेका थिए ।
 
सभापतिमा कुनै पनि उम्मेदवारले विधानतः आवश्यक बहुमत ल्याउन नसकेपछि फागुन २४ पुनः निर्वाचन भएको थियो । सभापतिमा शेर बहादुर देउवा निर्वाचित भइसकेका छन् ।
 
खुला केन्द्रीय सदस्यमा २५ पदका लागि ९० जनाको उम्मेदवारी परेको छ । आरक्षणतर्फ छ महिला केन्द्रीय सदस्य पदका लागि ३८, प्रदेश नं १ मा दुई केन्द्रीय सदस्यका लागि १३, प्रदेश नं २ मा पाँच, प्रदेश नं ३ मा १८, प्रदेश नं ४ मा नौ, प्रदेश नं ५ मा १०, प्रदेश नं ६ मा पाँच र प्रदेश नं ७ मा दुई पदका लागि सात जना उम्मेदवार मैदानमा छन् ।
 
आरक्षणमा आदिवासी जनजातितर्फ तीन केन्द्रीय सदस्यका लागि ४०, आदिवासी जनजाति महिलातर्फ दुईका लागि १२, दलित तीनका लागि २०, दलित महिलातर्फ दुईका लागि पाँच, मधेसी आरक्षणतर्फ तीनका लागि १५ र मधेसी महिलाका लागि नौ र मुस्लिम आरक्षणतर्फ एक पदका लागि छ जनाको उम्मेदवारी परेको छ ।

]]>