देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचनको मिति घोषणा

देशान्तर

काठमाडौँ – राष्ट्रिय सभा सदस्य रहेका चन्द्रबहादुर खड्का निर्वाचित भएको दल नेकपा (माओवादी केन्द्र) छोडेर नेकपा (एमाले)मा प्रवेश गरेपपछि रिक्त रहेको सिटमा जेठ १७ गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले बुधबार लुम्बिनी प्रदेशमा हुने उक्त उपनिर्वाचनको मिति घोषणा गरेको हो । 

‘लुम्बिनी प्रदेशको अन्य समूहको तर्फबाट राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित माननीय चन्द्रबहादुर खड्काको रिक्त पदपूर्तिका लागि राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ५ बमोजिम नेपाल सरकारको मिति २०७८-१-१९ को निर्णयानुसार सम्वत् २०७८ साल जेठ १७ गते सोमबारका दिन राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मिति घोषणा भएको छ,’ आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

उक्त उपनिर्वाचनका लागि बुधबार नै कार्यतालिका स्वीकृत भएको पनि श्रेष्ठले जानकारी दिए । निर्वाचन आयोगले जारी गरेको कार्यतालिकाअनुसार जेठ १७ गते बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । निर्वाचन अधिकृतको कार्यालय लुम्बिनी प्रदेशको राजधानी तोकिएको दाङ जिल्लाको सदरमुकाम घोराहीस्थित प्रदेश निर्वाचन कार्यालयमा स्थापना गर्ने निर्णय भएको पनि आयोगले जानकारी दिएको छ ।