डा. विदुरप्रसाद चौलागाईं
हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेज एन्ड टेक्नोलोजी (हिकास्ट) ले १२ जेठ २०७३ मा १५ वसन्त पूरा गरी १६ औं वर्षको किशोरवयमा प्रवेश गरेको छ । यो संस्थालाई जीवन दिई यति लामो यात्रा तय गराएर यहाँसम्म ल्याई पुर्याउनुमा मुख्यत: यस संस्थामाथि विश्वास र भर गरी आफ्ना सन्तानलाई आफूले कमाइ गरी अथवा दु:खजिलो गरी सञ्चित गरिराखेको धनसम्पत्ति खर्च गरेर पढाउन पठाउने अभिभावकहरू मुख्य रूपले धन्यबादका पात्र छन् । तर यो संस्थाको सुरुवाती कल्पना, स्थापना र विकासमा यस लेखका पंक्तिकारलगायत अरू कृषि, पशु–विज्ञान तथा चिकित्सक र अन्य विज्ञान–प्रविधि क्षेत्रका मूर्धन्य कृषि शिक्षक, वैज्ञानिक र पेसागत प्राविधिकहरूको शुभेच्छा र सहयोगको उत्तिकै महत्वपूर्ण हात रहेको छ ।
हिकास्टको परिकल्पना भनेको देशमा आधुनिक कृषि विज्ञान र जैविक प्रविधि, परम्परागत दिगो खेती र रैथाने ज्ञान र स्रोतहरूको कुशल संयोजनबाट दीक्षित कृषि वैज्ञानिक, शिक्षक, भविष्यका इमानदार नेता, कुशल प्रशासक र उच्चस्तरीय प्राविधिकहरू जन्माउनु हो । यस कृषि कलेजको परिकल्पनाको उद्भव मस्तिष्क यस कलेजका संस्थापक अध्यक्ष डा. विनायक राजभण्डारीको हो भने उहाँले यस पंक्तिकारबाट ठोस कार्य गरी अघि बढ्नका लागि सहकार्यको अठोट प्राप्त गर्नुका साथै कृषि शिक्षण तथा अनुसन्धानसँग सम्बन्धित अन्य सहकर्मीहरू डा. मनराज कोलाक्षपति र डा. मोहन खरेलको साथ सहयोगपछि अवधारणाले मूर्त रूप लिएको थियो । त्यसपश्चात्का बैठकहरू र कागजी कामकाजका लागि ठाउँ र स्रोतसाधनहरूसमेत उपलब्ध गराएर महिला पुनस्र्थापना केन्द्र, गौरीघाट, काठमाडांैले गुन लगाएको थियो । प्रारम्भिक छलफलको निचोड र थप गृहकार्यहरूबाट १५ जना संस्थापक सदस्यहरूको सहभागितामा कलेज स्थापनाको ठोस रूप दिन र नेपाल सरकारको कानुनी मान्यता प्राप्तिका लागि २०५७ जेठ १२ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा यो कलेज दर्ता भएपश्चात पूर्वाञ्चल विश्वविद्यालयको शैक्षिक, प्राज्ञिक र प्रशासनिक सर्तहरू पूरा गरेर उक्त विश्वविद्यालयको सम्बन्धन प्राप्त गरेको हो ।
हिकास्ट स्थापनाको उद्देश्य गुण्स्तरीय शिक्षामार्फत कृषि क्रान्ति हो भने यसको लक्ष्य दिगो र समुन्नत कृषिमार्फत देशको सम्मृद्धि रहेको छ । यस उद्देश्य पथमा विगत १५ वर्षदेखि निरन्तर लागेको यस संस्थाले आफ्नो लक्ष्य अनुरूप कृषि शिक्षा र शिक्षणमा नवीनता र मौलिकताको प्रयोगपश्चात करिब ५०१ स्नातक र स्नातकोत्तर स्तरका कृषि वैज्ञानिक तथा उच्च–प्राविधिकहरू उत्पादित र दीक्षित भई देशका सरकारी, गैरसरकारी, सामुदायिक र निजी क्षेत्रमा कार्यरत भएर हिकास्टको लक्ष्यलाई आफ्नो कार्यक्षेत्र मार्फत पूरा गरिरहेका छन् । यसका साथै उल्लेखनीय संख्यामा यस कलेजका पूर्व विद्यार्थीहरू विदेशी विश्वविद्यालयहरूमा अध्ययनरत रहेका र केहीले विदेशमा नै आफ्नो विज्ञतासम्बन्धी क्षेत्रमा काम गरिरहेका छन् ।
सुरुका अप्ठ्यारा दिनहरू– निजी क्षेत्रको सक्रियतामा खोलिएको कृषि कलेजको समाचारले सम्बन्धित क्षेत्रका विज्ञहरूका साथै अन्य सर्वसाधारणहरू माझ जिज्ञासा र रोमाञ्चकता एकातिर भरेको थियो भने ‘काठमाडांै उपत्यकामा पनि कृषि कलेज ?’ यस्तो कलेज त हजारौं बिघा जग्गा र हजारौं पशुपंक्षीहरू भएको व्यापक क्षेत्रफल ओगेटेको तराईको कुनै विशाल मैदानी भेगमा पो हुनुपर्छ, यो कलेज त शिक्षाका नाममा ठगी खान खोलिएको व्यापारिक संस्था हो भनेर हल्लासमेत चलाइयो । कृषि कलेजको स्थापना र सञ्चालनका लागि दूर देहात नै चाहिन्छ भनेर हल्ला गर्ने व्यक्तिहरूमा विदेशमा सुविधा सम्पन्न ठूला सहरभित्रकै विश्वविद्यालयहरूबाट डिग्री बोकेर आएका कृषिविद् वा अन्य क्षेत्रका स्नातकहरूसमेत हुन्थे । यस्ता भनाइबाट उनीहरूको नियत त कलेजले बुझ्थ्यो तर सर्वसाधारणले देशमा चितवनको देहाती क्षेत्र रामपुरमा बाहेक अन्य कृषि कलेजहरू नेदेखेको हुनाले उक्त हल्ला सत्य पो हो कि भनेर शंका गर्ने अवस्था सिर्जना हुन गएको थियो । यस्ता हल्लाहरूले राजधानीमै बसी अत्यन्तै नयाँ र मौलिक पाठ्यक्रमसहितको कृषि विषय पढ्छु भनेर रोज्ने विद्यार्थीका अभिभावकहरूलाई हिकास्टमा आफ्ना सन्तानलाई पठाउने कि नपठाउने भन्ने द्विविधामा पार्यो । यसखाले खराब नियतको होहल्लाका नतिजास्वरूप स्थापनाको पहिलो वर्षको जनस्तरको व्यापक अपेक्षाका विपरीत दोस्रो र तेस्रो वर्षमा विद्यार्थी भर्नामा व्यापक गिरावट आयो र कलेज थला पर्ने स्थितिमा पुग्यो । यस्ता हल्लाहरूले सत्यका अघि स्थान नपाएपछि क्रमश: स्थितिमा सुधार आयो र कलेजले गति लिन पायो ।
यदि खेतबारीको क्षेत्रफल र गाईबाख्रा आदिको गोठले मात्रै कृषि पेसामा सुधार र उन्नति हुन्थ्यो होला भने पुस्तौंदेखि खेत खलियानीमा जीवन बिताएका नेपालका गाउँ देहातका किसान नै कृषि प्राविधिक र वैज्ञानिक भएर निस्किई देशको कृषिमा आधुनिकीकरण र औद्योगिकीकरण शताब्दी पहिले नै भइसकेको हुने थियो, तर कुरा त्यसो होइन । यसो भन्नुको मतलब फेरि किसानहरूसँग भएको कृषि ज्ञान र प्रविधिका हजारौं वर्षदेखिको अनुभवलाई कम मूल्यांकन गर्न भने कदापि गरिएको होइन ।
हिकास्ट शिक्षण विधि– तर यस्ता खाले गैरबौद्धिक कसरत र हल्लामा कुनै तुक नभएको कुरा हिकास्टको १५ वर्षले व्यावहारिक रूपमै पुष्टि गरिदिएको छ । हिकास्टमा विद्यार्थीले पहिले विश्वविद्यालयको कक्षा कोठामा हालसम्म भएका वैज्ञानिक खोज र सैद्धान्तिक ज्ञानहरूको निचोड आफूभन्दा अग्रज विज्ञहरूबाट लिएर उनीहरूको साथ–सँगमा लागेर आधुनिक प्रयोगशालाहरूमा परीक्षण तथा अनुसन्धान प्रक्रियाहरू सिक्नुपर्दछ । त्यसपछिको वा सँगैको चरणहरू चाहिँ फेरि खेतबारी, गाउँगोठमा गएर किसानहरूसँग बसेर व्यावहारिक र अन्य प्रयोगात्मक ज्ञान प्राप्त गर्ने र यस्ता व्यावहारिक ज्ञानहरू सिकेर फर्किएपछि विश्वव्यापी मान्यता बोकेको विश्वविद्यालयको परीक्षा प्रणालीमा समेत खरो भएर निस्किएपछी मात्रै कृषि वैज्ञानिक र प्राविधिक भएर एउटा व्यक्ति निस्कन्छ भन्ने अवधारणा र मान्यता हिकास्ट र यसको प्राज्ञिक सम्बन्धन भएको पूर्वाञ्चल विश्वविद्यालयको रहेको छ ।
उपलब्धि– विश्वविद्यालयस्तरको शिक्षामा विद्यार्थीले पाएको ज्ञान उसको लब्धाकपत्र तथा कलेजको शैक्षिक स्तर, उसले उत्पादन गरेको विद्यार्थीको टाउको गनेर र पाएको जागिर हेरेरमात्रै गर्नु एकांकी हुनेछ । तथापि यस कलेजबाट हालसम्म कृषि विज्ञान तथा प्रविधि र पशुचिकित्सा कार्यक्रममा करिब २७४ जना स्नातक र दुग्ध तथा मासुजन्य प्रविधि र कृषि विज्ञान व्यवस्थापनमा गरी करिब २२७ जना स्नातकोत्तरहरू उत्पादित भई आआफ्नो प्राज्ञिक तथा पेसागत र व्यावसायिक कार्यक्षेत्रमा सीप र ज्ञानले भरिपूर्ण भएको दृढ आत्मविश्वास र सम्मानका साथ काम गरिरहेका छन् ।
पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धन र स्वीकृतिमा यस कलेजले आगामी शैक्षिक वर्षदेखि देश र समयको माग बमोजिमका दिगो कृषि र जलवायु परिवर्तन, व्यावसायिक बागबानी र पशु प्रजनन तथा पशु–जैविक प्रविधि गरी नयाँ तीन शैक्षिक कार्यक्रमहरू चलाउने पूर्ण तयारीमा छ । यसका साथै कलेजको सम्पत्तिको रूपमा कामनपा, कलंकीमा दुई रोपनी जग्गामा एक पाँचतले सुविधायुक्त भवन, ललितपुर, बाँडेगाउँमा करिब नौ रोपनी जग्गामा एकीकृत कृषि तथा पशुपंक्षी फार्म र कीर्तिपुरमा करिब १० रोपनी जग्गामा आधुनिक सुविधा सम्पन्न कलेज तथा प्रयोगशाला र फार्मको निर्माणका लागि योजना र नक्सा तयार गरी निर्माण प्रारम्भको प्रक्रियामा छ र कलेजलाई उपत्यकाका तीन सहरहरूमा फैलाउन सक्षम भएको छ ।
निजी–निजी तथा निजी–सार्वजनिक सहकार्य : देश र समाजमा उपलब्ध स्रोतको समानुपातिक र न्यायपूर्णरूपले सबैले समान अवसर पाउने गरी उपयोग गर्न नदिइनु, नपाउनु र विनामूल्य, एकलौटी र बिना उपादेयता अत्यधिक उपयोग गर्नु पनि स्रोतमाथिको अन्याय र नैतिक भ्रष्टाचार हो । प्रत्येक वस्तु–स्रोतको निश्चित आयु हुन्छ र कतिपय अवस्थामा उपयोगमा नआएको खण्डमा मासिएर, नासिएर र खिया लागेर जाने हुन्छन् । देश–समाजमा उपलब्ध साधनस्रोतको समूचित उपयोग गरी पुँजी र मानवस्रोतको दोहोरो लगानीबाट हुने दुरुपयोगबाट जोगिएर उपलब्ध स्रोतहरूको राष्ट्रहितमा अधिकतम उपयोग हुनुपर्छ भन्ने हिकास्टको मान्यता र आग्रह छ । यस परिप्रेक्ष्यमा माथि भनिए अनुरूप देशका कृषि–पशु विकास क्षेत्रसँग सम्बन्धित सरकारी–सार्वजनिक निकायहरू, त्यसका अधिकारीहरू र साथै साना ठूला स्तरका निजी कृषि उद्यमीहरू र सामान्य एकल घर किसानहरूको समेत सदाशयता र साथ सहयोग पाएर हिकास्टले कृषि विज्ञान र व्यवहारमा आधारित शिक्षा आफ्ना विद्यार्थीलाई दिन सकेको छ ।
यस कलेजमा नेपाल सरकारका सम्बन्धित निकायहरूसँग भएका सम्झौताअनुरूप उक्त निकायहरूबाट कृषि–पशु चिकित्शा विशेषज्ञहरू आएर विद्यार्थीहरूलाई सैद्धान्तिक–प्रयोगात्मक शिक्षण, तालिम र अनुसन्धानात्मक निर्देशनहरूसमेत गराउने/दिलाउने व्यवस्था मिलाइएको हुनाले यो कलेज यस मानेमा नेपालकै नमुना शिक्षण संस्था बन्न पुगेको छ । यस्तो खालको व्यावहारिक शिक्षा प्रणालीले सम्बन्धित विज्ञहरूलाई पनि सधैं नै आफ्नो क्षेत्रमा निरन्तर अभिमुखी भई ताजा नबनाई राख्दैन भने विज्ञ र विद्यार्थी दुवै पक्ष एकअर्कासँग सैद्धान्तिक तथा व्यावहारिक–प्राविधिक पक्षबाट लाभान्वित मात्रै नभएर दुवै पक्ष नै अति गौरन्वावित भएको यस संस्थाको सुखद अनुभव छ । भविष्यमा यस्तो मौलिक नमुना पक्षलाई अन्य शैक्षिक संस्था तथा विषयहरूमा समेत विस्तार गर्नु सम्बन्धित सरकारी र निजी क्षेत्र दुवैको दायित्व हुन आउँछ ।
मूलभूत एकीकृत पाठ्यक्रम र कृषि शिक्षणमा सरकारी लगानीको न्यायपूर्ण बितरण : हाल नेपाल सरकारले कृषि शिक्षाका लागि त्रिवि र चितवनमा अवस्थित अर्को कृषि–वनविश्वविद्यालयलाई पूर्ण आर्थिक भरथेग गरेको छ । जसको फलस्वरूप ती विश्वविद्यालयहरूको भौतिक पूर्वाधारहरूमा जनताले तिरेको कर अथवा जनताका नाममा आउने विदेशी पुँजीको प्रयोग हुने गरेको छ । तर निजी क्षेत्रका कलेजहरूलाई भने सरकारले एक पैसा पनि अनुदान वा छुट दिन त परै जाओस् उल्टो कर लगाएर दोहोरो पक्षपाती चरित्रको व्यवहार प्रदर्शन गरेको छ । यस मामलामा हिकास्टले मात्रै वार्षिक ६० लाख कर तिर्छ तर बदलामा छात्रवृत्ति, भौतिक पूर्वाधार विकास, अध्ययन अनुसन्धान आदिमा कुनै पनि सरकारी अनुदान पाउँदैन ।
देशको यथार्थ : आफ्नो देशलाई चाहिने कृषि वैज्ञानिक– प्राविधिकहरू उत्पादन गर्नु, अध्ययन अनुसन्धानमा लगानी र उत्प्रेरणा दिनु राज्य र सरकारको दायित्व हो तर उसको यस्तो दायित्व र कामलाई हिकास्टलगायतका अन्य निजी क्षेत्रका शैक्षिक संस्थाहरूले पूरा गरिदिँदा पनि सरकारले उनीहरूसँग कर उठाउने मामलामा बाहेक अन्य हिसाबले पूर्णत: अनदेखा व्यवहार गरिराखेको छ । सरकारको लागि देशका सबैखाले शौक्षिक संस्थाहरूमा पढ्ने सबै जनताका छोराछोरीहरू समान हुनुपर्ने हो तर सरकारी सहयोग प्राप्त शैक्षिक संस्थालाई पूर्ण अनुदान दिएर नि:शुल्कदेखि अति सस्तो शिक्षा दिलाएर काखा पारेको छ भने निजी शैक्षिक संस्थाहरूलाई एक पैसो पनि नगद र अन्य कुनै सहयोग नगरी बरु उल्टै कर उठाइ निजी शिक्षालाई झन् महँगो बनाइदिएर ती कलेज र विद्यार्थीलाई मर्कामा पारिदिएको छ ।
अपेक्षा : सरकारले अब विवेकशील भई इमानदारितापूर्वक यस किसिमको असमान व्यवहार सच्याउन आवश्यक छ । र, यसो गर्न चाहेमा एउटा सामान्य प्रक्रियामार्फत अनुगमन, मूल्यांकन र अनुदानसम्बन्धी एक स्वतन्त्र संयन्त्र स्थापना गर्नुपर्ने यथेष्ट आवश्यकता छ । नेपाल सरकारले हाल आफूले पाल्दै आएका कृषिसँग सम्बन्धितलगायतका अन्य शैक्षिक संस्थाहरूलाई वार्षिक रूपमा पूर्वाधार, अनुसन्धान, शिक्षक–कर्मचारी र अन्य शिक्षण खर्च भनेर कति रकम प्रत्यक्ष वा विश्वविद्यालय अनुदान आयोगमार्फत प्रदान गर्दछ ? र यसो गर्दा प्रतिव्यक्ति स्नातक वा स्तानकोत्तर उत्पादनमा कति लगानी पर्न आउँछ ? यो खर्च निजी कलेजहरूले लगाएको प्रतिविद्यार्थी शिक्षण शुल्कहरू भन्दा सस्तो छ कि समग्रमा महँगो पर्न गएको छ ?
यस्ता कुराहरू सम्बन्धित विज्ञ, अर्थशास्त्री, योजनाविद् र स्वतन्त्र पेसागत लेखा निरीक्षकहरू सम्मिलित आयोगबाट हिसाब निकालोस् । त्यसपछि निजी क्षेत्रको कलेजको शुल्कहरूको पनि मूल्यांकन गरोस् र देशको वर्तमान अवस्थामा कति शुल्क लिई एक स्नातक निकाल्न सकिन्छ भने निक्र्योल गरेर यसपछि सरकारअन्तर्गतको कृषि वा शिक्षा मन्त्रालय वा विश्वविद्यालय अनुदान आयोगले छात्रवृत्तिको लागि आवेदनको सूचना निकालोस् । यसपछि योग्यताक्रमका आधारमा सम्बन्धित विद्यार्थीले चाहेमा देशभित्रको कुनै पनि रोजाइको शैक्षिक संस्थाहरूमा गएर पढ्न उसलाई छात्रवृत्ति प्रदान गरोस् । यस्तो व्यवस्था सबै निजी र सार्वजनिक शिक्षण संस्थाहरू, माध्यमिक तहदेखि विश्वविद्यालय तहसम्मै लागू गरोस् । सरकारले सम्बन्धित विज्ञहरूको रायसुझावमा देशलाई आवधिक रूपले आवश्यक शैक्षिक विषयहरूका आधारभूत पाठ्यक्रममा एकरूपता ल्याओस् र सबै शैक्षिक संस्थाहरूमा समान रूपले लागू गर्न तयार होस् ।
राज्यको ढुकुटीको वितरण प्रणालीलाई नयाँ रूप दिई यस अनुसार काम गरे राज्यले न्यूनतम लगानीमा प्रतिस्पर्धी शैक्षिक संस्थाहरू विकास गरेर सबै शैक्षिक संस्थाहरूमा पढ्ने विद्यार्थीहरू माथि एकनासले राजकीय अभिभावकत्व प्रदान गरेको अनुभूति हुनेछ र न्यायपूर्ण समाज निर्माण गरी हालै लागू भएको संविधानको मर्म र भावनाको पालना र कार्यान्वयन गर्न सक्दछ ।
(डा.चौलागाईं हिकास्टका संस्थापक सदस्य एवं प्राध्यापक र अनुसन्धान तथा प्रशिक्षण निर्देशनालयका निर्देशक हुन् । यस लेखमा व्यक्त भावना लेखकका निजी हुन्, यसले संस्थाको प्रतिनिधित्व गर्दैन । सं.)
]]>
प्रतिक्रिया